Comments Add Comment

नदी किनारमा भेटिएका युवकले गरे अपहरणको नाटक

८ साउन, काठमाडौं । कलंकीको नदी किनारमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएका युवकले अपहरणको नाटक गरेको खुलेको छ ।

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–१ घर भई भक्तपुर लोकन्थली बस्ने २७ वर्षीय मनिष भण्डारी कोटश्वरस्थित मनोहरा खोलामा भेटिएका थिए । तर उनको कसैले अपहरण गरेको नभई आफैं नाटक गरेको पाइएको प्रहरीले जनाएको छ ।

भण्डारी चारदेखि परिवारको सम्पर्कमा थिएनन् । आइतबार विहान ११ः१७ मा श्रीमतीलाई फोन गरेका उनले विरामी भएको र औषधि लिएर कोठातिर जाँदैछु भनेका थिए । लगतै उनले दाइलाई फोन गरेर आफू अपहरणमा परेको बताए ।

परिवारका सदस्यहरु आत्तिएर प्रहरीलाई खबर गरे । प्रहरीको मोबाइल नम्बर लिएर कल गर्दाको लोकेसन ट्रयाक गर्‍यो । कंलकी क्षेत्रबाट फोन गरेको देखियो ।

प्रहरीले खोजी जारी राखेको थियो । उनकै नम्बरबाट दाइलाई एसएमएस आयो, ‘तेरो भाइलाई …. निर्देशनमा अपहरणमा गरेका छौं तर, मार्न चाहिँ मार्दैनौं ।’

परिवारले यो सूचना प्रहरीलाई पुर्‍याए । लोकसेनबारे गलत सूचना दिनु, अपहरण गरेका छौं तर मार्न चाहिँ मार्दैनौं भनेर एसएमएस आउनुले प्रहरीले यसलाई शंकास्पद रुपमा हेरेको थियो । उनको फोनको लोकेसन भैरहवा देखियो ।

प्रहरीले परिवारलाई खबर गर्‍यो । परिवारका सदस्यहरु होटल अशोका पुगे तर, भण्डारी भेटिएनन् । सीसीटीभी फुटेज चेक गर्दा उनी होटलमा बसेको भने देखियो ।

अपहरणमा परेको चाहिँ होइन रहेछ भनेर परिवार ढुक्क भयो । बुधबार दिउँसो एकाएक कोटेश्वरस्थित मनोहरा खोला किनारमा एक व्यक्तिले गुहार माग्दै गरेको सुनियो ।

स्थानीयले खबर गरेपछि प्रहरीलाई पुग्दा हात खुट्टा बाँधिएको अवस्थामा तिनी भण्डारी भेटिए । उनले आफैंले खुट्टा डोरीले बाँध्नुका साथै एउटा हातमा कसलो गरी कसेका थिए तर, दुबै हात पूर्ण रुपमा नबाधिएको पाइएको छ ।

भण्डारीमा मानसिक समस्या देखिएकाले परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment