Comments Add Comment

नेपालीको पुड्कोपनमा स्थानीय खाद्यान्न पनि दोषी

८ साउन, काठमाडौं । नेपाली बालबालिकाको पोषण अवस्थाबारे बेलायती अखबार ‘द गार्डियन’मा एक समाचार प्रकाशित भएसँगै गत हप्तादेखि यो विषय अन्तर्राष्ट्रिय जगतमा चर्चामा छ ।

हालसालैको एक अनुसन्धानलाई उद्धृत गर्दै प्रकाशित उक्त समाचार अनुसार नेपाली बालबालिकाहरूले एक चौथाइ क्यालोरी ‘पत्रु खाना’  (जङ्क फुड)बाट प्राप्त गर्दछन् ।
धेरै जङ्क फुड खाँदा बालबालिकाहरू कुपोषित र होचा हुने जोखिम बढ्ने कुरा अध्ययनबाट पुष्टि भएको समाचारमा लेखिएको छ ।

अध्ययनको निष्कर्ष मनन गर्ने हो भने अभिभावकले आफ्ना बालबालिकालाई बजारमा प्याकेटमा पाइने खाजाबाट बिस्तारै टाढा लैजाँदै स्थानीय स्तरमा उत्पादित खानाको स्वाद चखाउनुपर्छ । तर, हालैको अर्काे अध्ययनको निष्कर्षअनुसार त्यसो गर्नु मात्र बालबालिकालाई होचो हुनबाट जोगाउनका लागि पर्याप्त छैन ।

तीन वर्षअगाडि सरकारले गरेको राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार पाँच वर्षमुनिका एक तिहाइभन्दा बढी बालबालिकाहरू आफ्नो उमेरको अनुपातमा होचा छन् । यसका पछाडि विभिन्न तहमा विभिन्न कारणहरू छन् । चुलोको धुवाँदेखि लिएर माटोमै रहेका खोटहरूले बालबालिकालाई अग्लो हुनबाट रोक्ने गरेका समाचारहरू प्रकाशित भएका छन् ।

यसै सिलसिलामा अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरूको एक समूहले गरेको हालसालैको अध्ययन अनुसार स्थानीय खाद्यान्नमा निर्भरताले पनि नेपाली बालबालिकालाई संसारका अन्य भागका बालबालिकाजत्तिको अग्लो हुनबाट रोक्छ ।

लिया बेभिस, डेभिड गुरेना र किचन किमले गरेको अध्ययनको निष्कर्ष छ कि नेपाल मात्र नभई समग्र दक्षिण एसियाको माटोमा जिङ्क नामक बालबालिकाको शारीरिक तथा बौद्धिक विकासका लागि आवश्यक पोषक तत्व पर्याप्त छैन । पर्याप्त जिङ्क नभएको माटोमा उब्जिएका अन्नबालीमा पनि मानिसका लागि आवश्यक पर्ने मात्रामा पोषक तत्व नहुने र ती अन्नबाली खाने बालबालिकामा पुड्कोपनको जोखिम बढ्ने उनीहरूको दाबी छ ।

समस्या

“नेपालमा भएका साना स्तरका अध्ययनहरूले देखाए अनुसार यहाँका २०देखि ५० प्रतिशत कृषियोग्य जमिनमा पर्यापत जिङ्क छैन । धेरै मात्रामा चामल उत्पादन हुने तराई क्षेत्रमा जिङ्कको अभाव अझ बढी छ,” बेभिस, गुरेना र किमको प्रतिवेदनमा भनिएको छ । उनीहरूका अनुसार जिङ्क अभावग्रस्त क्षेत्रमा उत्पादित अन्नबालीमा पनि पर्याप्त जिङ्क हुँदैन । बिरुवाहरू होचा हुन्छन् र तिनमा खाद्य पदार्थको मात्रा कम हुन्छ । बढ्दो उमेरका बालबालिकाले ती अन्नबाली खाए भने उनीहरूमा पनि त्यो पुड्कोपन सर्छ ।

अमेरिकाको ओहायो स्टेट विश्वविद्यालयको कृषि, वातावरण तथा विकास अर्थशास्त्र विभागकी बेभिसका अनुसार अध्ययनले पहिल्यै उपलब्ध दुई किसिमका तथ्याङ्कबीच सम्बन्ध स्थापना गरी तिनलाई विश्लेषण गर्दै निष्कर्ष निकालेको छ ।

अर्थात्, अध्ययनमा नेपाली माटोमा रहेको जिङ्क अभाव र नेपाली बालबालिकामा रहेको जिङ्क अभावबीच तुलना गर्दै माटोको जिङ्क अभावले गर्दा बालबालिकामा जिङ्क अभाव रहेको हुन सक्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

बालबालिकामा रहेको जिङ्क अभावको एक मात्र र प्रत्यक्ष कारण माटोमा रहेको जिङ्क अभाव हो भनेर दाबी गरिएको भने छैन । खालि दुई तथ्याङ्कबीचको समानतालाई विश्लेषण गर्न खोजिएको छ ।

“हामीसँग राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क थियो । त्यमा नेपाली बालबालिका र महिलामा उल्लेख्य मात्रामा पुड्कोपन र रक्तअल्पताको समस्या रहेको देखाइएको थियो,” उनी बताउँछिन्, “अर्कातिर हामीलाई पुड्कोपन र रक्तअल्पता जिङ्क अभावका परिणाम हुन् भन्ने पनि थाहा थियो । जिङ्क अभाव बढी भएका क्षेत्रमा पुड्कोपन र रक्तअल्पताको अनुपात पनि संसारभर बढी नै पाइएको छ ।”

बेभिसका अनुसार जिङ्क अभाव उच्च भएका क्षेत्रमा पुड्कोपन भएका बालबालिकाको अनुपात, अभाव कम भएका क्षेत्रभन्दा पाँच प्रतिशतले बढी छ ।

नेपाल सरकारसँगको समन्वयमा एक अन्तर्राष्ट्रिय अध्ययन संस्थाले सञ्चालन गरेको नेपाल बिउबिजन तथा मलखाँद परियोजनाका लागि नेपालमै बसेर काम गर्ने गुरेनाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया र बाँके लगायतका पश्चिम तराईका जिल्लाहरूमा जिङ्क अभाव अझ डरलाग्दो छ । “यो क्षेत्र देशकै गरिब क्षेत्रमध्ये एक हो ।जिङ्क अभाव यहीँ सबभन्दा धेरै छ । पुड्कोपनको समस्या पनि सबभन्दा धेरै यहीँ छ ।”

हुन त सुदूर र मध्यपश्चिमका पहाडी र हिमाली जिल्लामा पनि यो समस्या उत्तिकै भयावह हुन सक्ने गुरेनाको अनुमान छ । तर त्यो दाबी पुष्टि गर्नका लागि उनीसँग प्रमाणित तथ्याङ्क छैन । सरकारी निकायबाट आगामी वर्षतिर प्राप्त हुने तथ्याङ्कबाट आफ्नो दाबी पुष्टि हुने उनी बताउँछन् ।

नयाँ-नयाँ तथ्याङ्क प्राप्त भएसँगै आफ्नो अध्ययनको निष्कर्षलाई पनि अद्यावधिक गर्ने टोलीको योजना छ ।

खाद्यान्नका लागि बजारमा निर्भर जनसङ्ख्याभन्दा स्थानीय स्तरमा उत्पादित खाद्यान्नमा निर्भर जनसङ्ख्यामा माटोको जिङ्क अभाव र मानिसमा रहेको जिङ्क अभावबीचको सम्बन्ध अझ बलियोसँग देखिने अध्येताहरूको भनाइ छ । अर्कातर्फ, जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणकै तथ्याङ्क पत्याउने हो भने पनि ग्रामीण क्षेत्रमा पुड्कोपनको अनुपात सहरी क्षेत्रको भन्दा उल्लेख्य मात्रामा बढी छ । भनिरहनु नपर्ला ग्रामीण जनसङ्ख्या स्थानीय बालीनालीमा आश्रित छ भने सहरी जनसङ्ख्या बजारमा ।

तर यसो भन्दैमा, बजारमा पाइने जङ्क फुड लगायतका खाने कुरा खानेहरूमा जिङ्क अभाव कम हुने रहेछ भनेर बुझ्नु भने गलत हुने कुरामा उनीहरू जोड दिन्छन् । बरु उल्टै बजारमा आश्रित जनसङ्ख्या सधैँ अस्पष्ट रहन्छ : आफ्नो खाना कहाँबाट आएको हो अनि त्यो जिङ्क अभाव भएको क्षेत्र हो वा होइन भन्ने विषयमा उनीहरूलाई जानकारी हुँदैन ।

“माटोमा जिङ्कको मात्रा कम रहेको क्षेत्रमा रहेका स्थानीय बालीमा आश्रित जनसङ्ख्या बढ्दो जोखिममा रहने नै भए,” बेभिस बताउँछिन्, “तर माटोमा जिङ्कको मात्रा उच्च भएको क्षेत्रमा बसोबास गर्नेहरू त अझ फाइदामा भए नि त । हामीले भन्न खोजेको यति हो कि माटोसँग उनीहरूको नाता अझ महत्वपूर्ण हुन्छ ।”

समाधान

यस्तो समस्या नेपालजस्ता विकासशील देशहरूको मात्र होइन । विगतमा केही विकसित देशहरूमा पनि यस्ता समस्या देखिएकै कारण उनीहरूले समाधानका उपाय पनि पत्ता लगाएका छन् । उदाहरणका लागि, सन् १९८०को दशमा फिनल्यान्डका धेरै मानिसमा सेलेनियम नामको पोाषकतत्व कम रहेको पाइयो । सरकारले मलखाँदमा सेलेनियम मिसाएर वितरण गर्‍यो ।

नेपालमा पनि जिङ्क अभावको समस्या समाधानका लागि यस्तै उपाय अपनाउन सकिने गुरेनाको भनाइ छ । जिङ्कको हकमा यस्तो उपाय सेलेनियमको भन्दा अझ प्रभावकारी हुन सक्छ ।

“जिङ्क त सेलेनियमजस्तो पनि होइन । मान्छेलाई मात्र नभएर माटो र बालीनालीलाई पनि यो तत्व आवश्यक हुन्छ । तसर्थ, बृहत् स्तरमा मलखाँद मार्फत् माटोमा जिङ्क मिसाउँदा अन्नपात तथा गेडागुडीको उत्पादन बढ्छ । तिनमा जिङ्कको मात्रा पनि बढ्छ र अन्ततः ती उत्पादन उपभोग गर्ने मानिसमा जिङ्कको मात्रा बढ्छ,” प्रतिवेदनमा लेखिएको छ ।

“जिङ्क ट्याब्लेट तथा जिङ्कको मात्रा बढाइएका अन्य खाने कुरा राम्रै हुन्छन् । तर, तिनको वितरण महँगो र कठिन हुन जान्छ । यस्तो प्रयास दिगो पनि हुँदैन,” गुनेरा भन्छन्, “माटोलाई पनि जिङ्क चाहिने तथ्यलाई यो उपायले सम्बोधन गर्दैन । जिङ्क नपाउँदा बिरुवाहरू राम्ररी उमि्रँदैनन् भन्ने कुरा हामीले भुल्नुहुँदैन ।”

त्यसैले मलखाँद नै विद्यमान समस्या समाधानको सर्वोत्तम विकल्प रहेको कुरामा उनी जोड दिन्छन् । प्राङ्गारिक तथा अप्राङगारिक/रसायनिक दुबै खालका मलमा जिङ्कलाई मिसाएर माटोमा हाल्न सकिने भएकाले सरकार तथा किसानले आफ्नो रुचि र आवश्यकता अनुसार यो उपाय अपनाउन सक्छन् ।

“जिङ्क सहितका मलखाँदले बिरुवाहरूमा जिङ्कको अभाव नहुने कुरा सुनिश्चित गर्छन् । तिनीहरू राम्रोसँग उब्जन्छन् र बढ्छन् । उत्पादनको मात्रा पनि बढ्छ । ती उत्पादन खाने मानिसमा जिङ्कको मात्रा पनि बढ्छ । यसले एउटा समस्या मात्र नभई समग्र प्रणालीलाई नै सम्बोधन गर्छ ।”

यी विषयहरूबारे आफ्नो परियोजना सरकारसँग निरन्तर सम्पर्कमा रहेको र सम्बन्धित निकायहरू आफ्ना सुझावहरूप्रति सकारात्मक रहेको गुरेना बताउँछन् ।

“नेपालको लागि यो विषय महत्वपूर्ण रहेको कुरामा हामी सहमत छौँ । नेपाली जनताका लागि केही राम्रा परिणाम दिलाउनका लागि भविष्यमा पनि हामीले निरन्तर सहकार्य गर्नुपर्नेछ ।”

गुरेना संलग्न परियोजना आगामी दुई वर्षसम्म जारी रहनेछ । त्यस समयसम्म यो अध्ययन पनि निरन्तर जारी रहने र आफूहरू आफ्ना निष्कर्षलाई अद्यावधिक गर्ने बेभिस बताउँछिन् । नयाँनयाँ तथ्याङ्क उपलब्ध भएसँगै अध्ययनको निष्कर्ष सत्यको अझ नजिक हुने उनको आशा छ ।

“हाम्रो तर्कलाई अझ बलियो बनाउनका लागि हामीले धेरै काम गर्न बाँकी छ । यो त खालि सुरुवात मात्र हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment