+
+
Shares

शिक्षकको तलब कीर्ते हस्ताक्षर गरेर विद्यालयको खातामा

विकास मरहट्टा विकास मरहट्टा
२०७६ जेठ २६ गते १६:५४

२६ जेठ, गोरखा । विद्यालयमा हाजिर नै नभएका शिक्षकको कीर्ते हस्ताक्षर गरी धार्चे गाउँपालिका–७ लापुको प्रभातकिरण माविले मासिक तलव वापतको रकम लिएको खुलेको छ ।

विद्यालयमा एक दिन पनि हाजिर नभएका शिक्षक बिसुदेव रेग्मीको कीर्ते हस्ताक्षर गर्दै मासिक २९ हजार रुपैयाँका दरले ७ महिनाको तलब विद्यालयले लिएको हो ।

‘गत असोजदेखि चैत महिनासम्म हुदै नभएको शिक्षकको कीर्ते हस्ताक्षर गरेर उहाँको नाममा तलब मगाएर विद्यालयले खाइरहेको छ,’ विद्यालय निकट स्रोतले भन्यो ।

विद्यालयले गत असोज ३ गते माध्यमिक तहमा अंग्रेजी र नेपाली बिषयको दरवन्दीमा शिक्षक पदपूर्तिका लागि परीक्षा लिएको थियो । परीक्षामा अंग्रेजी विषयमा विसुदेव रेग्मी छनोट भए । असोज ४ गतेदेखि नियुक्ति दिने निर्णयसमेत भयो ।

तर दुर्गम क्षेत्रको उक्त विद्यालयमा रेग्मी पढाउनै गएनन् । तर रेग्मीको कीर्ते हस्ताक्षर गर्दै गत असोजदेखि चैत्र महिनासम्मको तलब लिएको हो । विद्यालयले असोज ८ गतेदेखि नै शिक्षकको हाजिरी फाइलमा रेग्मीको कीर्ते हस्ताक्षर गरेको स्रोतको भनाइ छ ।

उक्त विद्यालयमा अंग्रेजी शिक्षकका लागि आवेदन दिएका रेग्मी भने दुई वर्षदेखि शहीद लखन गाउँपालिका–४ ताक्लुङको महारुद्र आधारभूत विद्यालयमा पढाइरहेका छन् । ‘नाम त निस्कियो तर टाढा भएर म त्यहाँ एक दिन पनि पढाउन गइन,’ बिसुदेव रेग्मीले भने, ‘दुई बर्षदेखि ताक्लुङको महारुद्र आधारभूत विद्यालयमा पढाइरहेको छु ।’

प्रभातकिरण माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राम मगरले शिक्षकको हस्ताक्षर कीर्ते गरेको बारेमा जानकारी नभएको बताए । ‘मलाई यसबारे केही जानकारी पनि गराएनन्, थाहा पनि छैन, के के गरे प्रअलाई थाहा होला,’ उनी पन्छिए ।

विद्यालयका प्रधानाध्यापक जीतबहादुर गुरुङले उक्त रकम विद्यालयको खातामा रहेको दावी गरे । उनले शिक्षकको कीर्ते हस्ताक्षर भने नगरेको दावी गरे । ‘पैसा खातामै छ, केही दिन अघि व्यवस्थापन समितिको बैठकले निर्णय गरेर बनिरहेको भवनका लागि दुई लाख रुपैयाँ खर्च गर्‍यौं,’ उनले भने ।

२०७५ असोजदेखि चैतसम्मको तलब कीर्ते हस्ताक्षर गरेर लिएपछि विद्यालयले रेग्मीले स्वेच्छिक राजीनामा दिएको भन्दै २०७६ साल जेठ १ गते नयाँ शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

‘विद्यालयमा एक दिन पनि हाजिर नभएका शिक्षकको हस्ताक्षर कसरी भयो,’ स्रोत भन्छ, ‘असोजदेखि विद्यालयमै नआएका शिक्षकको फेरि वैशाखमा स्वेच्छिक राजीनामा भनेर कसरी आयो ?’

करार शिक्षक विना सूचना १५ दिनसम्म विद्यालयमा अनुपस्थित भए व्यवस्थापन समितिले हटाउन सक्ने व्यवस्था धार्चे गाउँपालिकाको शिक्षा ऐनमा रहेको गाउँ शिक्षा शाखा प्रमुख पदम बहादुर ढकाल बताउँछन् । ‘त्यो कुरा आएपछि हामीले स्थलगत निरीक्षण पनि गर्‍यौ‌ं तर रेग्मीको हस्ताक्षर भएको हाजिर फाइल भेटिएन, लुकाएको भए थाहा भएन,’ उनले भने ।

गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले विद्यालयले कीर्ते हस्ताक्षर नगर्नुपर्ने प्रतिक्रिया दिए । गाउँपालिकाका कार्यकारी अधिकृत बाबुराम पाण्डेले उक्त विद्यालयका लागि प्रत्येक महिना दुई जना शिक्षकका लागि ५८ हजार रुपैयाँ पठाउँदै आएको बताए । बैशाख महिनासम्मको रकम पठाइसकेको उनले जानकारी दिए ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?