Comments Add Comment

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि स्थानीय तहमा सहयोग समिति

८ साउन, चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन चितवनका स्थानीय तहमा सहयोग समिति गठन गर्न थालिएको छ ।

धुर्मस सुन्तली फाउण्डेशनले निर्माण गर्ने रंगशालाका लागि आर्थिक सहयोग जुटाउन जिल्लाका ७ वटै स्थानीय तह र वडावडामा सहयोग समिति गठन गर्ने अभियान थालिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए ।

जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरूङको संयोजकत्वमा ४६ सदस्यीय गाउँपालिकास्तरीय सर्वपक्षीय सहयोग समिति गठन गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष कीर्तिकुमार श्रेष्ठ सहसंयोजक छन् । समितिमा सातवटै वडाका जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, राजनीतिक दल, सहकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायत छन् ।

गाउँपालिका अध्यक्ष गुरुङले समग्र जिल्लाको गौरवका लागि सबै मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताइन् ।

गाउँपालिकाको तर्फबाट समेत रंगशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष गुरुङले जनाइन् ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणको सहयोगका लागि चितवनका सबै स्थानीय तहमा समिति गठन गरिने बताए ।

धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्ष भित्रैं तीन करोड नेपालीले निकै लामो प्रतिक्षा गरेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गरिने बताए ।

गाउँपालिकाका राजनीतिक दल, सङ्घसंस्था, व्यवसायी र स्थानीयवासीले रङ्गशाला निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सहित जिल्ला समन्वय समितिका प्रमुख डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्ऽ बस्नेत, नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र नेपाली कांग्रेसका सभापति जीतनारायण श्रेष्ठलगायतको उपस्थिति थियो ।

यसअघि रङ्गशाला निर्माण गर्न जिल्लामा सर्वपक्षीय पाँच हजार एक सदस्यीय मूल सहयोग समिति गठन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment