+
+
Shares

काटिएको आफ्नो खुट्टा चुरोटको बट्टामा !

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३ गते १२:१०

३ साउन, काठमाडौं । चुरोट वा सुर्तीको बट्टामा स्वास्थ्यसम्बन्धी चेतावनीपूर्ण सन्देशयुक्त तस्वीर त हामीले देखेकै छौं । खासगरी चुरोटले फोक्सोमा र सुर्तीले मुखमा क्यान्सर भएको चित्र छापिएको हुन्छ । ताकि धूमपान गर्नेहरुले स्वास्थ्यमा पुर्‍याउने क्षतिबारे जानकारी पाउन् र सेवन नगरुन् ।

यदि यी सन्देशयुक्त तस्वीर तपाईंकै रहेछ भने ? पक्कै तपाईं आश्चर्यमा पर्नु हुन्छ । यस्तै भएको छ, पूर्वी फ्रान्सका ६० वर्षीय एक व्यक्तिलाई । उनले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्वीर देखे ।

धूमपानले पुर्‍याउने क्षतिको चेतावनी दिन चुरोटको बट्टामा काटिएको खुट्टाको तस्वीर प्रयोग गरिएको थियो र तस्वीरसँगै लेखिएको थियो- धूमपानले धमनीमा अवरोध पुर्‍याउँछ ।

गत वर्ष लक्जम्बर्गमा चुरोट किन्दा उनको छोराले आफ्नो बुवाको काटिएको खुट्टाको तस्वीर चुरोटको बट्टामा प्रयोग गरिएको देखे । उनले त्यो चुरोट घरमा ल्याएपछि परिवारका सदस्यहरु चकित परे । किनभने त्यो तस्वीर छाप्न उनीहरुले अनुमति नै दिएका थिएनन् ।

‘मेरो भाइ लक्जम्बर्गबाट घर फर्कनासाथ केही नभनी चुरोटको एउटा बट्टा टेबलमा राख्यो,’ उनकी दिदीले एउटा स्थानीय पत्रिकालाई भनेकी छन्, ‘हामी आश्चर्यमा पर्‍यौं । यो फोटो हाम्रो बुवाको हो ।’

फ्रान्सको मेट्स सहरमा बस्दै आएका ती अल्बानियाली नागरिकले सन् १९९७ मा भएको बन्दुक आक्रमणमा आफ्नो खुट्टा गुमाएका थिए । उनी कुनै कृत्रिम उपकरण जोडेर हिँडडुल गर्ने उपायको खोजीमा एक अस्पतालमा गएका थिए । त्यही अस्पतालमा उनको काटिएको खुट्टाको फोटो खिचिएको थियो । त्यहीँबाट तस्वीर दुरुपयोग भएको अनुमान छ ।

२० वर्षदेखि वैशाखीको सहारामा हिँडडुल गर्दै आएका ती व्यक्तिका वकिलले उक्त तस्वीर कसरी चुरोटको बट्टामा छापियो भन्ने जानकारी अस्पतालसँग मागेका छन् ।

साथै थप जानकारी लिन युरोपेली आयोगमा सम्पर्क पनि गर्ने उनले बताएका छन् । किनभने खासगरी युरोपेली युनियनले सम्बन्धित व्यक्तिको अनुमति लिएर तस्ता खालका तस्वीर लिन्छ र चुरोट वा सूर्तीको बट्टामा छाप्नका लागि तस्वीर उपलब्ध गराउँछ ।

  • डेली मेलको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?