Comments Add Comment

तपाईंको शरीरको मूल्य कति ?

आउनुहोस्, एकछिन हाम्रो शरीरको मोलमोलाई गरौं । यदि तपाईंले आफ्नो शरीरलाई विक्री गर्नुपर्‍यो भने मूल्य कति राख्नुहुन्छ ? १० लाख, ५० लाख, एक करोड, पाँच करोड, अर्ब । कति ?

तपाईं रनभुल्लमा पर्नुभयो सायद । शरीरको कुनै अंग छुट्याऔं । तपाईंले आफ्नो आँखाको मूल्य कति राख्नुहुन्छ ? हातको ? खुट्टाको ?

मानौं तपाईंको कलेजो बिक्री गर्नुपर्ने भयो, फोक्सो बिक्री गर्नुपर्ने भयो, कतिमा बेच्नुहुन्छ ? यी अंगको कुरा छाडौं । के तपाईं आफ्नो हातको एउटा औंला बेच्न तयार हुनुहुन्छ ?

निश्चय पनि तपाईंको बोली बन्द हुन्छ । अर्थात नाजवाफ हुनुहुनेछ । किन ?

किनभने तपाईंले अहिलेसम्म आफ्नो शरीरको मोल कति होला भनेर सोच्नुभएन । यो कुनै बजारमा राखिने बस्तु पनि होइन, जसको निश्चित मूल्य हुन्छ । यद्यपी हामीले शरीर बेच्नु परेमा यसलाई कति मूल्य राख्न सकिएला भनेर अनुमान भने गर्न सक्छौं । जबकी अनुमान मात्र गर्दा पनि हामी शरीरको मूल्य तोक्न सक्दैनौं ।

यसको अर्थ हो, शरीर अनमोल छ ।

तपाईंले हातमा लगाएको घडीको मूल्य छ, पन्ध्र सय, पाँच हजार वा बाह्र हजार । तपाईंले चढ्ने मोटरसाइकलको निश्चित बजार मूल्य छ, डेढ लाख, दुई लाख वा चार लाख । तपाईंले आफ्नो जग्गाको मूल्य पनि तोक्नुभएकै छ, प्रति आना सात लाख, १० लाख  वा १५ लाख । तपाईंको घरको बजार मूल्य पनि तय भइसकेकै छ, पचास लाख, एक करोड वा दुई करोड ।

तपाईंसँग भएका ति सबै भौतिक सम्पतिको निश्चित बजार मूल्य छ । ति सबैकुरा तपाईं किन्न र बेच्न सक्नुहुन्छ ।

तर, तपाईंको शरीर अनमोल छ । लाख, करोड, अर्ब, खर्ब जति मूल्य चुकाएपनि तपाईं आफ्नो शरीर बेच्न तयार हुनुहुन्न । किनभने शरीर नै नभएपछि तपाईंलाई जतिसुकै धनदौलत पनि आवश्यक हुँदैन । अबौर्ं रुपैयाँ होस् वा आलिसान महल, जतिसुकै घर-घडेरी होस् वा विलासी गाडी । ति सबै व्यर्थ हुनेछ, जब तपाईंको शरीर नै हुनेछैन ।

अब एकपटक सोच्नुहोस् त, अहिले तपाईंले के कुरालाई बढी महत्व दिइरहनुभएको छ ?

धनदौलत, जग्गा-जमिन, मोटर-कार, घर-घडेरीलाई । निश्चय पनि हामीलाई धन-सम्पति चाहिन्छ । हामी भव्य घरमा बस्न चाहन्छौं, विलासी गाडी चढ्न चाहन्छौं, यथेष्ठ जग्गा जमिन जोड्न चाहन्छौं । किनभने हामी दुःख, अभाव, कष्टसँग भयभित छौं । यस्तो अवस्था झेल्न नपरोस् भनेर हामी सम्पति आर्जन गर्न चाहन्छौं । ऐश-आरम एवं सुविधाको खोजीमा पनि हामी धन-दौलतको पछि लाग्छौं ।

धन सम्पति आर्जन गर्नु नराम्रो होइन । मूर्खता होइन । मूर्खता चाहि के हो भने, धन दौलतकै खातिर आफ्नो शरीर मूल्य गुमाउनु । अर्थात धन-दौलतको लागि हामी यसरी चक्कर लगाइरहेका हुन्छौं कि शरीरको कतिपनि ख्याल राखिरहेका हुँदैनौं ।

जस्तो हाम्रो दिनचर्या र सोंच-चिन्तन कस्तो छ ? हेरौं ।

हामी बिहान ६ वा ७ बजे ओछ्यान छाड्छौं । ओछ्यान छाड्नुअघि हाम्रो हातमा मोवाइल हुन्छ । मोवाइलमा हामी फेसबुक चलाइरहेका हुन्छौं वा साथीसँग कुनै कारोवारको वा नाफाघाटाको कुरा गरिरहेका हुन्छौं ।

उठेपछि हामीलाई चियको तलतल लाग्छ । चियासँगै चुरोट पनि । चिया र चुरोट पिइरहँदा पनि हामी साथीभाईसँग कुनै जग्गाको वा कुनै कामधन्दाको कुरा गरिरहेका हुन्छौं । लेनदेनको कुरा गरिरहेका हुन्छौं ।

भान्सामा भात पाकिरहेको छ । तर, घरको भात पर्खेर बस्ने फुर्सद छैन हामीलाई । हामी यति हतारोमा हुन्छौं कि, गाँस टिप्ने फुर्सद मिल्दैन । वा खाना यति हतारमा खान्छौं कि न त्यसको स्वाद थाहा पाउँछौं, न राम्ररी खान्छौं ।

अब दिनभर तपाईं केको चक्कर लगाउनुहुन्छ ? पैसाको, कमाईको ।

कहाँ जग्गा खरिद गर्ने ? कहाँबाट पैसा कमाउने ? के-कसो गरेर पैसा बचाउने ?

साँझ साथीभाईसँग मदिरासहितको जमघट पनि हुनसक्छ । यो जमघटको उदेश्य पनि कतै न कतै तपाईंको कारोबारसँग सम्बन्धित छ ।

राती घर र्फकनुहुन्छ । दिनभरको हिसाब-किताब सोच्दा-सोच्दै तपाईंको निद्रा विथोलिन्छ । कतै मिल्न लागेको काम बिगि्रएको छ, कतै नयाँ काम फेला परेको छ । कति ठाउँमा तपाईंले धोका पाउनुभएको छ । यिनै कुराहरुले तपाईंको मन विथोलिन्छ ।

हात पर्नै लागेको जग्गा फुत्किएको कुराले तपाईं वेचैन हुनुभएको छ । कतै राम्रो आयआर्जन हुने स्रोत फेला पार्नुभएको छ । यो खुसीले पनि तपाईंको मनमा उथलपुथल ल्याएको छ ।

हेर्नुहोस् त, दिनभरमा तपाईं पैसाकै चक्करमा लाग्नुभयो । जे-जति काम गर्नुभयो, जे-जति साथी भेट्नुभयो, जे-जति ठाउँमा पुग्नुभयो, ति सबैमा तपाईं पैसा वा धनसम्पतिसँग जोडिएर पुग्नुभयो ।

के यसबीचमा तपाईंले आफ्नो शरीरको ख्याल राख्नुभयो ? सही समयमा खाने र पिउने गर्नुभयो ? विश्राम गर्नुभयो ? खानेकुराको शुद्धता र पोषणमा चासो राख्नुभयो ? तनाव वा वेचैनीबाट मुक्त रहने प्रयास गर्नुभयो ? खुसी रहने अभ्यास गर्नुभयो ?

संभवत तपाईंले आफैलाई भुल्नुभयो । आफैलाई भुलेर सम्पति अनि सुखको खोजीमा दौडनुभयो । अब भन्नुहोस् त, तपाईंले आफ्नो अनमोल शरीरलाई कति बेवास्ता गरिरहनुभएको छ ?

शरीर अनमोल छ । यो अद्भुत पनि छ । यही शरीर भएर नै हाम्रो अस्तित्व छ । तर, हामी आज आफ्नो शरीरलाई बेवास्ता गर्दै धन-दौलतको पछाडि दौडिरहेका छौं । धन-दौलत अनावश्यक छ भन्ने होइन । तर, प्राथमिकता शरीरलाई दिनुपर्छ । शरीरलाई निरोगी, तन्दुरुस्त राखौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment