Comments Add Comment

कसरी उकास्ने सामुदायिक विद्यालयको गुणस्तर ?

विद्यालयको पढाइको स्तर मापन गर्ने लोकप्रिय माध्यम भनेको एसईई (सेकन्ड्री एजुकेसन इग्जामिनेशन) को नतिजा हो । २०७५ सालमा भएको एसईईको परीक्षाफल भरखरै प्रकाशित भएको छ । हरेक वर्ष एसईईको परिक्षाफल आएपछि सामुदायि विद्यालयको खस्कँदो गुणस्तरको चर्चा हुन्छ । यसपाली पनि भइरहेको छ । यस लेखमा सामुदायिक र नीजि विद्यालयवीचको असमानताका कारणहरु बारेमा विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।

सामुदायिक विद्यालय भन्नासाथ नियमित पढाइ नहुने, शिक्षक नियमित उपस्थित नहुने, उराठ लाग्दो, विद्यार्थी पनि नियमित नहुने भन्ने आम धारणा पाइन्छ । सरकारी सुविधाका लागि विद्यार्थीको गलत विवरण पठाउने थलोको रुपमा पनि यसलाई उद्वृत गरिन्छ । पूर्वधारको अभाव रहेको र एसइइ परीक्षाको नतिजा कमजोर आउने भनेर पनि चिनिन्छ ।

सत्तरी प्रतिशतभन्दा बढी विद्यार्थी पढ्ने सामुदायिक विद्यालयलाई विकृतीले कसरी गिजोलेको छ भन्ने सन्दर्भमा एक कहावतबाट शुरु गरौं । निरीक्षक विद्यालय निरीक्षण गर्ने क्रममा गाउँको एउटा विद्यालयमा पुग्छन् । कक्षामा अहिलेको प्रधानमन्‌त्रीको नाम के हो भन्दै विद्यार्थीलाई प्रश्न गर्छन् । तर विद्यार्थीबाट जवाफ आउँदैन । सबै चुपचाप बस्छन् । यती पनि कसैलाई आउँदैन ? भन्दै निरीक्षक कुर्लिन्छन् ।

त्यसपछि एक विद्यार्थी उठेर भन्छन्, ‘हामी स्कूलमा पढ्ने होइन, खेतबारीमा काम गर्नुपर्छ । हेड सरले निरीक्षक आउँदैछन् तिमिहरु सबै स्कूल आउनुपर्छ भन्दै खबर पठाउनुभयो । बाआमाले ल आज स्कूल जाओ न त भन्नुभयो । अनि हामी आएका हौं ।’

निरीक्षक रिसाउँदै शिक्षकलाई हकार्दछन् । खेताला विद्यार्थी ल्याएर राख्ने भन्दै कक्षाका शिक्षकसँग उनी आक्रोश पोख्छन् । तर, शिक्षक भन्छन्– ‘असली शिक्षक त मेरो मामा हो । मलाई कक्षा हेर भन्दै आज उहाँ शिक्षक संघको धर्नामा जिल्ला सदरमुकाम जानु भा’को छ ।’

कृष्णप्रसाद सुवेदी

निरीक्षक छक्क पर्दै प्रधानअध्यापकलाई भन्छन्, ‘के हो यस्तो बेथिति ?’ प्रधानाध्यापक हत्तनपत्त हात जोड्दै माफी माग्दछन् । एक पल्टलाई गल्ती भयो । आज कोही शिक्षक धर्नामा त कोही दलको कार्यक्रममा गएका छन् । विद्यालय बन्दै गर्नु भएन । त्यसैले अरूको सहयोग लिएको । बरू यो ५ हजार हजूरलाई टक्र्याउँछु भन्दै निरीक्षकलाई दिन्छन् ।

नोट समात्दै निरिक्षक भन्छन्, ‘ल त अहिलेलाई भै गो । पाँच हजारले म त मानुँला । तर सक्कली निरीक्षक आएको भए यतीले मान्ने थिएनन् नि ! असलीमा म विद्यार्थी युनियनको नेता हुँ । मन्त्रीज्यूले मलाई विद्यालय घुमेर आइज भनेर पठाउनुभएको हो ।’

त्यसपछि प्रअको जवाफ आउँछ, ‘म पनि कहाँ असली हेडमास्टर हुँ र । हेडमास्टर त मेरो काका हो । आज शिक्षक संंगठनको भेलामा जानु भएको छ ।’

त्यसपछि उनले थपे, ‘यति सारा कुरा नक्कली हुँदा नोटचाहिँ सक्कली हुन्छ ? मैले दिएको पैसा पनि नक्कली हो । सक्कली केवल विद्यालय भवन होला । बाँकी सबै नक्कली । सक्कली न विद्यार्थी, न शिक्षक, न हेड मास्टर न त निरिक्षक नै !’

यो एउटा कहावत भए पनि यथार्थसँग धेरै नजिक छ ।

अब एसइइको नतिजाको विश्लेषण गरौं । विक्रम संवत २०७५ सालको एसइइमा ४,५९,२७५ विद्यार्थीले भाग लिएका थिए । यसमध्ये सामुदायिक विद्यालयका विद्यार्थीको संख्या ३ लाख २५ हजार ३३० (७१ प्रतिशत) थियो भने नीजि विद्यालयबाट १ लाख ३३ हजार ९४५ (२९ प्रतिशत) विद्यार्थी थिए ।

सबैभन्दा माथिल्लो जिपिए समूह ३.६० देखी ४.०० ल्याएका १७ हजार ५८० मध्ये सामुदायिक र नीजि विद्यालयमा क्रमशः १६ र ८४ प्रतिशत छन् । जिपिए समूह ३.२० देखी ३.६० ल्याउने ५१ हजार १३७ मध्ये सामुदायिक विद्यालयमा २२ र नीजि विद्यालयमा ७८ प्रतिशत छ । तलको चित्रमा नीजि विद्यालयको जिपिए रातो र सामुदायिक विद्यालयको हरियो रङ्गमा देखाइएको छ ।

अर्को पाटोबाट तथ्याङ्ककको विश्लेषण गरौं । सबैभन्दा कम जिपिए समूहमा ०.८० देखी १.२० ल्याएका जम्मा ४ हजार ४२९ विद्यार्थीमध्ये सामुदायिक विद्यालयमा ९७ र निजी विद्यालयमा ३ प्रतिशत छ । त्यस्तै पुच्छरभन्दा अलिक माथितिरको जिपिए १.२० देखी १.६० भन्दा कम समूहमा पर्ने ४३ हजार ८४१ विद्यार्थीमध्ये ९७ र ३ प्रतिशत क्रमशः सामुदायिक र नीजि विद्यालयका छन् । जिपिए समूह १.६० देखी २.०० ल्याउने जम्मा ९५ हजार ३०७ विद्यार्थीमध्ये सामुदायिक र नीजि विद्यालयका क्रमशः ५ र ९५ प्रतिशत रहेको छ । जिपिए समूह २.०० देखी २.४० ल्याउने ९८ हजार २०७ मध्ये ८९ प्रतिशत सामुदायिक विद्यालयका र ११ प्रतिशत नीजि विद्यालयका छन् ।
एसइइको परीक्षफललाई आधार मान्ने हो भने नीजि विद्यालयको शैक्षिक गुणस्तर सामुदायिक विद्यालयको भन्दा राम्रो देखिन्छ । जति जिपिएको ग्रेडिङ्ग बढ्दै जान्छ नीजि विद्यालयको उच्च जिपिए ल्याउने संख्या बढ्दै गएको देखिन्छ । सामुदायिक विद्यालयको सवालमा जति जिपिए घट्दै जान्छ विद्यार्थीको संख्या त्यती नै बढ्दै जान्छ । नीजि र सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरमा किन असमानता छ त ?

एसइइमा ल्याएको नतिजालाई हेर्ने हो भने नीजि विद्यालयका विद्यार्थीको लागि नेपालका सबै उत्कृष्ट शिक्षा प्रदान गर्न कहलाइएका बिद्यालयहरु स्वागतका लागि लालायित हुन्छन् भने सामुदायिक विद्यालयका विद्यार्थीको लागि पिठ फर्काउने अवस्था छ । नीजि विद्यालयले एसइइमा किन राम्रो गर्‍यो भने पढाइ राम्रो छ । महङ्गो फी तिर्नुपर्दछ । अभिभावकले घरमा छोराछोरीले पढे–पढेनन् हेर्छन् । सामुदायिक विद्यालय भनेका गरीब तथा पछाडी पारिएका समुदायका लागि हो भने नीजि स्कूल हुने–खानेका बालबालिकाको लागि हो भन्ने सोच व्यापक छ । विद्यालयको पढाइको स्तर राम्रो कसरी हुन्छ भन्ने सन्दर्भमा विद्यालयमा पढ्ने बालबालिका, शिक्षक, अभिभावक र सरकार जिम्मेवार छन् ।

विद्यालयमा भर्ना हुन जाने विद्यार्थीहरूमा नीजि विद्यालयमा जाने ज्ञानी, चलाख, बुद्धिमान हुने र सामुदायिक विद्यालयमा जाने बालबालिका लद्धु, मुर्ख हुने विल्कुलै हैन । बरू मेरो अनुभवमा सामुदायिक विद्यालयमा जाने बालबालिकाको रेजिलेन्स क्षमता शहरी क्षेत्रका नीजि विद्यालयमा जाने बालबालिकाको भन्दा राम्रो हुन्छ । संक्षेपमा भन्ने हो भने नीजि र सामुदायिकमा पढ्न जाने बाबालिकाको क्षमता उस्तै हुन्छ । शिक्षकले पाउने सेवा सुविधा नीजिमा भन्दा सामुदायिक विद्यालयमा राम्रो मानिन्छ । तर दश वर्षको अवधिमा नीजि विद्यालयमा पढ्ने बालबालिकाको स्तर सामुदायिक विद्यालयमा पढेकाको भन्दा अब्बल किन हुन्छ या मानिन्छ ? यसका मुलभूत कारणहरु निम्न छन्:

नीति–नियममा अपनत्वको अभावः नीति–नियम केन्द्रमा बनाइन्छ । उदाहरणको लागि सामुदायिक विद्यालयको हकमा बिद्यालयलाई समुदायमा हस्तान्तरण गर्न बनाइएको नीति–नियम केन्द्रमा बनाइयो । यसका मुख्य सरोकारवाला तथा अभिभावकसँग यस बारेमा कुनै विचार विमर्ष गरिएन । सरकारले विद्यालय चलाउन नसक्ने भएकाले समुदायलाई हस्तान्तरण गर्दैछ भन्ने हल्ला चल्यो । स्थानिय तहमा श्रोत–साधनको जोहो कसरी हुन्छ ? शिक्षक–शिक्षिकाको सहज व्यवस्थापन कसरी गर्ने हो र कोसँग उत्तरदायी बनाउने हो भन्ने सन्दर्भमा जति बहस गरिनु पथ्र्यो त्यो हुन सकेन । बरु पढेलेखेका शिक्षकले अनपढ गाउँलेको मातहतमा वस्नुपर्ने भयो भन्ने नकारात्मक सन्देश प्रवाह भयो ।

विषयगत गुणस्तरिय शिक्षकको अभावः धेरै सामुदायिकविद्यालयमाविषयगत गुणस्तरिय शिक्षकको अभाव एउटा टड्कारो समस्याको रुपमा रहेको छ ।

विषयगत दक्षता भएका शिक्षकहरुअहिले पनि धेरै सामुदायिक विद्यालयमा छैनन् । अप्ठ्यारा मानिएका विषयवस्तु जस्तै अंग्रेजी, विज्ञान तथा गणित पढाउने शिक्षकको अभावका कारण सामुदायिक विद्यालयका धेरै विद्यार्थीहरुको यी विषमा जीपीए अत्यन्त कम हुने गर्दछ ।

पेशामा इमान्दारिताको अभावः नेपालको शिक्षा क्षेत्रलाई दलगत राजनीतिले गिजोलेको छ । स्थायी जागिर भएका शिक्षकको जागिर स्वर्गका राजा इन्द्र आए पनि हटाउन सक्दैन भन्ने मान्यता छ । विद्यालयमा पढाउनु पर्दैन, दलगत राजनीतिमा सक्रिय भए नेताको नजिक हुन सकिन्छ भन्ने धेरैले सोच्छन् ।

विद्यालयमा अनियमितताः स्थाई शिक्षक विद्यालयमा अनुपस्थित हुने प्रवृत्ति अत्याधिक छ । कतिपय विद्यालयमा खेतला मास्टरले पढाएको भनेर सञ्चार माध्यममा बग्रेल्ती समाचार नआएका हैनन् । तर यस्ता शिक्षकलाई के कार्यबाही भो भनेर कहिल्यै सुन्नमा आएको पाइँदैन ।

शिक्षकको राजनीतिकरणः सामुदायिक विद्यालयका शिक्षकको दलगत राजनीतिमा हुने संलग्नता सबैभन्दा गम्भिर समस्याको रुपमा रहेको छ । दलगत राजनीतिमा सहभागी भए विद्यालयमा नियमित उपस्थित नहुँदा पनि चल्छ । अर्को शब्दमा शिक्षकले व्यापार, व्यवसाय तथा राजनीति लगायत सबै काम दतचित्त भएर गर्दछन् तर पढाउने काम झारो टार्ने मात्र गर्दछन् । राजनीतिक दलको सदस्य नभइ असल शिक्षक टिक्न नसक्ने अवस्था विद्यमान छ ।

अदक्ष विद्यालय व्यवस्थापन समिति : सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नको लागि गठन गरिने विद्यालय व्यवस्थापन समितिको चयन गर्दा गोली चल्नु भनेको सामान्य जस्तो भएको छ । दलबल सहित विद्यालयको व्यवस्थापन समितिमा चुनिनु विद्यालयमा सुधार ल्याउन हैन, विद्यालयको श्रोत–साधनको कसरी दुरुप्रयोग गर्न सकिन्छ भनेर हो । राजनीतिक दलले कहिल्यै पनि व्यवस्थापन समितिमा राम्रालाई चुन्ने होइन, हाम्रालाई चुन्ने आम प्रचलन छ । विद्यालय व्यवस्थापन समिति मालिक र शिक्षक उसको गुलाम भन्ने मान्यता छ ।

शिक्षक र समाजको सम्बन्धः शिक्षक भनेको जल्दै गरेको मैनको शिखाहो । आफू जल्दै अरुलाई उज्यालो दिने कार्य शिक्षकले गर्दछन् । सामाजिक वेथितिको बिरुद्धमा शिक्षक उभिन सक्नुपर्दछ । यसरी उभिंदा रुढिग्रस्त समाज शिक्षकको विरुद्धमा हुन सक्छ । समाजले यस्ता शिक्षकलाई स्विकार नगर्न पनि सक्छ । असल शिक्षक जसले पाठ घोक्न हैन जीवन र जगतको बारेमा सिकाउन खोज्दछ, उनीहरु परिवर्तनका वाहक हुन्छन् । त्यस्ता शिक्षक समाजको अगुवाको रोजाइमा पर्दैनन् । र कसरी पाखा लगाउने भन्ने धाउन्नमा लाग्दछन् ।

शिक्षक पेशाप्रतिको लघुताभाषः शिक्षक पेशा रोजाइको पेशा बन्न सकेको छैन । कहीँ कतै विक्न नसकेर शिक्षक भएको भन्ने बुझाई पाइन्छ । शिक्षक स्वयंमा केही गर्न सकिएन र शिक्षक भइयो भन्ने सोच हुन्छ । शिक्षकपेशालाई मर्यादित बनाउन सरकारले ठोस पहल गर्न ढिला भैसक्यो ।

सुधार्न के गर्ने ?

विद्यालयलाई दलगत राजनीतिभन्दा पर राख्न सक्नुपर्‍यो । शिक्षकका राजनीतिक संगठन तूरुन्त बन्द गर्नु पर्‍यो । भौतिक पूर्वधार र शिक्षकको क्षमता अभिबृद्धीका लागी ध्यान पुर्‍याउनु पर्‍यो । सामुदायिक विद्यालय सरकारको प्रमुख प्राथमिकतामा पर्नुपर्दछ । तर कुनै सरकारले पनि शिक्षालाई प्राथमिकतामा राखेको पाइदैन । उदाहरणको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर बालुवामा पानी हाल्न पहेंला टाउके खटाउनुभन्दा प्रधानमन्त्री शिक्षा कार्यक्रम भनेर त्यो बजेट विद्यालयमा रकमान्तर गरेको भए अर्थ राख्ने थियो ।

शिक्षा नीतिमा आमूल परिवर्तनको खाँचो छ । भौतिक समृद्धि मात्र मानव जीवन सुखी र सम्बृद्ध हुन सक्दैन । मानवता, करुणा, प्रेरणा, क्षमा सिकाउन सक्ने शिक्षाआजको आवश्यकता हो । शिक्षानीति प्रतिस्पर्धा होइन, करूणा ल्याउने हुनुपर्दछ । असहिष्णुता, घृणा होइन, सहिष्णुता, प्रेम, सहानुभूति र प्रोत्साहन प्रस्फूटन हुने वातावरण बनाउने शिक्षानीति हुनुपर्दछ । सहअस्तित्वको अंकूरण गराउने शिक्षानीति हुनु पर्दछ । सूचना होइन ज्ञान र विवेकले प्रोत्साहन पाउने हुनुपर्दछ । सृजनात्मक सोच्न, मनन् गर्न प्रेरित र्गेन शिक्षानीति हुुनुपर्दछ । यही अनुरुप शिक्षकलाई तयार गर्नुपर्दछ ।

देशको समृद्धि शिक्षामा गरिने लगानीमा निर्भर गर्दछ । सरकारको प्रमुख प्राथमिकताको क्षेत्र शिक्षा हुनुपर्दछ । एउटा हालसालको घटना । जर्मनमा डाक्टर र इन्जिनियर समूह चान्सलर राष्ट्रपति अन्गेला म्याकरलाई भेट्दै शिक्षक सरह सेवा सुविधा बढाउन माग गरेका थिए । उनले जवाफ दिएकी थिइन्, ‘शिक्षक, जसले तपाईंहरूलाई पढाएर डाक्टर र इन्जिनियर बनाए, उनीहरुसरह तपाईहरुको सेवा सुविधा हुनुपर्दछ भनेर म सोच्न पनि सक्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment