Comments Add Comment

मोरङमा १६ दिनमा ३३ सय जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता

२४ वैशाख, विराटनगर । गृह मन्त्रालयको परिपत्रपछि जन्मका आधारमा नागरिकता बनाएका आमाबुबाका सन्तानलाई नागरिकता वितरण खुला भएपछि मोरङबाट ३ हजार ३ सय भन्दा धेरैले वंशजको आधारमा नागरिकता पाएका छन् ।

गत चैत २० गतेदेखि वैशाख २० गते सम्मको अवधीमा ३ हजार ३ सय ४७ ले वंशजको नागरिकता पाएका हुन् । जसमा १ हजार ३९५ महिला र १ हजार ९ ४९ पूरुष छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङसहित इलाका प्रशासन कार्यालय रंगेली र उर्लाबारीबाट नागरिकता वितरण भइरहेको छ । एक महिनाको अवधीमा उर्लाबारीबाट भने २७० जनाले वंशज नागरिकता लिएका छन् ।

गत चैत १९ गते गृहमन्त्रालयले जन्मसिद्ध नागरिकता पाएका बुबा आमाका सन्तानलाई नागरिकता वितरण गर्न परिपत्र गरेपछि चैत २० गतेबाट सुरु भएको थियो । तर सर्वोच्च अदालतको आदेश पछि ८ दिन (चैत २६ गतेदेखि वैशाख ३ गते सम्म) नागरिकता वितरण रोकिएको थियो ।

वैशाख ३ गते सर्वोच्चकै आदेशबाट नागरिकता वितरण खुला भएपछि वैशाख ४ गतेदेखि नागरिकता वितरण सुरु भयो ।

चैत २० गतेदेखि वैशाख २० गते सम्म ६ दिन सार्वजनिक विदा र सर्वाेच्चको आदेशले रोकिएको ८ दिन कटौती गर्दा १६ दिन मात्र नागरिकता वितरण भएको थियो । जिल्ला प्रशासन कार्यालयबाट १६ दिनको अवधीमा ३ हजार ३ सय ४७ ले नागरिकता लिएका हुन् ।

२०६३/६४ सालमा मोरङबाट २० हजार ५ सय हाराहारीले जन्मसिद्धका आधारमा नागरिकता लिएका थिए । लामो समय रोकिएको नागरिकता वितरण खुलेपछि २०६३-६४ मा नागरिकता बनाएका आमाबुबाका सन्तानको भिड लागेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

उनका अनुसार जेठ १७ गतेसम्मका लागि नागरिकताका लागि टोकन वितरण भइसकेको छ । नागरिकता बनाउन आउनेको भीडलाई व्यवस्थापन गर्न प्रशासनले टोकन सिस्टम लागु गरेको हो । सुरुमा दैनिक १५० लाई नागरिकता टोकन वितरण गरेको प्रशासन कार्यालयले पछिल्लो समय दैनिक १०० जनालाई टोकन वितरण गरिरहेको पाण्डेले बताए ।

विस २०६३-६४ मा जन्मसिद्धका आधारमा जन्मसिद्ध नागरिकता लिएकाहरुको सन्तानलाई बंशज नागरिकता वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालय विराटनगर र इलाका प्रशासन कार्यालय रंगेलीमा नागरिकता बनाउनको भीड लाग्ने गरेको छ ।

केही दिनअघि इलाका प्रशासन कार्यालय भारतीय नम्बर प्लेटका मोटरसाइकल भेटिएको थियो । नागरिकता बनाउन आएका व्यक्तिहरुले भारतीय मोटरसाइकल प्रयोग गरेको भेटिएपछि भारतीयलाई नागरिकता वितरण भयो भन्दै सञ्जालमा आलोचना भएको थियो ।

तर मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी खुला सीमा भएका कारण भारतीय मोटरसाइकल प्रयोग हुनु सामान्य भएको बताउँछन् ।

नागरिकता बनाउन आएका व्यक्तिको प्रमाण र वडा कार्यालयको सिफारिसका आधारमा नागरिकता वितरण हुने बताउँदै उनले सीमा क्षेत्रमा बस्ने नेपालीले भारतीय मोटरसाइकल प्रयोग गर्ने गरेको बताउँछन् । जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण गर्दा सतर्कता अपनाइएको उनको भनाइ छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment