२३ वैशाख, काठमाठौं । मुम्बई इन्डियन आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा पुगेको छ । आइतबार राति भएको अन्तिम खेलमा कोलकाता नाइट राइडर्समाथि ९ विकेटको सहज जित निकाल्दै मुम्बईले पहिलो क्वालिफायरमा स्थान बनाएको हो । कोलकाता भने हारसँगै आईपीएलबाट बाहिरिएको छ ।
१३४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १६.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । मुम्बईको जितमा कप्तान रोहित शर्माले अविजित ५५ रन बनाउँदा सुर्यकुमार यादव ४६ रनमा अविजित रहे । त्यस्तै, डी ककले ३० रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । क्रिस लिनले ४१ र रोविन उथप्पाले ४० रन बनाए ।
कोलकातालाई सस्तैमा समेट्न मुम्बईका लासिथ मालिंगाले तीन विकेट लिए । त्यस्तै, हार्दिक पाण्ड्या र जसप्रित बुम्राहाले समान २-२ विकेट लिए ।
जितसँगै लिगको शीर्ष स्थानमा रहँदै मुम्बईले पहिलो क्वालिफायर राउण्डमा स्थान बनाएको हो । १४ खेलबाट ९ खेलमा जित र ५ खेलमा हार ब्यहोरेको मुम्बईले १८ अंक बनाएको छ ।
दोस्रो स्थानमा रहेको चेन्नाई सुपर किंग्स पनि पहिलो क्वालिफायरमा प्रवेश गरेको छ । चेन्नाईको पनि मुम्बईकै जति समान अंक भएपनि नेट रन रेटको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहेको हो ।
यता, दिल्लीले भने तेस्रो स्थानमा रहँदै प्लेअफको इलिमिनेटर राउण्डमा प्रवेश गरेको छ । दिल्लीको पनि मुम्बई र चेन्नाईकै जति १८ अंक भएपनि नेट रन रेटमा पछि पर्दै तेस्रो स्थानमा रहेको हो ।
जारी आईपीएलमा सबैभन्दा बढी भाग्य भने सनराइजर्स हैदरावादको चम्किएको छ । कोलकाता मुम्बईसँग पराजित भएसँगै हैदरावाद पनि प्लेअफको इलिमिनेटरमा प्रवेश गरेको छ ।
अब क्यालिफायरको पहिलो राउण्डमा चेन्नाई र मुम्बईबीच प्रतिस्पर्धा हुने छ । त्यस्तै, इलिमिनेटर राउण्डमा दिल्लीले हैदरावादको सामना गर्नेछ ।
प्रतिक्रिया 4