Comments Add Comment

आजका पत्रपत्रिका : १८ प्रतिशत बढाइयो उच्चपदस्थको तलब

१८ साउन, काठमाडौं । कारबाहीमा परेका न्यायाधीशको निर्णय सदर गर्दै सर्वोच्चले ३३ किलो सुन प्रकरणमा गरेको फैसला आजका अधिकांश दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । यसबाहेकका सामग्रीमा पनि विविधता छ । कुनैले पृथ्वीको बढ्दो तापक्रमबारे प्राथमिकतापूर्वक छापेका छन् भने केहीको नजर मेलम्ची खानेपानी आयोजनाको ढिलासुस्ती, उच्चपदस्थको तलब वृद्धि, खर्चिलो न्यायलगायत विषयमाथि परेको छ ।

कान्तिपुरले ‘मेलम्चीलाई बेवास्ता’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको ८ महिना बिते पनि यसलाई सञ्चालनमा ल्याउनेबारे सरोकारवाला गम्भीर नदेखिएको समाचारको सार छ ।

कान्तिपुर लेख्छ– मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको ८ महिना भयो । करिब ९७ प्रतिशत काम सकिएको राष्ट्रिय गौरवको यो आयोजना पूरा भए संघीय राजधानीका लाखौं बासिन्दा पिउने पानीको दैनिक समस्याबाट मुक्त हुने थिए । तर उपत्यकावासीलाई यो समस्याबाट छुटकारा दिलाउने जिम्मा पाएको खानेपानी मन्त्रालयको नेतृत्व लिइरहेकी मन्त्री बिना मगरको प्राथमिकता भने मेलम्चीमा भन्दा अन्तै बढी भएजस्तो देखिएको छ ।

उच्चपदस्थको तलब वृद्धिसम्बन्धी खबर पनि कान्तिपुरमा पढ्न सकिन्छ । समाचार अनुसार सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १ देखि लागू हुनेगरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको समाचारमा उल्लेख छ ।

यसअघि जेठ १५ मा ल्याइएको बजेटमा राष्ट्रसेवक (कर्मचारी) को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायब सुब्बासम्मको २० र अधिकृतदेखि मुख्य सचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरेको थियो । त्यतिबेला विशिष्ट पदाधिकारीको तलबबारे कुनै निर्णय नगरेको सरकारले अहिले मन्त्रिपरिषद् निर्णय गर्दै वृद्धि गरेको छ । कान्तिपुरका अनुसार, यसबाट राज्यकोषमा वार्षिक १० करोड रुपैयाँभन्दा बढी व्ययभार थपिएको छ ।

अन्नपूर्णले ‘खर्चिलो न्याय’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । खर्चिलो र झण्झटिलो न्याय सम्पादनका कारण मुद्दा लड्न असहज बन्दै गएको समाचारको सार छ ।

त्यस्तै, जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै गएको अर्को खबर पनि अन्नपूर्णमा पढ्न सकिन्छ ।

समाचारमा लेखिएअनुसार सन्, २०१९ को जुलाइन अहिलेसम्मकै तातो महिना साबित भएको छ ।

वैज्ञानिकहरूले विश्वको तापमान औसत १.६ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन् । तीव्र औद्योगिकीकरणका कारण सन् १८५० देखि १९०० को अवधि अत्यधिक तातेको थियो । त्यसयता १ डिग्री सेल्सियस तापक्रम बढिसकेको समाचारमा उल्लेख छ ।

सरकारको अन्योलपूर्ण नीतिका कारण गैरसरकारी संस्थाहरू धमाधम फर्कन थालेको खबर राजधानीमा छ भने सरकारी मुखपत्र गोरखापत्रले ६४ अर्ब लगानीमा औद्योगिक पार्क बन्ने लेखेको छ ।

नागरिकमा चीनको समृद्धि कथासँगै सीटीईभीटी अनियमिततालगायतका विषय समेटिएका छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment