Comments Add Comment

पञ्जे बाजाः हराएको धून

अहिले विवाह-भोज वा उत्सवमा धुमधाम ‘ब्यान्ड बाजा’ बजाइन्छ । त्यही कारण शहरमा ब्यान्ड बाजा बजाउने व्यवसायिक समूह कति छन्, कति ।

यता ‘पञ्चे बाजा’को धून चाहि बिलुप्त हुँदैछ । अहिलेको पुस्तालाई सोध्ने हो भने, उनीहरुले पञ्चेबाजा न देखेका छन्, न त्यसको धून सुनेका छन् । जबकी यो हाम्रो मौलिक बाजा हो । खासगरी विवाह जस्ता शुभ कार्यलाई थप मनोरञ्जनात्मक बनाउनका लागि पञ्चे बाजा बजाउने गरिन्थ्यो । अहिले पञ्चे बाजा संग्राहलयमा खोज्नुपर्ने अवस्था आएको छ ।

के हो पञ्चेबाजा ?

पञ्चे अर्थात नामबाटै थाहा हुन्छ, पाँच वटा फरक फरक बाजाको एकमुष्ठ नाम । यस बाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई हुन्छ । पाँच जना बाद्य वादकले एकसाथ सुर-ताल मिलाएर पञ्चेबाजा बजाउँछन् ।

यो बाजा हाम्रो संस्कृतिसँग जोडिएको छ । विवाह, भोज आदिमा पञ्चे बाजा बजाइन्छ । यसलाई शुभ-सूचक वा शुभ साइटमा बजाउने मंगल धुन मानिन्छ । विगतमा कुनै जात विशेष खासगरी दमाई समुदायले यो बाजा बजाउने गर्थे । अहिले यो जात विशेषले नभई अरुले पनि बजाउने गर्छन् । यद्यपी न यो व्यवसायिक रुपमा फैलिएको छ, संस्कृतिको रुपमा संरक्षित नै छ । पञ्चेबाजा र यसको धून अहिले दुर्लभ भइसकेको छ ।

नौमती बाजा पनि उस्तै

पञ्चेबाजाकै अलि बृहत स्वरुप हो, नौमती बाजा । पञ्चेबाजा र नौमती बाजाको प्रयोजन पनि एकै हो । शुभकार्यमा बजाइने ।

पञ्चेबाजामा जसरी पाँच वटा बाजाको समूह हुन्छ, त्सैगरी नौमतीमा नौ वटा बाजाको । यसमा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल र नरसिंगा हुन्छ । यद्यपी सहनाई र दमाहा चाहि दुई-दुई वटा हुन्छ ।

सहनाई

सनै, सहनाई, सनाई आदि केही नामले चिनिने यो वाद्य-यन्त्र पञ्चे एवं नौमती बाजामध्ये एक प्रमुख मानिन्छ ।

यसमा मुरलीमा झै आठवटा प्वाल हुन्छ । त्यही प्वालमा औंलाको चाल अनुसार धून निकालिन्छ । खासगरी सिल्भर र पित्तलबाट बनाइने सहनाईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धुनहरु निकाल्छ ।

दमाहा

नौमती बाजामध्येको सबैभन्दा ठूलो बाजा हो यो । यसमा तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ ।

ढोलक

ढोलक, जो मादल जस्तै हुन्छ तर यसमा खरी हुँदैन । यसलाई एकातिर हातले र अर्कोतिर सानो लट्ठीले ठोकेर बजाइन्छ । यसले अरु बाजाहरुको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ ।

ट्याम्को

यो करिब सानो दमाहा जस्तै हुन्छ । सानो र छरितो यो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ । सहनाइृका स्वरबाट सूर पैदा भएपछि ट्याम्कोले भाखा टिप्दै ताल दिन्छ । खासगरी ट्याम्को र सानो दमाहा एकअर्काका परिपूरक बाजा हुन् ।

नरसिंङ्गा

संस्कृत शब्द नरशृंगारको अपभ्र.श भएर बनेको शब्द हो, नरसिङ्गा । फुक्ने ठाउँमा सानो तर क्रमश ठूलो हुँदै वा फुक्दै गएको अर्ध चन्द्राकार बाजा हो यो । तामाले बनेको यो वाजा दुई खण्डमा हुन्छ, जसलाई बजाउने बेलामा जोडिन्छ ।

कर्नाल

यो बाजा बजाउन अलि कठिन मानिन्छ । तामाले बनेको कर्नाल पनि फुकेर बजाइन्छ ।

झ्याम्टा वा झ्याली

काँसका दुई थाल जस्तै आकारको झ्याम्टाले आपसमा जुधाएर धुन निकालिन्छ । यसैगरी सहनाईको सुरमा ट्यम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले बिट मारिन्छ । यस क्रममा ध्वनियुक्त मीठाससँगै झ्याई-झ्याई गर्दै झ्याम्टा बजाइन्छ ।

–विभिन्न स्रोतबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment