Comments Add Comment

कहिले जोडिएला रेशबहादुर सरको टुटेको मन ?

‘गुरु’ । शिक्षकलाई सम्मानपूर्वक गरिने प्राचीन सम्बोधन । ‘गुरु’ अर्थात अन्धकारबाट उज्यालोतर्फ, अज्ञानबाट ज्ञानतिर, असत्यबाट सत्यतर्फ । परिभाषाले यही भन्छ ।

तर, जब गुरुमा जात घुस्छ, अनि रेशबहादुर बिकजस्तै हालत हुन्छ । जसले समानता, नैतिकता, अन्धविश्वासको पाठ पढाउँछ, उसैमाथि बुट बजारिन्छ ।

हाम्रो समाजमा अझै पनि मानवता, नैतिकता, धर्म, गुरुभन्दा पनि माथि छ, कथित जातको हुंकार ।

रेशबहादुर म्याग्दीको जनज्योति आधारभूत विद्यालयका गुरु हुन् । गाउँको स्कुल हो, जनशक्तिको अभाव छ । त्यसैले रेशबहादुर गणित, नेपाली, अंग्रेजी सबै विषयका गुरु हुन् ।

रेशबहादुर बिक म्याग्दीको जनज्योति आधारभूत विद्यालयका शिक्षक हुन् । उनले अब त्यहाँ पढाउन नजाने सोच बनाएका छन् । उनको टुटेको हड्डी त जोडिँदै होला । तर, छियाछिया भएको मनचाहिँ कहिले जोडिएला ?

आजभोलि गाउँका विद्यालयमा शिष्यको पनि कमी छ, जनज्योतिमा पाँच कक्षासम्म पढाइ हुन्छ । तीनजना शिक्षक छन्, १८ जना विद्यार्थी ।

कमिलाका ताँतीजस्ता विद्यार्थीको स्कुल ठाँटीजस्तो बन्नुमा बैदेशिक रोजगारीको वियोगदान भन्छन् रेशबहादुर । श्रीमानहरु गाउँ छाडेर परदेश, श्रीमती र छोराछोरीजति सदरमुकाम ।

०००

रेशबहादुर गुरु अहिले स्कुलमा छैनन् । प्लास्टर गरिएको खुट्टालाई बैशाखीले सहारा दिएर बेनी बजारमा पाइला सार्दैछन् । अस्पतालले भनेको छ, ‘टुटेको खुट्टा जोडिन ७ देखि ८ हप्ता लाग्छ ।’

यदि रेशबहादुरको अन्तिम नाम बिक नभएर अरु केही हुन्थ्यो भने अहिले उनी बेनीदेखि १७ कोष टाढाको स्कुलमा नैतिकताको पाठ पढाइरहेका हुन्थे ।

जनज्योति आधारभूत विद्यालय धवलागिरि गाउँपालिकामा छ । रघुगंगा गाउँपालिका वार्ड नं. ८ मंगलेखानीबाट उक्त स्कुलमा पुग्न करिव ५ घण्टाको समय पार गर्नुपर्छ । तर, रघुगंगाका रेशबहादुरको लागि दैनिक पाँच घण्टा हिँडेर स्कुल भेटाउन पुग्नु त्यति सजिलो कुरा होइन । त्यसैले, सजिलोका लागि उनी दुई वर्षदेखि विद्यालय नजिकै डेरा लिएर बसेका थिए ।

हुन त ४२ वर्षीय रेशबहादुरले गुरुको भूमिका तय गरेको २२ वर्ष भयो । ८ नम्बर वार्डको रगुगंगा प्रावि चौराखानीबाट उनले कालोपाटीमा चुक–डस्टर घुमाउन शुरु गरेका थिए । ०६० सालमा सरुवा भएर रितुन निम्न माध्यामिक विद्यालय डुलेखर्क पुगे । ०७० सालसम्म त्यहीँ ज्ञान बाँडे । तर, उनको परिवारको संकट साँघुरिनुको साटो झन् झन् फराकिलो बन्दै गयो ।
अन्ततः रेशबहादुर बेतलवी विदामा मलेसिया भासिए । नेपालमा नमस्कार खाएका रेशबहादुर अरुलाई सलोट हान्न मलेसिया पुगे । उनलाई यसरी जान मन त थिएन तर, परिवारको व्यवहारिक दबावले समुद्रपारि धकेली छाड्यो ।

मलेसियाको तीन वर्षे बसाइमा रेशबहादुरले खासै ठूलो प्रगति केही गरेनन् । उनकै भाषा सापटी लिने हो भने, घरको व्यवहार मिलाए, ऋण तिरे ।

त्यसपछि फेरि उनी चक र डस्टर समात्न जनज्योतिमा पुगे ।

मलेसियाबाट फर्केर उनले विद्यालयमा पढाउन थालेको दुई वर्ष बित्दै थियो । प्रध्यानाध्यापक युकुमारी गिरी रोकाले आन्तरिक परीक्षा पास गरिन् र स्थायी शिक्षिकाको सर्टिफिकेट हात पारिन् । अनि उनको अर्कै विद्यालयमा सरुवा भयो ।

०००

बैशाख ५, २०७६ । विहानैदेखि जनज्योति विद्यालयमा चहल पहल थियो । अबीर र फूलमाला तयार पारिएका थिए । ग्राउण्डमा बेन्चहरु यु आकार राखिएका थिए । विद्यार्थी मात्र होइन, गाउँले पनि विद्यालयतर्फ सोझिँदै थिए । किनकि त्यस दिन युकुमारीको विदाइ समारोह थियो ।

युकुमारी विदा भइन् । घाँटीमा माला झुण्डिए, अनुहारभरि अविर । त्यही मेलोमा रेशबहादुरको टाउकोमा प्रध्यानाध्यापकको फुली झुण्डाइयो । त्यो फुलीलाई ओजलाई सम्मान नै गरे, रेशबहादुरले । विद्यालयबाट बाहिरिँदा घडीले ७ बजाउन आँटिसकेको थियो । त्यो दिन युकुमारी र रेशबहादुरहरुपछि स्कुलबाट निस्कने कोही थिएन ।

स्कुबाट बाहिरिएर रेशबहादुर त्यो दिन सिधै डेरा गएनन् । किनकि उनलाई प्रध्यानाध्यापकको जिम्मेवारीले थिचेको थियो । त्यसैले विद्यालयदेखि १० मिनेटको दुरीमा रहेको व्यवस्थापन समितिका अध्यक्षको घरमा पुगे । किनकि रेशबहादुरले स्कुल सञ्चालनका लागि केही एजेण्डा तय गर्नु थियो ।

उनी सरासर अध्यक्ष पार्वती पूर्जाको घरभित्र पसे र सँगै बसेर विद्यालय सुधारका कुरा गर्न थाले । केही छिनमै मंगमानका बलबहादुर रोका (३५) र भेडिखाल्टाका जितेन्द्र जुग्जाली (३०) हुत्तिँदै आए र बिस्फोट भए, ‘तँ रेशे कामी ! हाम्रा लागि केही पनि होइनस् । त, आफ्नो औकातमा बस् । धेरै चढेको छस्, तल्लो जातको भएर उपल्लो जातको घरभित्र किन छिरिस् ? सबै आ–आफ्नो औकातमा बस्छन् तँ बस्दैनस् ? तँ अब एक सेकेण्ड पनि बाँच्दैनस् ।’

रेशबहादुरले केही सोच्न पनि नपाउँदै उनीहरु अरिंगाल जसरी झम्टिए, कुटे । र, बाघले बाख्रा घिसाारेजसरी घिसार्न थाले । आँगनमा पुर्‍याए र अग्लो डिलबाट खसाइदिए ।

तल नपुग्दै फेरि उसरी नै झम्टिन आइपुगे । गाउँलेले बल्लतल्ल पञ्जाबाट रेशबहादुरलाई अलग्याए । चकमन्न अध्याँरो भइसकेको थियो ।

रेशबहादुर त्यहाँबाट उठेर दौडन चाहान्थे, खुट्टै लागेन । उनको शरीरबाट रगत बगिरहेको थियो । रगतको रङ, अरुको जस्तै रातो थियो ।

रेशबहादुरलाई कार्यालय सहयोगीले उठाएर कोठासम्म पुर्‍याए । शरीर त दुखेको थियो नै, उनी भन्छन्, ‘मनको अगाडि शरीरको दुखाइ कमजोर सावित हुँदोरहेछ ।’

त्यो रात रेशबहाहदुरले आफ्नो पुरै जीवनलाई सरसर्ती हेरे । बालापन सम्झिए । जतिबेला उनी बाबाको पछिपछि हिँड्थे र बाबा जहाँ बस्छन्, त्यही बस्थे । उपल्लो जात हिँडेभन्दा माथिको बाटो उनीहरुलाई हिँड्न छुट थिएन ।

र, उनले वर्तमान अवस्थालाई नियाले, ‘धेरै परिवर्तन भएको सोच्थेँ । कसैले बाहिर बस् भन्थेनन्, सबैको घरभित्रै साथीहरुसँग बस्थेँ । सबैलाई बराबरी देख्थेँ । तर, खासमा समाजको चरित्र त उस्तै पो रहेछ ।’

अर्को दिन उनको खुट्टा सुनिएर हात्तीपाइले रोग लागेजस्तो भयो । उनलाई गाउँका प्रतिनिधि र चल्तापूर्जाहरुबाट फोन आउन थाल्यो, ‘कति खर्च लाग्छ, त्यो बेहोरांैला, मुद्दामामिलातर्फ नलाग्नुस् ।’

रेशबहादुरभित्र एउटा चोटको पीडा त्योभन्दा अग्लो अपमानको, मान्छेबाटै जन्मिएर पनि मान्छे हुन नसकेको ! रेशबहादुरले जवाफ दिए, ‘मेरो आत्मामा आगो जलेको छ, अहिले यसबारे निर्णय दिन सक्दिनँ ।’

अर्को दिन उनले निर्णय गरे । छोरा विप्लवलाई निवेदन लेख्न लगाए र दर्वाङ पाखापानी प्रहरी चौकीमा दर्ता गर्न पठाए ।

०००

रेशको उपचारका लागि दुई साथीले तीनघण्टा बोकेर आधि बाटोसम्म पुर्‍याए । त्यहाँबाट ट्याक्सी लिएर उनी बेनी बजार पुगे । तर, त्यहाँ उपचार हुन सकेन । अस्पतालले भनेको थियो, खुट्टामा ‘नट राख्नुपर्ने हुन सक्छ । पोखरा जानुपर्छ ।’

रेशबहादुर पोखरा पुगे । उनको देब्रे खुट्टाको पैतालाभित्रको हड्डी टुटेको थियो, चिकित्सकले प्लस्टर गरिदिए । उनी बेनीसम्म फर्किए ।

तर, चौकीमा मुद्दा दर्ता भएको थिएन । जातीय विभेदलाई कानूनले संविधानले मौलिक हकको रुपमा दर्ज गरेको छ । तर, कानुनका पालनकर्ताहरुले यस्ता मुद्दामै विभेद गरिरहन्छन् । ठूलै बल लगाउनुपर्छ यसरी मुद्दा दर्ता हुनका लागि । त्यसैले बल्लतल्ल १५ गते मुद्दा दर्ता भयो ।
तर, लामो समयसम्म प्रहरीले दोषीलाई पक्राउ नै गरेन । यसका लागि पनि आन्दोलन नै छेड्नुपर्‍यो  । म्याग्दीका प्रहरी नयाव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बलबहादुर र जितेन्द्रलाई आइतबार पक्राउ गरेको बताए । उनले भने, ‘अहिले साक्षी बुझ्ने काम भइरहेको छ । अभियुक्त र शिक्षकको वयान लिइरहेका छौँ । हामीले २४ दिनसम्म अनुसन्धान गर्न पाउँछौँ, त्यसैले अहिल्यै मुद्दा अदालत पठाइसकेका छैनौँ ।’

मरासिनीका अनुसार पीडकले जातीय विभेद नभई नशाको तालमा झगडा भएको वयान दिएका छन् ।

उता रेशबहादुरले अब सो विद्यालयमा पढाउन नजाने सोच बनाएका छन् । उनी भन्छन्, ‘त्यसरी अपमान भोगेको गाउँमा म कसरी जान सक्छु ? कसरी बस्न सक्छु ?’

आफ्नै देशभित्र कसैलाई दलित भएकै कारण बाँच्न गाह्रो छ, बस्न गाह्रो छ ।

हालै राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । त्यहाँ उनले भनेकी छिन् कि दुई वर्षभित्र प्रत्येक गाउँपालिकालाई कालोपत्रे सडक सञ्जालले जोड्ने । तर, अहिले पनि रेशबहादुरको गाउँमा बिहेको भतेर हुँदा दलितहरुका लागि छुट्टै भान्सा छ, निम्न वर्गीय दलितहरु छन्, उनीहरुलाई सम्मानजनक बाँच्ने अधिकार छैन । काम गर्न गैरदलितकहाँ पुग्छन् तर, बाहिरै छुट्टै बसेर खान विवश छन् ।

त्यसैले, बाँकी त मान्छेहरुको मन जोड्न छ । रेशबहादुर टुटेको हड्डी त जोडिँदै होला । तर, उनको छियाछिया भएको मन चाहिँ कहिले जोडिएला ?

पंक्तिकारले यो फिचर तयार परेर सक्दै गर्दा सामाजिक सञ्जालमा फेरि अर्को समाचार आएको छ, ‘काठमाडौं–१३ ओमवहालमा पानीको धारा छोइएको भन्दै समुद्रा परियारमाथि कुटपिट ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment