Comments Add Comment

प्रहरीले यसरी विफल बनायो जानकी बिहार लुट्ने योजना

गोली हानी ८ भारतीय लुटेरा पक्राउ, एकजना घाइते

९ जेठ, जनधपुरधाम । धनुषा प्रहरीले जनकपुरधाम-८ बिहार कुण्डस्थित जानकी बिहारका महन्थ नारायण शरणको वासस्थान लुटिनबाट जोगाएको छ ।

मन्दिर र महन्थ शरणको बासस्थानबाट नगद र गरगहना लुट्ने उद्देश्यले आएका ८ जना भारतीय नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुको योजना विफल भएको हो । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले घेरा हालेर फायरिङसमेत गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनालले ८ जना भारतीयलाई घेरा हाली नियन्त्रणमा लिने क्रममा उनीहरुको साथमा रहेको हतियार फायर गरी भाग्न लाग्दा जवाफी कारबाही स्वरुप गोली चलाउनु परेको बताए ।

गोली लागेर एक जना भारतीय घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते भएका भारतको बिहार राज्य अन्तर्गत समस्तीपुर जिल्ला गदोपुर निवासी २४ वर्षीय रवि मल्लिक डोमको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको खनालले बताए ।

प्रहरीले मल्लिकसहित समस्तीपुर जिल्लाकै सिमरी-८ बस्ने २० वर्षीय सहील रजक, पटौरी-३ बस्ने २४ वर्षीय अजितकुमार सिंह, भगवानपुर चक्सीव- ४ बस्ने २८ वर्षीय सुजित राय, महोदीनगर-६ का ३० वर्षीय अमितकुमार सिंह, सोही ठाउँको वडानम्बर २ बस्ने २० वर्षीय अमितकुमार यादव, मधुवनी जिल्ला साहरघाट ८ बस्ने ३२ वर्षीय रंजितकुमार भगत र साहरघाट वडानम्बर ८ का ३८ वर्षीय पप्पु भनिने संजयकुमार सुमनलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

उनीहरुको साथबाट मेड इन यूएसएको एक थान पेस्तोल, त्यसको एक थान म्यागेजिन, २ थान गोली, १ थान खोका, चेम्बरमा गोली लोड रहेको एक थान कटुवा पेस्तोल र त्यसको एक राउण्ड गोली, १ थान खुकुरी, ३ थान मोवाइल, १ थान आधार कार्ड, मोवाइलको व्याट्री एक थान र गाडीको कार्ड १ थान बरामद भएको प्रहरी प्रमुख खनालले जानकारी दिए ।

यस्तो थियो लुट्ने योजना

आठै जना भारतीय जानकी बिहारका महन्थ नारायण शरणको वासस्थानबाट नगद र मन्दिरमा रहेको सुन, चाँदीसहितका गरगहना लुट्ने योजनासहित बुधबार जनकपुर आएका थिए ।

दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा सवार भएर आएका आठ जनाको समूह जनकपुरधाम ८ महाबीर चोकस्थित लभली होटलमा आएर बास बसेका थिए ।

हतियारसहित आएका उनीहरु बुधबार राति नै लुट्ने योजना बनाएका थिए । ‘उनीहरु अँध्यारोको मौका छोपी लुटपाटको योजना बनाएका रहेछन्’ प्रहरी प्रमुख खनालले भने, ‘गोप्य तरिकबाट यो सूचना प्राप्त भए लगत्तै प्रदेश प्रहरी, संघीय प्रहरी तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको हो ।’

पक्राउ परेकामध्ये पप्पु भनिने संजय सुमनलाई बीआर०७एजी १५८१ नम्बरको स्कुटरमा चढी भाग्दै गर्दा महोत्तरीको मटिहानीबाट नियन्त्रणमा लिइएको र बाँकीलाई लभली होटलबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरु उक्त स्कुटरसहित बीआर३२एक०८९५ नम्बरको पल्सर र बिआर३२आर८२१३ नम्बरको ग्ल्यामर मोटरसाइकल चढी जनकपुर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment