Comments Add Comment

१०० अभागी सगरमाथा आरोही, जसले शिखर चुम्न सकेनन्

२९ जेठ, काठमाडौं । वसन्तु ऋतु सगरमाथाको आरोहणको सबैभन्दा उपयुक्त मौसम मानिन्छ । त्यही कारण सगरमाथामा वसन्त ऋतुमा अधिक भीड लाग्छ ।

त्यसो त सरकारले पनि यस मौसमलाई केन्दि्रत गरेर पर्वतारोहण रोयल्टी पनि बढी असुल्छ । संसारभरका शाहसिक पर्यटकका लागि सगरमाथा चुचुरो सम्मको यात्रा एक गौरव हो । त्यसकारण उनीहरु महंगो शूल्क तिर्दै कठिन यात्रापछि यहाँ आइपुगेका हुन्छन् । तर, अपसोच, कतिपय आरोही भने अन्तिम समयमा आएर पनि सफल हुँदैनन् ।

वसन्तु ऋतुमा यस्ता अभागी आरोहीको संख्या सय रहृयो । वसन्त ऋतुमा ४४ समूहका ३ सय ८१ जना सदस्यले सगरमाथा आरोहणको अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार त्यसमध्ये केवल २ सय ८१ जना सदस्य मात्र सगरमाथा चुचुरोमा पुग्न सफल भए । यस वर्ष आरोहण अनुमति लिएकामध्ये आरोहीको ‘सक्सेस रेट’ ७४ प्रतिशत रहृयो भने १ सय जना चुचुरोमा पुग्न सकेनन् ।

सरदार-गाइडसहित ६ सय ५९ को सफल आरोहण

यस वर्ष सगरमाथा आरोहणमा गएका मध्ये २ सय ८१ जना आरोहीले सफल आरोहण गरे । उनीहरुलाई चुचुरोसम्म पुर्‍याउन करिव दोब्बर संख्यामा नेपाली सहयोगी, सरदार-गाइड खटिएका थिए । विभागको तथ्यांक अनुसार आरोहण दलका सदस्य र सहयोगी गरी कूल ६ सय ५९ जना पर्यटकले वसन्त ऋतुमा चुचुरो टेकेका हुन् । आरोहण दलका सदस्यभन्दा धेरै नेपाली सरदार, गाइड र सहयोगी चुचुरोमा पुगेको विभागको आंकडाले देखाएको छ ।

सफल आरोहण दर घट्यो

अघिल्लो सिजनको वसन्तु ऋतुमा सगरमाथा आरोहणको सफल आरोहण दर ७६.५३ प्रतिशत रहेको थियो । यस वर्ष संख्यात्मक रुपमा बढी आरोही चुचुरोमा पुगे ।

तर, आरोहण सफलता दर भने गत वर्षभन्दा घटेको छ । २०७५ को वसन्तु ऋतुमा ५ सय ६३ जना आरोही तथा नेपाली सहयोगी चुचुरोमा पुगेका थिए । विभागको तथ्यांक अनुसार उक्त वर्ष ३७ समूहका ३ सय ६१ जना आरोहीले अनुमति लिएकोमा २ सय ६१ जना मात्र चुचुरोसम्म पुग्न सफल भएका थिए ।

किन सबै आरोही पुग्न सक्दैनन् चुचुरोमा ?

आरोहण अवधिभर सगरमाथा आधार शिविरमै बसेर खटिएका कर्मचारी ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस वर्ष मौसमले आरोहणमा अलि धेरै नै चूनौति दिएको थियो । ‘सगरमाथा आधार शिविर र त्यसमाथिका शिविरमा लामो समय बसिसकेपछि पनि नियमित माथि चढ्ने वातावरण बनेन भने आरोहीहरु बिरामी पर्न थाल्छन्’ उनी भन्छन्, ‘हिमालबाट चुचुरो नपुगी र्फकनुमा स्वास्थ्य समस्या मूख्य कारण हो ।’

त्यसबाहेक मौसम अर्को कारण हो । कुनै समय प्राकृतिक दुर्घटना तथा अन्य कारणले रुट अवरुद्ध भयो भने पनि आरोहीहरु फिर्ता हुनुपर्छ ।

श्रेष्ठका अनुसार कतिपय आरोही भने आधार शिविर पुग्नासाथ डराइसक्छन् । परिवारसँग सल्लाह गर्छन् र नचढ्ने निर्णय गरी आधार शिविरबाटै फर्किन्छन् । ‘सगरमाथा व्यवसायिक आरोहण हुने हिमाल हो,’ श्रेष्ठले भने, ‘त्यसकारण यहाँ सबै अनुभवी आरोही मात्र आउँछन् भन्ने छैन, पहिलो पटक सगरमाथा चढ्न आउने आरोही डरका कारण पनि नचढी र्फकने गरेका छन् ।’

झण्डै ५० करोड रोयल्टी

यस सिजनमा सरकारले हिमाल आरोहणबाट मात्रै झण्डै ५० करोड रुपैयाँ रोयल्टी संकलन गर्न सफल भएको छ ।

विभागको पछिल्लो तथ्यांक अनुसार ४९ करोड ५९ लाख ८६ हजार रुपैयाँ संकलन भएको छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा सगरमाथाको छ । यस सिजनमा सगरमाथाबाट ४४ करोड २६ लाख रुपैयाँ संकलन भएको छ । अघिल्लो वर्ष सरकारले विभिनन हिमालबाट ४१ करोड २८ लाख रुपैयाँ संकलन गरेको थियो । त्यसमध्ये सगरमाथाबाट मात्र ३६ करोड १४ लाख रुपैयाँ संकलन भएको तथ्यांक रहेको छ । सरकारले विदेशी नागरिकका लागि वसन्त ऋतुमा ११ हजार डलर र नेपालीका लागि ७५ हजार रुपैयाँ शूल्क तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment