Comments Add Comment

कांग्रेसमा बहसः पार्टी ‘नियन्त्रणमुखी’ बनाउने कि खुला ?

२७ असार, काठमाडौं । नेपाली कांग्रेसमा संगठन संरचनालाई लिएर नयाँ बहस सुरु भएको छ, कम्युनिस्टसँग प्रतिस्पर्धा कस्तो पार्टी बनाउने ?

पार्टीमा अराजकता देखिएको निष्कर्षसहित संस्थापन पक्षले अनुशासनमा कडाइ गर्न चाहेको छ, भ्राृत तथा शुभेक्षुक संगठनलाई पार्टीमुख बनाउन खोजेको छ । केन्द्रीय कार्यसमितिमा प्रस्तुत नियमावलीमा पनि त्यस्तै प्रस्ताव छ ।

तर, संस्थापन इतरको पक्षले भने प्रस्तावित व्यवस्थाले पार्टी नियन्त्रणमुखी, ‘मासबेस’बाट ‘क्याडर बेस’ बनाउने चिन्ता व्यक्त गरेका छन् ।

कांग्रेसमा महासमिति बैठकको पूर्वसंध्यामा कस्तो पार्टी बनाउने भन्ने बहस भएको थियो । संस्थापन पक्षले भारतको पश्चिम बंगालमा कम्युनिस्टसँग प्रतिस्पर्धा गर्न त्रिणमुल कांग्रेसले मात्र सकेको भन्दै त्यस्तै संरचनाको वकालत गरेका थिए ।

तर नरहरि आचार्य, प्रदीप गिरी, गगन थापा लगायतले पार्टीलाई अझ खुला बनाउने तर्क अघि सारे । यसबारे बहस भएपनि विधानमा खासै परिर्वतन भएन तर, नियमावली बनाउने क्रममा फेरि यो बहस सुरु भएको छ ।

रमेश लेखक नेतृत्वको समितिले बनाएको नियमावली मस्यौदामा पार्टीको नीति तथा सिद्धान्त विपरित सार्वजनिक रुपमा बोल्न नपाइने, भ्राृत तथा शुभेक्षुक संगठन पार्टीमुखी हुने, सबैले लेबी बुझाउनुपर्ने जस्ता प्रस्ताव गरिएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले यसको विरोध गरेका छन् । लोकतान्त्रिक पार्टीको मूल्य र मान्यता विपरित पार्टीलाई नियन्त्रणमुखी बनाउन खोजेको भन्दै उनीहरुले विरोध गरेका हुन् । नेता प्रकाशमान सिंहले त नियत नै ठीक नभएको टिप्पणी गरेका छन् ।

तर, किशोरसिंह राठोर, शंकर भण्डारी, अत्तहर मुसलमान र अर्जुन जोशीले भने अहिलेको अवस्थामा पार्टी नचल्ने भने अझ कठोर बनाउनुपर्ने मत राखेका छन् ।

नेता जोशीले उदार कार्यशैलीको नाममा अराजकता स्वीकार्य नहुने बताए । उनले भने, कांग्रेसको नीति सिद्धान्त मान्छु भनेर सपथ पनि खाने अनि कांग्रेसलाई भोट पनि नहाल्ने स्वीकार्य हुँदैन । अनुशासनको कारबाही हुनुपर्छ ।’

उनले लेबी भन्ने शब्द प्रयोग गर्दा कांग्रेसको आफ्नो पहिचान गुम्छ कि भन्ने चिन्ता हो भने आर्थिक सहयोग भन्न सकिने तर, पार्टी ब्यापारीहरुको भरपर्नुपर्ने अवस्था अन्त्य गर्न आर्थिक सहयोग जुटाउनुपर्ने बताए ।

अनुशासन कडा गर्ने, आर्थिक सहयोग लिने जस्ता प्रस्तावित व्यवस्थाले पार्टी क्याडर बेस नहुने उनको तर्क छ । जोशीले भने, ‘कम्युनिस्टको विकल्प डेमोक्रेट नै हो, उदार कार्यशैली नै हो तर उदार भन्दैमा जे पनि गर्न पाइन्छ भन्ने होइन ।’

प्रवक्ता विश्वप्रकाश शर्माले भने अहिले भइरहेको बहस पार्टीलाई कम्युनिस्ट जस्तो बनाउने–नबनाउने नभई व्यवस्थित बनाउन भएको बताए ।

बैठक पर्सि फेरि बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment