Comments Add Comment

याङ्ग्री र लार्केको पानी मेलम्चीमा मिसाउन डीपीआर तयार

१७ चैत, काठमाडौं । मेलम्ची आयोजनाको दोस्रो खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । परामर्शदाता कम्पनी इप्टिसाले सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाउने गरी बनाएको डीपीआर मेलम्ची खानेपानी विकास समतिलाई दिएको हो ।

तर, यो प्रतिवेदन विकास समितिले स्वीकृत गरिसकेको छैन । यो योजना पुरा भए मेलम्चीबाट अहिले ल्याउन लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ । मेलम्चीको पानीमा अरु दुई खोलाको पानी पनि मिसाउने गरी मेलम्ची-२को डीपीआर तयार भएको आयोजनका एक अधिकारीले जानकारी दिए ।

गत माघबाट रोकिएको मेलम्ची खानेपानी आयोजनाको काम सुरु गर्न मन्त्रिपरिषदले बाटो खोलिसकेको छ । सीएमसीको उप-ठेकेदारको रुपमा काम गरिरहेका स्थानयि ठेकेदारलाई काम दिने गरी विशेष परिस्थितिको व्यवस्था अनुरुप काम गर्न सरकारले मलेम्ची खानेपानी विकास समितिलाई स्वीकृति दिएको छ ।

अब आयोजनाको काम एक वर्ष भित्र सक्ने लक्ष्य छ । अब मेलम्चीको दोस्रो परियोजना थाल्न टेन्डरमा जाने योजना बनेको छ ।

दैनिक ५१ करोड लिटर पानी

पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा झार्नेछ । मेलम्चीको अर्को प्रोजेक्ट तयार भएपछि भने त्यसलाई ५१ करोड लिटरमा पुर्‍याउने योजना छ ।

यो योजनाअनुरुप मेलम्ची आयोजनामा यांग्र्री र लार्के खोलाको पानी मिसाएर राजधानी ल्याइनेछ । पहिलो चरणमा आउने १७ करोड लिटरले काठमाडौंको पूरा माग थेग्न नसक्ने भएपछि सरकारले मेलम्चीका दुई खोलाको पानी पनि थपेर काठमाडौं ल्याउन लागेको हो ।

यसका लागि झण्डै ३ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै ३० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ । एसियाली विकास बैंक (एडीबी) पनि मेलम्चीको नयाँ प्रोजेक्टमा लगानी गर्न तयार भइसकेको छ ।

उसले मेलम्ची खानेपानी आयोजनाको गाँठो नफसकेसम्म यांग्री र लार्केको योजना अघि बढाउन नसकिने बताएको थियो । अब सरकारले एक वर्षभित्रै मेलम्ची ल्याउने गरी विभिन्न प्याकेजमा काम अघि बढाउने निर्णय गरेको छ ।

सरकारले पनि मेलम्चीमा थप लगानी गरेर काठमाडौंमा थप पानी ल्याउने घोषणा विभिन्न बजेट र नीति तथा कार्यक्रमबाटै नै गरिसकेको छ ।  अब पहिलो चरणमा १७ करोड लिटर पानी आएपछि दोस्रो चरणमा ३४ करोड लिटर पानी थपिनेछ । काठमाडौंमा दीर्घकालीन रुपमा पानीको माग व्यवस्थापन गर्न दुई खोलाको पानी मिसाउन लागिएको हो ।

मेलम्चीसँगै यी दुई खोलाको पानी आएपछि राजधानीमा दैनिक ५१ करोड लिटर पानी भित्रिनेछ । यसले काठमाडौंमा दीर्घकालीन रुपमा खानेपानीको अभाव पूरा सहज हुने विश्वास छ ।

मेलम्चीमा यांग्री र लार्केको पानी मिसाउन ११ किलोमिटरको सुरु खन्नुपर्नेछ झण्डै १२ किलोमिटरको दूरीमा रहेका यी खोलाको पानी मिसिएपछि मेलम्ची आयोजना थप समृद्ध हुनेछ ।

यो आयोजनमा काम सुरु भएपछि ४ वर्षभित्र सुरुङको काम सकिने अनुमान गरिएको छ । मेलम्ची आयोजनामार्फत आएको पानीको वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ । मेलम्चीको पानी काठमाडौं आएपछि काठमाडौंमा पानीको माग व्यवस्थापन सहज हुने आयोजनाका अधिकारीहरु बताउँछन् ।

झन योजनाअनुरुप थप ३४ करोड लिटर पानी काठमाडौं आएपछि यहाँ पानीको अभाव हट्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment