Comments Add Comment

‘गंगालालको गेटबाट निस्केपछि म डाक्टर होइन’

चार्ल्स शोभराजको मुटु चिर्ने साहित्यकार !

काठमाडौं । मान्छेहरुमा इच्छाको भारी हुन्छ । तर, कैयौं इच्छाहरु बाटोमा छाडिँदै जान्छन् । डा. रामेश कोइरालाका पनि कैयौँ इच्छाहरु त्यसरी नै छाडिए । यात्रामा हराएको उनको सबैभन्दा ठूलो इच्छा थियो – इञ्जिनियर बन्ने ।

गंगालाल हृदय रोग केन्द्रको अप्रेशन थिएटरअघि अप्रेशनकै ड्रेसमा खडा भएका डा. रामेश भन्दैछन्, ‘बाई मिस्टेक डाक्टर भएको हुँ ।’

मिस्टेक नै सही, उनी अहिले नेपालका दक्ष मुटु सर्जन हुन् । बाहिर हामीसँग कुराकानी गरिरहँदा डा. रामेशको टिमले अपरेशन थिएटरभित्र कसैको मुटु चिर्दैछ ।

वरिष्ठ मुटु सर्जन रामेशका खातामा ६ हजार बढी शल्यक्रिया दर्ता छन् । विश्व कुख्यात चार्ल्स शोभराजको मुटुको जटिल शल्यक्रियापछि ‘हो, चार्ल्स शोभराजको मुटु रहेछ’ भन्दै ट्वीट गर्ने पनि उनी नै हुन् ।

रामेशले ‘चार्ल्स शोभराज : इनसाइड द हर्ट अफ द बिकिनी किलर’ पुस्तक पनि हालै सार्वजनिक गरे । मुटु चिरेर शिरा र धमनीलाई ठीक पार्ने डा. रामेशले उपन्यासमा ‘आमाको मुटु’ लेखे । धर्मपुत्रपुत्रीका नाममा विदेशमा तस्करी भएपछि ‘कोपिला आश्रम’ लेखे । अबको केही समयमा अर्को उपन्यास सार्वजनिक गर्ने मुडमा छ । उनी भन्छन्, ‘आधाभन्दा बढी लेखिसकेको छु ।’

अब आफ्ना बाँकी इच्छालाई बार लगाउन चाहन्नन्, डा. रामेश । नत्र त उनी पत्रिकामा लामा-लामा विचार लेख्न छाडेर कुनै निजी क्लिनिकमा पुग्न हतारिँदै गंगलालको गेटबाट निस्कन्थे होला । र, उस्तै धपेडीमा गंगालालको गेटभत्र छिर्थे होला ।

ट्वीटरमा भाइरल हुने उनका आलोचनात्मक ट्वीट उनकै दिमागको कुनै कुनामा खिया लागेर बस्थ्यो होला ।

पत्रिकामा विचार पोख्नका लागि निश्चित दृष्टिकोेणको निर्माण गर्नुपर्छ । तर, यस्तो विचार ईंट्टाले घर बनाए जसरी बन्दैन । त्यसका लागि त अध्ययन र चेत चाहिन्छ ।

डा. रामेश बहुआयामिक लाग्छन्, चिकित्सक, लेखक, साहित्यकार, समाजसेवी । यति लामो परिचय बनाएका रामेशलाई पक्कै कडा रुटिङमा चल्नुपर्ला !

तर, ठीक उल्टो जवाफ आउँछ, ‘म सबैभन्दा कम सेड्युलमा बाँच्ने मान्छे हुँ । बिन्दास पारामा बाँच्ने मान्छे । मलाई जस्तो मन पर्छ, त्यसरी नै बाँच्छु । पढ्न मन लाग्छ कि, वियर खान मन लाग्छ, सिनेमा हेर्न मन लाग्छ, या लेख्न मन लाग्छ, त्यही गर्छु ।’

डा. रामेशको निश्कर्ष छ- दक्षिण एसियामै हामी सबैभन्दा झूर आइक्यू भएका देश हौँ । प्रोफेसर, लेक्चर, बौद्धिक भनिनेहरुको पनि सामाजिक सञ्जालमा तालमाल देख्दा यही लाग्छ । कि दलको पछि लागेपछि बौद्धिकता नचाहिने हो ?

सायद उनी बढी लेख्न मन पराउँछन् क्यारे । कहिलेकाँही लेख्दालेख्दै रातको १२-१ पनि बज्छ । प्रायः रातमा लेख्छन् रामेश । आफैं स्वीकार्छन्, अल्छि छु । बिहान अलि अबेरसम्म सुत्नुपर्छ ।

****

रामेशले अखवारीय लेखन थालेको करिव ८ वर्ष भयो । त्यसअघि उनले लेख्दैनथे । पढ्थे । साथीहरुसँग बहस गर्थे । धारणा बनाउँथे । उनलाई लाग्थ्यो, ‘नेताहरुले गरिरहेका छन्, गर्दैछन् ।’

उनको उमेरको ग्राफ उक्लिँदै गयो, उनमा जीवित आशाका तार चुँडिदै जान थाले । उनलाई लाग्न थाल्यो, ‘होइन, यो त हदै भो । देश नै बाँदरहरुलाई दिएपछि मेरो जिन्दगी त गयो-गयो, मेरा बच्चाहरुले पनि जिन्दगी यसरी नै बिताउने भए । अब सत्य लेख्न थाल्नुपर्छ ।’

अनि डा. रामेशले लेख्न थाले ।

रामेशको लेखनको निश्चित दायरा छैन । गंगालालमा काम सकेपछि पैदल हिँड्दै गोजीमा हात हालेर घरतिर लाग्छन् । कहिलेकाँही बाटोमा सुसेल्दै पनि हिँड्छन् । अलि पर चोकमा पुगेपछि ट्राफिक लाइट निभिरहेको देखिन्छ । उनलाई लाग्छ, ‘सामान्य ट्राफिक लाइट बनाउन पनि नसक्ने यो कस्तो देश ? गफ चाहिँ स्मार्ट सिटीको दिने !’

अनि लेख्न थाल्छन् डा. रामेश । कहिले रेलबारे लेख्छन् । कहिले गोविन्द केसीको अनसनबारे । कहिले मधेसबारे । उत्पीडितको कथा त कहिले सरकारको आलोचना । यत्ति हो कुनै विषयमा अध्ययन र तथ्यको गहिराईमा पुग्नुपर्‍यो । उनी आफ्नो लेखनीबारे बोल्दैछन्, ‘विषय छनोटपछि त्यसको सम्पूर्ण जानकारी लिन्छु । अनि यो कुरामा लेख्न सक्छु कि सक्दैन भनी आफैंलाई प्रश्न गर्छु । सबै पुग्छ भने लेख्ने हो, चाहे त्यो लेख होस्, चाहे किताव ।’

तर, उनी मानिसको मुटुमा कतिवटा प्वाल हुन्छन्, मुटु बचाउन के गर्नेजस्ता विषयमा लेख्दैनन् । डा. रामेश आफ्नैबारे पनि विज्ञापन गर्न चाहँदैनन् । उनको तर्क छ, ‘हो, म सर्जन हो । तर, यो विज्ञापन गर्न नहुने पेसा हो । फेरि, हेल्थ गभरनेन्सको कुरा त लेख्छु नि !’

रामेशले लेख्दै जाँदा बुझेको कुरा के हो भने नेपालीको मानसिकता र बुद्धिको स्तर निकै कमजोर छ । ‘दक्षिण एसियामै हामी सबैभन्दा झुर आइक्यू भएका देश हौँ ।’

हामीभन्दा पाकिस्तान, भारत, श्रीलंका बंगालादेश पनि धेरै अघि छन्’, उनी व्यंग्य गर्छन्, ‘प्रोफेसर, लेक्चर, बौद्धिक भनिनेहरुको पनि सामाजिक सञ्जालमा तालमाल देख्दा यही लाग्छ । कि दलको पछि लागेपछि बौद्धिकता नचाहिने हो ?’

रामेशलाई व्यंग्य निकै मन पर्ने विधा हो ।

****

चिकित्सा र लेखन विल्कुल फरक अभ्यास हो । उसो त नेपालको इतिहाँस हेर्ने हो भने निजामति कर्मचारी, शिक्षक ठूल्ठूला लेखक दरिएका छन् । रामेशलाई लाग्छ, ‘सबैभन्दा धेरै कथा डाक्टरसँग हुन्छ । र, सबैभन्दा कम कर्मचारीसँग ।’ उनीसँग भएका तिनै कथाहरुलाई औपन्यासिक शैलीमा लेख्छन् रामेश । जुन शैलीले धेरैलाई आकर्षित गरेको छ र उनी हौसिन्छन् पनि । उनी भन्छन्, ‘चार्ल्स शोभराज नन फिक्सन हो, तर, तपाईलाई त्यो कथा पढेजस्तो लाग्छ । फिक्सनमा सिनेमा बनाउन सकिन्छ । सत्य घटनामा पनि उत्तिकै राम्रो सिनेमा बनाउन सकिँदैन र ?’

उसोभए लेखनले चिकित्सकीय जिम्मेवारीलाई असर पार्दैन ? या मुटुको अपरेशनमा व्यस्त हुँदा लेखनमा पनि बाधा पुग्छ कि ? डा. रामेश आफ्नो मनोविज्ञानबारे बताउँछन्, ‘म गंगलालबाट बाहिर निस्केपछि डाक्टर होईन । धेरैलाई भन्छु, मलाई डाक्टर भनेर सम्बोधन नगर्नुस् ।’

कतिपय साहित्यकारहरु भनिरहेका हुन्छन्, जतिबेलै मेरो दिमागमा पात्रहरु हाइज्याक गर्न आइरहन्छन् । म पात्र भएरै बाँचिरहेको हुन्छु । रामेशलााई भने यसरी बाँच्न छुट छैन, ‘त्यसो गर्‍यो भने त मेरो काम चौपट भैहाल्छ नि ! मेरो ओपीडी माछा बजारजस्तो हुन्छ । टिकट लिएर आउनेको घुइँचो, एक बिरामीका चारजना मान्छे । पाले नै राख्दा पनि हैरान हुन्छ । त्यस्तो बेला कहाँबाट हर्के र बिर्खे पात्र सम्झने ?’

यद्यपि पुस्तक लेख्दा उनको आफ्नै विधि छ । चित्रकारले क्यानभासमा जसरी नै डा. रामेशले दिमागमा स्केच बनाउँछन् अनि त्यो दिमागलाई ल्यापटपमा उतार्छन् । उतार्दै गर्दा हरेक च्याप्टरमा के-के थप्ने भन्नेबारे चिन्तन गर्छन् ।

डा. रामेशकै भाषामा भन्ने हो भने उनी पैसाका लागि डाक्टरी गर्छन् र रमाइलोका लागि लेख्छन् । ‘जनताको सेवा गर्न म डाक्टर बनेकै हैन । कतिले जनताको सेवाका लागि काम गर्छु पनि भन्छन् । त्यस्तो आदर्श सुन्दा झोंक चल्छ’, डा. रामेशको स्पष्ट धारणा छ । लेखेरै डाक्टरीको जति पैसा कमाउने भए उनी अहिले मात्र लेखिरहेका हुने थिए ।

डा. रामेशले सत्य लेख्न नछाड्ने बताउँछन् । ‘म सहीलाई सही र गलतलाई गलत भन्छु, गलतलाई गलत भन्नका लागि कसैसँग डराउनु पर्दैन । मैले गाली गरेर लेख्दिनँ । तर, व्यंग्य मन पर्छ ।’

रामेशले बुझेको कुरा के हो भने राजनीतिबाट अलग भएको मानिसले मात्रै जे देख्यो, त्यो लेख्न सक्दो रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment