Comments Add Comment

खाटा बस्दै द्वन्द्वको घाउ : पर्यटकीय गन्तव्य बन्दै दोरम्बा

४ जेठ, रामेछाप । कुनै बेला दोरम्बाको नाम सुन्ने वित्तिकै सबै जना झस्कन्थे । २०६० साल साउन ३२ गते सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादी र सरकारबीच युद्धविरामको बेला नेपाली सेनाले माओवादीका २१ जना नेता कार्यकताहरुको हत्या गरेपछि दोरम्बा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहृयो । अहिले त्यही दोरम्बालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रयास भइरहेको छ ।

युद्धविरामको समयमा दोरम्बा पुगेको सेनाको टोलीले माओवादीका २ जना कार्यकर्तालाई बैठक बसेको ठाउँमै गोली हानी हत्या गरेको थियो । बाँकी १९ जना नेता कार्यकर्तालाई हात बाँधेर एक घण्टा टाढा पुर्‍याइ जंगलको छेउमा गोली हानेर सामुहिक रुप्ामा हत्या गर्‍यो । सो घटना पछि माओवादीले सरकारसँगको वार्ता भंग भएको घोषणा गर्‍यो । त्यसपछि दोरम्बा सबैभन्दा बढी द्वन्द्व र हिँसा प्रभावित क्षेत्रको रुपमा चर्चित भयो ।

दोरम्बामा आफ्ना नेता कार्यकर्ताहरु मारिएपछि माओवादीले सुराकीको आरोपमा दोरम्बामा एक स्वास्थ्यकर्मीसहित २ जनाको हत्या गर्‍या्े । धेरै मानिसहरुलाई कारबाही गर्ने भन्दै नाम सार्वजनिक गरे । त्यसपछि दोरम्बाका मानिसहरु रातारात घर छाडेर भागे र गाउँ नै सुनसान भयो । घटना भएको १५ वर्षपछि अहिले त्यही दोरम्बालाई पर्यटकीय गन्तव्यको गाउँ बनाउने अभियान सुरु भएको छ ।

रामेछापको दोरम्बालाई सरकारले गत वर्ष ‘पर्यटन गन्तव्य गाउँ’ घोषणा गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका-२ मा पर्ने दोरम्बा गाउँलाई ३९ औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गन्तव्यको गाउँ घोषणा गरेको हो ।

सरकारले पर्यटन गन्तव्य गाउँ घोषणा गरेपछि दोरम्बा क्षेत्रलाई नै पर्यटकीय क्षेत्र बनाउने गरी दोरम्बा गाउँपालिका योजनाका साथ अघि बढेको छ । सोही अनुरुप यस वर्ष मात्रै दोरम्बा गाउँपालिकाले सैलुङ्मा सैलुङ महोत्सव आयोजना गरेको छ । सिङ्गो दोरम्बा गाउँपालिकालाई नै पर्यटकीय क्षेत्र बनाउने गरी काम सुरु गरिएको गाउँपालिकाका प्रमुख कमानसिँह मोक्तान बताउँछन् ।

रामेछापको सैलुङ

‘दोरम्बा गाउँपालिकामा दोरम्बा, सानो सैलुङ, ठूलोसैलुङ, ब्रम्हा विष्णु खोला, कण्ठेश्वर, अग्लोश्वरी, च्छोयलिङ गुम्बा लगायतका धार्मिक, एतिहासिक तथा मनोरम पर्यटकीयस्थलहरु छन् । ती स्थलहरुको प्रचार गरी हामी सिंगो गाउँपालिकालाई नै पर्यटकीय गन्तव्य बनाउने गरी लागेका छौँ’, अध्यक्ष मोक्तानले भने ।

उनले दोरम्बामा पर्यटकीय पूर्वाधारका लागि होमस्टे लगायतका केही काम सुरु भै सकेको बताए । दोरम्बामा शैलुङ, अग्लेश्वरी कण्ठेश्वर गुफा, तालाच्यु गढी, डाँडाकटेरी, शान्ति पार्क, तामाङ र थामी जातिको संस्कृति पर्यटकीय आकर्षणका स्थल भएको बताए । दोरम्बा गाउँलाई सरकारले पर्यटकीय गन्तव्यको गाउँ तोकेपनि सिङ्गो गाउँपालिकालाई नै गन्तव्य क्षेत्र बनाउने योजनाका साथ आफूहरु अघि बढ्ने उनले बताए ।

काठमाडौबाट आउने यात्रीहरु सिन्धुलीको रातमाटाबाट सित्खाको पुल तरेर गाल्बा निस्किदै सोझै दोरम्बा पनि पुग्न सक्छन् । त्यस्तै जिल्ला सदरमुकाम मन्थलीबाट तामाकोसी तरेर खाँडादेवी हुँदै वा फुलासी डडुवा हुँदै पनि दोरम्बा पुग्न सकिन्छ । यसरी जाँदा पवित्र तिर्थस्थल वेनी, ऐतिहासिक खाँडादेवी मन्दिर, अग्लेश्वरीको दर्शन, भ्रमण तथा अवलोकन गर्दै दोरम्बा पुग्न सकिन्छ ।

दोरम्बामा बासको लागि होमस्टेहरुको व्यवस्था छ । दोरम्बाबाट बिहान सैलुङ गएर बेलुका दोरम्बा नै र्फकन भ्याइन्छ । दोरम्बाभित्रै पनि विभिन्न स्थानको अवलोकन गर्न पाइन्छ । अझ चिसो मौसममा सैलुङ आसपासमा हिउँ खेल्न समेत पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment