
२६ वैशाख, सप्तरी विवाह गरी श्रीमती ल्याएको दुई दिन नबित्दै सप्तरीका एक युवकले अर्कै युवतीलाई लिएर फरार भएका छन् । आफ्नो श्रीमती हुँदाहुँदै गाउँकै युवतीलाई लिएर फरार भएपछि जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका ५ मा तनाव उत्पन्न भएको छ ।
गाउँकै युवती लिएर फरार हुने युवक हुन् राजु खंग । उनले गाउँकै साक्षीकुमारी सिंहलाई लिएर फरार भएका हुन् । दलित युवकले क्षेत्री युवती भगाएपछि युवकका परिवारसहित दलित वस्ती त्रासमा छन् ।
राजुले गत वैशाख १३ गते सप्तकोशी नगरपालिकास्थित कमलपुरकी प्रमिला खंगसँग विवाह गरेका थिए ।
कुटपिट गरेको आरोप
राजुले साक्षीलाई भगाएपछि साक्षीका परिवार र वडा अध्यक्षसमेतले आफूहरुलाई कुटपिट गरेको राजुका परिवार र छिमेकीहरुले बताएका छन् । उनीहरुले तिमीहरुले नै दुबैलाई भगाएको भन्दै कुटपिट गरेको दलित समुदायको भनाइ छ ।
वडा अध्यक्ष श्रीप्रसाद यादवकै नेतृत्वमा रहेका व्यक्तिहरुले छलफलका लागि बोलाएर कुटपिट गरेको उनीहरुको भनाइ छ । दलितले उच्च जातिकी छोरी भगाएको भन्दै आक्रोशित बनेका वडाध्यक्षसहित व्यक्तिहरुले घरघर पसेर महिला र बालबालिकालाई समेत कुटपिट गरेको सदरमुकाम राजविराज आएर पत्रकारहरुलाई उनीहरुले बताएका छन् ।
उनीहरुले राजेश खंग, डम्बर खंग, जुक्तिया खंग, मोहन खंग, उनकी पत्नी धनमादेवी, छोरा रामचन्द्र र बुहारी सरोदेवी लगायतलाई कुटेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया 4