Comments Add Comment

शब्दकोशका सम्पादक : महेन्द्रमालादेखि आमा उपन्याससम्म

बहुमुखी प्रतिभाका धनी थिए वसन्तकुमार शर्म्मा नेपाल

Photo Credit : वैजयन्ती विधाकेन्द्रित साहित्यिक पत्रिका

वसन्तकुमार शर्म्मा नेपाल चैत ३० गते ९७ वर्षको उमेरमा प्रवेश गर्नुभएको थियो । यही उपलक्ष्यमा उहाँको ६१ औं कृति ‘संस्कृत साहित्यका प्रथम महाकवि भासका समग्र नाट्यकृति’ को एक साथ विमोचन सम्पन्न भएको थियो । उहाँ शतायुसम्म बाँच्ने र अझै केही गहन कृति पाउने आशा राख्दा राख्दै त्यसको ७ दिनपछि गत शुक्रबार हामीबाट बिदा हुनुभयो ।

शतायु उमेरका राष्ट्रकवि माधव घिमिरे, त्यसै हाराहारीका संस्कृतिविद् सत्यमोहन जोशी, विशिष्ट आख्यानकार एवं चिन्तक मदनमणि दीक्षितजस्तै वसन्तकुमार शर्म्मा नेपाल पनि नेपाली साहित्यका यस्ता तारा हुन्, जसको योगदान आगामी शताब्दीसम्म नेपाली साहित्यले सम्झिरहने छ । उल्लेखित श्रष्टाहरुमध्ये हामीले वसन्तकुमार शर्म्मा नेपाललाई गुमायौं । केही समय अघिमात्रै हामीले भाषाशास्त्री बालकृष्ण पोखरेललाई पनि गुमायौं ।

सौभाग्यवश मैले वसन्तकुमार शर्म्मासँग नजिक भएर धेरै वर्ष काम गर्ने मौका पाएँ । उहाँका बारेमा मैले केही लेख्ने प्रयास त गरेको छु, तर उहाँको व्यक्तित्वका अघि मेरा शब्द निकै फिका महसुस भइरहेका छन् ।

अनौठो व्यक्तित्व

वसन्तकुमार शर्म्माको जीवन उतार-चढाव, सफलता-असफलताकै वीचबाट बित्यो । उहाँ सबै पक्षलाई सहज रुपमा लिन सक्ने, नआत्तिने र नमात्तिने स्वभावका व्यक्तित्व सम्पन्न व्यक्ति हुनुहुन्थ्यो । अस्वस्थ्यता, अङ्गभङ्गका प्रसङ्ग र अन्य उतारचढावले उहाँलाई कति पनि गलाउन सकेन । उहाँ निरन्तर भाषा वाङ्मयका सेवामा समर्पित भइरहनुभयो । आफ्नै प्रयत्नमा, आफ्नै खुट्टामा उभिएर नेपाली बौद्धिक जगतका अविश्मरणीय व्यक्तित्वका रुपमा स्थापित भएर जानुभयो ।

रमेश शुभेच्छुक

उहाँ क्षमता नभई क्षमता प्रदर्शन गर्न खोज्नेहरुका लागि आगो हुनुहुन्थ्यो । उहाँ जोसुकैलाई गन्ने र मान्ने पक्षमा कहिल्यै पनि देखिनुभएन । उहाँले स्वीकार गरेको र मनपराएको व्यक्तिलाई भने सँगसँगै हिँडाउने प्रयत्न गर्नुभयो । यो पक्ष उहाँका अन्तर्वार्ता लिँदा र उहाँसँग व्यवहार गर्दा पनि देखिन्थ्यो ।

उहाँले आफ्नो परिवार र समाजमा शिक्षाको चेतना राम्रैसँग फैलाएर आफूलाई बौद्धिक घरानाका विशिष्ट व्यक्तित्वका रुपमा स्थापित गर्न सक्नुभयो । आफ्नो उद्देश्यअनुरुप चल्न नसक्ने परिवारका सदस्यलाई घृणा गर्न पनि पछि पर्नुभएन । र, अरुलाई परिवारको सदस्यझै माया गर्न पनि सक्नुभयो । उहाँ अरुलाई प्रोत्साहन गर्ने काममा कहिल्यै थाक्नुभएन । स्वभाव खरो भए पनि परिवारमा सबै सदस्यसँग सम्बन्धको सन्तुलन राख्नुहुन्थ्यो ।

उहाँ खरो स्वभावको हुँदाहुँदै पनि अरुको पसिना र साथ सहयोगको मूल्यलाई बुझ्ने खालको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले आफ्नो विशालकाय कोशको अग्रपेजमा शब्द संकलनमा साथ दिने व्यक्तित्वहरुको नाम आदरपूर्वक लिनुभएको छ ।

वसन्तकुमार शर्म्मा नेपालको जन्म वि.सं. १९७९ चैत्र रामनवमीका दिन बालाजु, काठमाडौंमा भएको थियो । वालाजुमा घर गृहस्थी रहेका मातापिता हेमकुमारीदेवी तथा पण्डित दिवाकर उपाध्याय नेपालका जेठा छोराका रुपमा उनको जन्म भएको हो ।

उहाँ भाइहरु ध्रुवकुमार, अशोककुमार, कुमारसागर सकुनसँग सँगसँगै खेल्दै हुर्किनुभयो । पिता दिवाकर उपाध्याय तत्कालीन राणाले मानेका विद्वान् ज्ञानी र ध्यानी व्यक्तित्व भएको बताउनुहुन्थ्यो । बुवाको कतिपय स्वभाव र चरित्र वसन्त शर्म्माले टिप्नुभएको थियो ।

शर्म्माको काठमाडौँ हाँडीगाउँकी ११ वर्षीय राधाकुमारी भट्टराईसँग १४ वर्षको उमेरमा .सम्पन्न भएको थियो । उहाँहरुको पौने शताब्दी लामो दाम्पत्य जीवन सुखद रहृयो । उहाँका विजय, विनय, अजय, अक्षय गरी चार छोरा र तीन छोरी विणा, सुष्मा, सुस्मिता छन् । राधाकुमारी अहिले ९४ वर्ष पुग्दा पनि स्वस्थ्य देखिनुहुन्छ ।

शब्दकोश र भाषा साहित्यमा योगदान

नेपालका बहुमुखी योगदानका क्षेत्रमध्ये शर्म्माको योगदान भाषा साहित्यका क्षेत्रमा रहृयो । त्यसमा पनि नेपाली समाजले उहाँलाई कोशकार व्यक्तित्वका रुपमा बढी आदर दिएको छ ।

शर्म्मा कोशकार बन्नुको आफ्नै इतिहास छ । उहाँले शब्दकोशका क्षेत्रमा विसं. २००४ सालदेखि नै काम गरेको पाइन्छ । उहाँले २००४ देखि २०१० सालसम्म नेपाली भाषा प्रकाशिनी समितिमा कोश निर्माणको जिम्मेवारीअनुसार काम गर्नुभएको थियो । उहाँले सरकारले खडा गरेको कोशविभागको सम्पादकका रुपमा त्यस संस्थामा प्रतिष्पर्धाबाट छनोट भएर काम गर्नुभएको हो । उहाँले पुष्करशमशेर जबरा, बालकृष्ण सम, सागरमणि आ.दी, बदरीनाथ भट्टराई जस्ता अग्रज र रामचन्द्र ढुङ्गाना, हरिश्चन्द्र न्यौपाने, शिवचन्द्र लामिछानेसँग काम गरेको देखिन्छ ।

शर्म्माले त्यहाँ रहँदा तयार पारेका नेपाली बृहत् शब्दकोश, संक्षिप्त संस्कृत शब्दकोश, संक्षिप्त संस्कृत शब्दकोश जस्ता तीन शब्दकोशको सम्पादनको जिम्मेवारी ६ वर्षकै वीचमा पूरा गर्नुभयो ।

तर, ती पुस्तकहरु प्रकाशनमा आएनन् । त्यसबेलाको कोशका लागि भएको लगानी गायब बनेको कोशकार शर्म्मा गुनासो गर्नुहुन्थ्यो । यो कुरा उहाँले पुस्तकमा नाम नलिइकन उल्लेख गर्नुभएको छ ।

उक्त शब्दकोशमा उहाँले लेख्नुभएको छ, ‘मेरो लगातारको दीर्घकालीन तपस्या हो यो- नेपाली शब्दसागर । मेरो देशलाई मेरो मातृभूमिलाई मैले यति नै चढाउन सकेँ । ‘पुस्तक प्रकाशन नभई हराएपछि उहाँले पुन २०१४ सालदेखि नेपाल भ्रमण गरी ठाउँ ठाउँका भाषाका शब्दबारे जानकारी लिँदै टिपोट गर्दै पुराना कुरा माया मारेर नयाँ जोसका साथ नयाँ शब्दकोशको थालनी गर्नुभयो । यसलाई उहाँले ०४२ सालमा आएर ‘नेपाली शब्दसागर’ का रुपमा पूरा गर्नुभयो ।

भाषा ब्याकरण र कोश नेपालको योगदानको मूल क्षेत्र हो । सङ्क्षिप्त नेपाली व्याकरण (२०२६) नेपालको पहिलो व्याकरणको कृति हो । उहाँले व्याकरणका क्षेत्रमा थुप्रै लेखकहरु पत्रपत्रिकामा लेख्नुभएको छ । उहाँलाई नेपाली शब्दसागरका कारण धेरैले कोशकारका रुपमा चिने, चिनाए । उहाँ यस कोशका आधारमा सेलीब्रेटी लेखकका रुपमा पनि देखिनुभयो । नेपाली सञ्चार माध्यममा अत्यधिक छाउनुभयो । यस कोशमा सुरुमा एक लाख पच्चिस हजार शब्द रहेकामा दोस्रो संस्करणमा १ लाख ४१ हजार शब्द समेटिएको पाइन्छ ।

यस वृहत् कोशपछि उहाँका हालसम्म अनेक कोशहरु प्रकाशन भइसकेका छन् । नेपाली शब्दसागर (२०५७ सोपपत्तिककोश), सङ्क्षिप्त नेपालीशब्दसागर (२०६१), सानो नेपाली शब्दसागर (२०६२), शब्दार्थ नेपाली शब्दसागर (२०६८) जस्ता उहाँका कोशहरु नेपाली जगतमा उल्लेख्य छन् ।

शर्म्माले द्वैभाषिक र बहुभाषिक कोषको पनि सम्पादन गर्नुभएको छ । नेपाली अङ्ग्रेजी संस्कृत शब्दसागर (२०६७, संयुक्त), नेपाली अङ्ग्रेजी विशाल शब्दसागर (२०६७, संयुक्त) यसतर्फका उल्लेख्य कोश हुन् ।

शर्म्माले नेपाली भाषामा पर्यायवाची र विपर्यायवाची शब्दकोशमा पनि योगदान पुर्‍याउनुभएको छ । नेपाली सम-विषमार्थ कोश (संयुक्त,२०७३ ) यसतर्फको उल्लेख्य कोशकृति हो । उहाँले नेपाली भाषामा र बहुभाषिक कोशका साथै अंग्रेजी भाषाका पनि प्रयोगात्मक कोश निर्माण गर्नुभएको छ ।

त्यस्ता कोशहरु माइ वर्ड बुक र बेस्ट वर्ड बुक हुन् । शर्म्माका यी कोशलाई कोशवैज्ञानिक दृष्टिले र नेपाली कोश परम्पराका प्राप्तिका दृष्टिले पनि अध्ययन र पुनर्मूल्याङकन गर्नुपर्ने देखिन्छ ।

यी पछिल्ला कोशहरुमा उहाँका सुपुत्र विनयकुमार शर्म्मा नेपाल पनि सहलेखकका रुपमा देखिएकाले उहाँले नेपाली समाजलाई छोडेको कोश सम्पदाको पुस्ता हस्तान्तरण हुने सम्भावना पनि देखिएको छ । शर्म्माको नेपाली शब्दसागरको सम्पादकीयमा भनिएको छ, ‘यो काम निरन्तरतामा जानुपर्छ, जो उत्तराधिकार बहन गर्ने नेपालीले पूरा गर्दै जानेछन्, मलाई विश्वास छ ।’

यसरी विश्वास र उत्तराधिकार पनि देखिनु नेपालको बौद्धिक घराना निर्माण अभियानको सार्थक पक्ष पनि हो ।

सम्पादक र अनुवादक

शर्म्माको सम्पादनमा दर्जनौं कृतिहरु प्रकाशित छन् । आत्मसमीक्षा (२०४४) उहाँको सम्पादनमा सार्वजनिक भएर देवकोटाका समीक्षाहरु नेपाली साहित्य जगतमा प्राप्त छन् । उहाँको सम्पादनमा उमा (महाकाव्य-२०६३) पनि प्रकाशित छ ।

नेपालको वाड्मयिक योगदानको अर्को क्षेत्र र विधा अनुवाद हो । रुक्मिणी-परिणय (२०४४), फेरा (२०५७), आदि विद्रोही (स्पार्टकस) (२०५७) जस्ता कृतिहरु प्रकाशित छन् । उहाँले अनुवादका लागि छनोट गरेका सामग्रीमध्ये उपनिषदहरु मुख्य देखिन्छन् । उहाँका उपनिषद् केन्द्रित उपनिषद् प्रसङ्ग-१ (२०५४, ६० उपनिषद्), उपनिषत् प्रसङ्ग्रह-२ (२०५८, ६१ उपनिषत्) र १३५ उपनिषत् सङ्ग्रह (२०७०), जस्ता कृतिहरुबाट नेपाली पाठक लाभान्वित भएका छन् । उहाँका श्रीमद्भगवद्गीता (२०५९) गीताको अनुवादका अनेक संस्करण प्रकाशन भएको देखिन्छ । उपनिषद् पूर्वीय ज्ञान संग्रह हुन् । तिनलाई नेपाली मात्र जान्ने पाठकले पढ्न पाउनु नेपाली समाजमा चेतना विकासको प्रमुख पक्ष हो ।

नेपाली साहित्य परम्परामा अनुवाद विधामा शर्म्माको नाम उल्लेख्य छ । शब्दार्थ गीता -२०६७ (अनुवाद), किरातार्जुनीय (भारविको महाकाव्य, २०७०), रुवाइयात (उमर खरयामको, २०७०), प्रबोधचन्द्रोदय (श्रीकृष्ण मिश्रको नाटक, २०७०) आमा (म्याक्सिम गोर्कीको उपन्यास, २०७१), र भासका समग्र नाट्यकृति (२०७५) उल्लेख्य अनुदित कृतिहरु हुन् ।शर्म्माको अनुवादको मूल स्रोत संस्कृत भाषा नै देखिन्छ ।

उहाँले संस्कृतका प्रमुख एकाङ्की (२०६१) अनुवाद गर्नु र क्रमशः सबै प्रमुख नाटककारका नाटकको अनुवाद गर्नतिर रुचि लिनुले नेपाल संस्कृत नाट्यपरम्पराप्रति आकर्षण देखिन्छ । उहाँले महाभारतको पूर्ण अनुवाद गरी नेपाली पाठकलाई लाभान्वित बनाउनुभयो । उहाँका महाभारतमै केन्द्रित गद्यमहाभारत १ (२०६२), गद्यमहाभारत २ (२०६२), गद्यमहाभारत ३ (२०६४), गद्यमहाभारत ४ (२०६६ जैमिनीय महाभारतसमेत) चारवटा ठेलीमा नेपाली महाभारत उपलब्ध छ । गद्यमा पूर्ण रुपमा महाभारतको कथा नेपालीमा आउनु नेपाली पाठकका लागि सुखद पक्ष हो । शर्म्माका यी अनुदित कृतिले महाभारत रउपनिषद् जस्ता महत्वपूर्ण संस्कृत ग्रन्थहरु नेपाली पाठकका लागि सहज बनाइदिए ।

संस्कृतेत्तर भाषाबाट पनि उहाँले आफूलाई महत्वपूर्ण लागेका केही कृति नेपालीमा अनुवाद गर्नुभएको छ । उहाँले नरपराधको हत्या (उपन्यास, २०६६), मुक्ति सङ्ग्राम (उपन्यास २०६६) जस्ता कृतिको पनि नेपाली अनुवाद गरेको देखिन्छ ।

भासका नाट्यकृतिभित्र दशवटा रचना नाट्य रचना समेटिएका छन् । यस कृतिलाई दुई खण्डमा प्रस्तुत गरिएको छ । ऊरुभङ्ग (विथी, २०४५), कर्णभार (एकाङ्की, २०४५), दूत-घटोत्कच (एकाङ्की, २०४४), दूतवाक्य (एकाङ्की, २०४१), मध्यम व्यायोग (एकाङ्की, २०४५) गरी पाँचवटा लघुनाट्य समेटिएका छन् ।

त्यस्तै यसको दोस्रो खण्डमा अभिषेक (२०४५), अविमारक (२०३८), चारुदत्त (२०३८),पञ्चरात्र (२०५१), प्रतिज्ञा-यौगन्धरायण (२०३८), प्रतिमा (२०३८), बालचरित (२०४५), यज्ञफल (२०३७) स्वप्नवासवदत्तम् (२०२१) समेटिएका छन् ।

शर्म्माले छाया र भावानुवादका शैलीलाई आफ्ना कृतिमा संयोजन गर्न सकेको देखिन्छ । गोर्कीको आमा उहाँको दोस्रो भाषा हिन्दी वा अङ्ग्रेजीबाट अनुदित कृति हो ।

उहाँका यी फरक-फरक भाषाका अनुदित कृतिलाई भाषिक सामर्थ्यका आधारमा, अनुवाद विज्ञान र नेपाली अनुवाद परम्पराका सापेक्षतामा पनि अध्ययन विश्लेषण हुन आवश्यक छ ।

उहाँको सिर्जनाको अर्को विधा आख्यान हो । आख्यानतर्फ नेपालका एक्काईस कथा (२०२१), कोटारानी (२०५९), प्रभावती गुप्ता (२०५९), गण्डकयुद्ध : जयापीड (२०५९) राजकुमारीको स्वयंवर (२०५९), गण्डकयुद्ध : ब्रम्हहत्या (२०५९), रगतको खोलो (२०५९), नमर्ने इच्छा (२०५९), लक्ष्मीबाई (२०५९), इतिहासका अमर झिल्काहरु (२०७४) जस्ता कथाकृति प्रकाशित छन् ।

उहाँका हस्ताक्षर असाध्यै आकर्षक थिए । भासका समग्र नाटकको पूर्ण पाण्डुलिपि हेर्दा उहाँ कतै केरमेट नगरी छापाका जस्ता सफा अक्षर लेख्न सक्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँका प्रकाशित कृतिका साथै ५० भन्दा बढी पाण्डुलिपि रहेको बुझिएको छ

शर्म्माको पछिल्लो कथासंग्रह इतिहासका अमर झिल्काहरु शीर्षकमा प्रकाशित छ । यस संग्रहमा आकाशे रुमाल, आत्मकथा : चलचित्रको, तिष्यरक्षिता, प्रलोभन, रत्नगर्भा (अस्मिता), रानी संयोगिता र वेदवती जस्ता सातवटा कथाहरु समेटिएका छन् । यी कथामा इतिहास र पुराणका गर्भका कतिपय पक्षलाई बाहिर ल्याइएको छ । यी ऐतिहासिक कथा हुन् ।

शर्म्माको नेपालको गद्य सिर्जनामा नाटक र कथा नै बढी प्रिय विधा देखिन्छ । उहाँले प्रौढ कथासहित बालकथाका क्षेत्रमा पनि कलम चलाउनुभएको छ । हँसिला कथा (०२५), तीन तारा (२०६६), उदारताको पराकाष्ठा (२०७०) यसतर्फ देखिएका उल्लेख्य कृति हुन् । यी बालकथाहरु बालमनोविज्ञान र उमेरअनुसारका नीति र उपदेशसहित सिर्जना भएका देखिन्छन् । यी बालकथाका आधारमा पनि ०२५ सालदेखिको बालसाहित्यिक योगदानको मूल्याङ्कन गर्नुपर्ने देखिन्छ । यी कथालाई बालकथा चेत र कथाको ऐतिहासिक मूल्यका दृष्टिले पनि मूल्याङ्कन हुन आवश्यक देखिन्छ ।

उहाँले केही अग्रजका र आफ्ना जीवमा प्रभाव पार्ने व्यक्तित्वलाई लिएर जीवनीका कृति पनि सिर्जना गर्नुभएको छ । जनभावनाका जगदगुरु स्वामी प्रणवानन्द (२०६१) उहाँको जीवनी सिर्जनातर्फको उल्लेख्य कृति हो । प्रवणानन्दको आश्रम गौरीघाटमा रहेको छ । प्रणवानन्दको भक्तका रुपमा चिनाउँदा शर्म्मा आफूलाई गौरवान्वित ठान्नुहुन्थ्यो ।

शर्म्माका जीवनीमूलक सामग्री पनि समकालीन पुस्ताका मित्रहरुका स्मृतिग्रन्थहरुमा प्रशस्तै छन् । २००७ सालदेखि पत्रपत्रिका, रेडियोहरुमा नेपाली, संस्कृत, नेवारी, हिन्दीमा नेपालका रचनाहरु प्रकाशित एवम् प्रसारित भए । उहाँले कतिपय लुकाएर लेख्नु र प्रकाशन गर्नुपर्ने विषयलाई छद्म नामबाट पनि प्रकाशित गर्नुभयो । विविध, वकुश, ज्ञानेश्वरजी, प्रकाश दाजु, बाणेश्वर, बच्चुरामबाजे, क्षेत्रीबाहुन, आदि उहाँका उपनामहरु हुन् । यिनै उपनामहरुबाट उहाँका धेरै लेख रचनाहरु प्रकाशित छन् । यी उपनाममा रहेका लेख रचनाको पनि खोज अन्वेषण हुन आवश्यक छ ।

उहाँ साहित्य मात्र होइन, आफ्नो जीवनकालभरि दरबारदेखि समाजसम्मका जिउँदा इतिहासकारका रुपमा पनि रहनुभयो । उहाँले हजारौँ पुस्तक सङ्ग्रह गर्नुभएको छ । उहाँको पढिरहने लेखिरहने जीवनशैलीले उहाँका सङ्कलनमा संस्कृत, हिन्दी, अङ्ग्रेजी र अन्य भाषाका अनुपम कृतिहरु, ऐतिहासिक पत्रपत्रिकाहरु, दस्तावेजहरु सुरक्षित छन्, तिनको उचित संरक्षण र अन्वेषण आवश्यक छ ।

उहाँका हस्ताक्षर असाध्यै आकर्षक थिए । भासका समग्र नाटकको पूर्ण पाण्डुलिपि हेर्दा उहाँ कतै केरमेट नगरी छापाका जस्ता सफा अक्षर लेख्न सक्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँका प्रकाशित कृतिका साथै ५० भन्दा बढी पाण्डुलिपि रहेको बुझिएको छ । ती पाण्डुलिपि अनुवाद, कविताकाव्य, आख्यान र अन्वेषणसँग सम्बन्धित रहेको सुपुत्र विनयकुमार शर्म्माको भनाइ छ ।

साहित्यमा थप योगदान

शर्म्माको साहित्य सेवाको प्रवेश नेपाली भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषदमा भएको थियो । उहाँलाई त्योबेला बृहद् नेपाली शव्दकोशका सहायक सम्पादक तथा सङ्क्षिप्त संस्कृत-नेपाली शब्दकोशका सम्पादकको जिम्मेवारी दिइएको थियो । त्यसलाई उहाँले राम्रोसँग पूरा गर्नुभयो । त्यसपछि उहाँले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान गद्य साहित्य विभागमा बसेर काम गर्नु भयो । त्यसपछि विदेशी साहित्यकार सम्पर्क समितिमा रहँदा उहाँको नेतृत्वमा केही विदेशी साहित्यको नेपाली अनुवाद भएका थिए । पछि उहाँले चित्रकला विभागका सहायक सचिव भएर काम गर्नुभयो । सरकारले त्यो बेला उहाँलाई जुनजुन जिम्मेवारी दियो, विना कुनै गुनासो काम गरिरहनुभयो ।

यसरी हेर्दा साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत नाट्य प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाको जगमा पनि शर्म्माको मस्तिष्क र श्रम परेको छ । उहाँले यी संस्थामा जागिरे भएर काम गर्नुभएको थियो । तर, उहाँले जागिर मात्र खानुभएन, त्यसको जग बसाल्ने र ईँटा थप्ने काम गर्नुभयो ।

जयन्ती साहित्यिक मासिक पत्रिकाका संस्थापक सम्पादकका रुपमा उहाँले ०२७ देखि ०३१ सम्म काम गर्नुभयो । चारु मित्रचौतारी समूहका सम्मानित सदस्यका रुपमा पनि काम गर्नुभयो ।साहित्य समाजका संरक्षक, साहित्य संवर्द्धन केन्द्रका संरक्षक, योगी नरहरीनाथ ट्रष्ट सेवा समितिका सल्लाहकार जस्ता बहुमुखी जसंस्थाका बहुमुखी भूमिका र ती संस्थाबाट स्थापित पुरस्कारहरुले पनि उहाँको साहित्यप्रतिको झुकाव सशक्त देखिन्छ ।

नेपाली खेलकुद जगतले पनि शर्म्मा नेपालको योगदानलाई बिर्सन मिल्दैन । उहाँ खेलकुदमा रुचि राख्ने र खेलाडी व्यक्तित्व मात्र नभएर फुटबल संघका संस्थापक सदस्य (२०१३-२०) पनि हुनुहुन्थ्यो ।

नेपाली समाजले कम चर्चा गरेको तर शर्म्माको पसिना बगेको प्रमुख क्षेत्र शैक्षिक क्षेत्र हो । उहाँले नेपाली शिक्षा परिषदका संस्थापक शिक्षक (२००८) भएर यस क्षेत्रमा पाइला चाल्नुभएको थियो ।

उहाँ रत्न राज्यलक्ष्मी क्याम्पसका संस्थापक सचिव र प्राध्यापक (२०१८) हुनुहुन्थ्यो । पशुपति बहुमुखी क्याम्पस चाबहिलका संस्थापक, सदस्य-सचिव र क्याम्पसप्रमुख (२०३७-२०४१) का रुपमा पनि उहाँले काम गर्नुभयो ।

नुवाकोट आदर्श (बहुमुखी) क्याम्पसका संस्थापक, सदस्यसचिव र क्याम्पस प्रमुख (०४२-०४३) कन्या क्याम्पस डिल्लीबजारका संस्थापक प्राध्यापक (०३७-०४०) र बि्रलियन्ट बहुमुखी क्याम्पसका संरक्षकका रुपमा नेपाली उच्च शिक्षाको विकासमा पुर्‍याएको योगदान अतुलनीय छ । एउटै व्यक्तिको प्रयासमा आधा दर्जन क्याम्पस, त्यो पनि ०४० सालपूर्वको वातावरणमा खुल्नु र आजसम्म निरन्तर रहनु कम समर्पण र चेतनाको विषय देखिँदैन ।

उहाँको उच्च शिक्षाका लागि जनशक्ति तयार पार्ने क्रममा पनि त्यत्तिकै सशक्त भूमिका देखिन्छ । उहाँ लामो समयसम्म पद्मोदय मा.वि. रामशाहपथका शिक्षक (२०१०-२०३१) हुनुहुन्थ्यो । पद्मकन्या मा.वि. डिल्लीबजारका शिक्षक (२०३१-२०४३) रहेर नारी शिक्षाको विकासमा पुर्याएको योगदान पनि उल्लेख्य छ । उहाँ प्रौढ महिला मन्दिरका संस्थापक शिक्षक भएर पनि काम गरेका व्यक्तित्व हुनुहन्थ्यो ।

रात्री पाठशाला (हालः नन्दी-रात्री मा. वि.) नक्सालका शिक्षक, अमर आदर्श आवसीय विद्यालय वानेश्वरका संस्थापक शिक्षक, आदर्श शिक्षा मन्दिर (हाल शिवपुरी मा. वि.)
महाराजगञ्जका संस्थापक सदस्य, बालकुमारी आवसीय विद्यालय काठमाडौँका संस्थापक सदस्य, शहीद शुक्र मा.वि.का संस्थापक सदस्य, शारदा मा. वि. देवपत्तन काठमाडाँैका संस्थापक शिक्षक, पायोनियर एकाडेमीका सञ्चालक समितिका अध्यक्ष आदि भएर हजारौँ विद्यार्थीलाई शिक्षा दिने अग्रजका रुपमा उहाँको नाम नेपाली शैक्षिक जगतमा सुरक्षित छ ।

विद्यालय तहको पाठ्यक्रम निर्माण र पाठ्य पुस्तक परिमार्जनका जिम्मेवारीबाट पनि उहाँको शैक्षिक योगदान उल्लेख्य देखिन्छ । तत्कालीन श्री ५ को सरकारको पाठ्यक्रम परिमार्जन समितिमा पटक-पटक कक्षा एकदेखि दशसम्मको नेपाली पुस्तकको परिमार्जनमा संलग्न भएर उहाँले काम गर्नुभयो ।

महेन्द्रमाला ६ (२०२८) र महेन्द्र माला ९ र १० (२०२८) जस्ता पाठ्यपुस्तकमा उहाँले सहलेखन गर्नुभएको थियो ।

छोटा कवितादेखि महाकाव्यसम्म

शर्म्माको साहित्यिक योगदानको अर्को क्षेत्र र विधा कविता हो । उहाँको कविता यात्रा फुटकर कविताबाट आरम्भ भए पनि विधवा विवाह (२०१०, खण्डकाव्य) कविता विधातर्फको पहिलो पुस्तकाकार कृति हो । मित्रको पत्र (२०२५ नव्यकाव्य), विप्रलम्भ (२०४४) र जियालो (संयुक्त, २०७३) जस्ता महाकाव्यकृतिहरु प्रकाशित छन् । तीतामीठा कुरा (२०६३, सहलेखन) नीतिका कुरा (२०६५,सहलेखन), नीतिविचार (२०६७, सहलेखन) उहाँका कविता विधा केन्द्रित कृतिहरु हुन् ।

शर्म्मा शास्त्रीय लयमा कविता सिर्जन सामथ्र्य सम्पन्न कवि, काव्यकार र महाकाव्यकार पनि हुन् । उहाँका कविताको पूर्वीय दर्शन र कविता कलाका तर्फबाट अध्ययन विश्लेषण हुन आवश्यक छ । शर्म्माका दुई निबन्ध प्रकाशित छन् । उहाँका निबन्ध केही बालोपयोगी र केही दार्शनिक किसिमका देखिन्छन् । उहाँले निबन्धलाई उच्च कलादेखि विषय प्रसारको विषय बनाउनुभएको छ । उहाँका थुप्रै निबन्ध र निबन्धात्मक लेखहरु पत्रपत्रिकामा पनि छरिएर रहेका छन् । तिनको अन्वेषण संकलन र अध्ययनको त्यत्तिकै खाँचो छ ।

रंगमञ्च

नेपाली साहित्यलाई चेतना र क्रान्तिको विषय बनाएर साहित्यका संगठनका माध्यमबाट पनि समाजमा अग्रगामी चेतना विस्तार गर्ने व्यक्तित्व मान्न सकिन्छ शर्म्मालाई । यसको उदाहरणका रुपमा अग्रगामी साहित्यिक मण्डलाई लिन सकिन्छ

शर्म्माको योगदान नाटक र रंगमञ्चका क्षेत्रमा पनि छ । यो चेतना रङ्गमञ्चबाट फैल्याउने अग्रज कलाकार र लेखकमध्ये उहाँको नाम अग्रगन्य छ । नेपाल नाटक संघका संस्थापक सचिव र निर्देशक (२००५-०९) का रुपमा उहाँले काम गर्नुभएको थियो । यही प्रभावले उहाँले पछिल्ला दिनमा नाट्य विधालाई रचना र अनुवादको विधा बनाउनुभयो ।

शर्म्माका बहुमुखी योगदानका क्षेत्रमध्ये मूल योगदानको क्षेत्र नेपाली भाषा साहित्य हो । उहाँलाई नेपाली आम जनसमुदायले कोशकारका रुपमा चिने पनि र शब्द सागर नै उहाँको परिचायक कृति बने पनि उहाँका अन्य विधा र तिनका उपाविधामा प्रकाशित कृति पनि त्यत्तिकै मूल्यवान् छन् ।

कृतित्वका दृष्टिले शर्म्मा नाटककार, कवि, निबन्धकार जस्ता व्यक्तित्व सम्पन्न देखिनुहुन्छ । उहाँका समीक्षाहरु पत्रपत्रिकामा र अन्य लेखकका कृतिका भूमिकामा छरिएर रहेका छन् । तिनको संकलन र सम्पादनको र अध्ययनको पाटो बाँकी नै छ ।

नाट्यविधातर्फ नेपालको योगदान रहेको पक्ष नाट्य संस्थाको संलग्नताले पनि देखाइसकेको छ । उहाँका नाट्य कृतिहरु पनि उल्लेख्य छन् । उहाँका अनुदित कृतिहरु पनि नाट्यविधा केन्द्रित देखिन्छन् । उहाँका नाट्यकृतिहरुमा युगको वारिस (२००८, लघुनाटक) रत्नावली (२०२९, नाटिका), शकुन्तला (२०४४, नाटक), पाँच रात (२०५१, नाटक), रजिया बेगम (२०५९, लघुनाटक), राज्यश्री (२०५९ , लघुनाटक) उल्लेख्य छन् ।

यी आधा दर्जन नाट्य कृतिले शर्म्मालाई नाटककारका रुपमा चिनाउँछन् । उहाँले आफ्ना नाटकमा पौराणिक, प्राच्य, ऐतिहासिक र समाजिक विषयवस्तुलाई समेटेको देखिन्छ । उहाँले अनुवादतर्फ पनि नाट्यविधाको चयन गगर्नुभएको छ । रङ्गमञ्चका दृष्टिले उहाँका नाटक उल्लेख्य छन् । यस विषयमा अध्ययनको खाँचो देखिन्छ ।

शिक्षासेवी र समाजसेवी

शर्म्मा सदाबहार प्राज्ञका साथै सदाबहार शिक्षा र समाजसेवी व्यक्तित्व पनि हुनुहुन्थ्यो । उहाँको संस्थागत संलग्नता मात्रैले पनि उहाँको योगदानको आँकलन गर्न पर्याप्त देखिन्छ । उहाँको योगदान पुस्तक लेखक र प्रवर्द्धक व्यक्तित्वका रुपमा मात्र नरही पुस्तकालय विकासमा पनि देखिन्छ ।

उहाँले विश्वबन्धु पुस्तकालय (२००४-१२) कान्ति सांस्कृतिक केन्द्रका संस्थापक सचिव र अध्यक्ष हुनुका साथै अखिल नेपाल पुस्तकालय संघका संस्थापक सदस्य सचिव (२००७-१०) जस्ता संस्थामा बसेर पनि काम गर्नुभयो । नेपालमा प्रजातन्त्र स्थापना नहुँदै पुस्तकालय स्थापनाको चेतना र त्यसको नेतृत्वले नेपाललाई दूरदर्शी व्यक्तित्वका रुपमा शर्म्मा चिनिन्छ ।

शर्म्मा कुशल संगठक हुनुहुन्थ्यो । उहाँले नेपालमा प्रजातन्त्र स्थापना नहुँदै देखि साङ्गठानिक नेतृत्व लिन थालेको पाइन्छ । प्रजातन्त्र प्राप्तिपछि उहाँले संस्कृत छात्रसंघीय अध्यक्ष (२००८-१०) बनेर काम गर्नुभएको थियो । संस्थामा अध्ययन गरेका विद्यार्थीले प्रजातन्त्रका पक्षमा गरेको आन्दोलनबाट पनि उहाँको भित्री भूमिका अनुभव गर्न सकिन्छ ।

नेपाली साहित्यलाई चेतना र क्रान्तिको विषय बनाएर साहित्यका संगठनका माध्यमबाट पनि समाजमा अग्रगामी चेतना विस्तार गर्ने व्यक्तित्व मान्न सकिन्छ शर्म्मालाई । यसको उदाहरणका रुपमा अग्रगामी साहित्यिक मण्डलाई लिन सकिन्छ । उहाँले अग्रगामी साहित्यिक मण्डलमा संस्थापक सदस्यसचिव (२००९-१२) भएर काम गर्नुभएको थियो ।

शर्म्माको शरीर स्वस्थ्य थियो । उहाँ विरामी पर्नुपूर्वसम्म समारोहहरुमा फुर्तीसाथ देखा पर्नुहुन्थ्यो । पछिल्लो समय अर्वुद रोगका कारण उनी घरैमा रहनुभयो ।

मस्तिष्कघातका कारण केही समय विचेतजस्तै अवस्थामा रहनुभयो । डाक्टरको सल्लाहअनुसार उहाँलाई घरमै राखियो । केही दिन परिवारका सदस्य पनि नचिन्ने अवस्थामा पुगेपछि शर्म्माको ०७६ वैशाख ७ गते दिउँसो साढे २ बजे देहावसान भयो । उहाँको रुचि र परिवारको इच्छाअनुसार कुनै तामझामविना पार्थिव शरीरलाई आर्यघाट पुर्‍याइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment