Comments Add Comment

साताका ६ पुस्तक : हाटा जाने रातदेखि दाइबुचुसम्म

ज्ञानको दायरा फरलाकिलो बनाउन आख्यानभन्दा गैर आख्यानका पुस्तक महत्वपूर्ण मानिन्छन् । यद्यपि पठनको सुरुवात भने संसारका जुनसुकै कुनामा पनि आख्यानबाटै गरिएको पाइन्छ । नेपालमा पनि आख्यान पुस्तकहरुकै माग बढी छ ।

केही समययता भने गैरआख्यानका पुस्तकहरुले पनि बजारमा राम्रै उपस्थिति जनाउन थालेका छन् । राजनीतिक, प्रशासनिक एवं पत्रकारिता क्षेत्रका अनुभवी व्यक्तिहरुमा पुस्तक लेखनको मोहका कारण बजारमा गैरआख्यानका पुस्तकहरुको प्रकाशन बढ्दै गएको छ । यो साता नेपाली बजारमा आख्यानभन्दा गैरआख्यानहरुकै पुस्तक बजारमा आए ।

हाटा जाने अघिल्लो रात

आख्यानका कारण मदन पुरस्कार विजेता बनेका राजन मुकारुङ आफूलाई कवि मान्छन् । यही कवि भावलाई उनले ‘हाटा जाने अघिल्लो रात’ पुस्तकमार्फत सार्वजनिक गरेका छन् । यसअघि पनि उनका चार वटा कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

सिर्जनशील अराजकतामार्फत सीमान्तीकृतहरुको आवाज उठाउँदै आएका मुकारुङले ‘हाटा जाने अघिल्लो रात’ मा पनि पहिचानको कुरा उठाएका छन् । त्यसबाहेक कम्युनिस्ट आन्दोलनमा लागेका व्यक्तिहरु बाटो विराएका कुराहरुले पनि कवि राजनलाई गम्भीर रुपले छोएको अनुभव गर्न सकिन्छ ।

पुस्तकमा किरात धर्म र संस्कृतिसँग सम्बन्धित बिम्बको प्रशस्त प्रयोग गरिएका छन् ।

कविताले भनेको छ–

भोलि त जानु छ

बेच्नु छ एक पेरुङ बैंस…

मान्छेका कथाहरु

गुरु घिमिरे मूलतः नेपाली कांग्रेसको राजनीति गर्छन् । यद्यपि महेन्द्र मोरङ क्याम्पस विराटनगरमा विद्यार्थी राजनीति सुरु गर्नुअघि नै उनको परिचय साहित्यकारका रुपमा भएको हो । अहिलेसम्म उनका एक कविता सङ्ग्रह, एउटा संस्मरण सङ्ग्रह र दुईवटा समाजवादी चिन्तनसम्बन्धी पुस्तक आएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका गुरु घिमिरेले यो साता आफ्नो खातामा ‘मान्छेका कथाहरु’ नामक पुस्तक पनि थपेका छन् ।

कवि र निबन्धकारको परिचयपछि उनी ‘मान्छेका कथाहरु’मार्फत कथाकारका रुपमा आएका हुन् । १४ वटा कथाहरु रहेको ‘मान्छेका कथाहरु’ले युवाहरुमा सकारात्मक उर्जा दिने प्रयास गरेको छ । नेपालमा केही गर्न सकिन्छ, नेपालीको भविष्य छ भन्ने आयस प्रत्येक कथाले सन्देश दिन्छ । विद्रोही युवाहरु पनि समयक्रमसँगै कसरी परिपक्व हुन्छन् र देशको निर्माणमा सक्रिय हुन्छन् भन्ने कुरा कतिपय कथाहरुमा देखिन्छ । कथा पढ्दा पढ्दै उनका कथामा समाजवादी दर्शन छिर्ने कारणले लेखक निश्चित दर्शनबाट प्रभावित छ भन्ने आँकलन पाठकहरुले महसुस गरिहाल्छन् । पुस्तकको कमजोरी र सशक्त पक्ष पनि यही नै हो ।

परराष्ट्रका पात्रहरु

नेपालको कुटनीतिक अवस्थाका पुस्तकहरु निकै कम छन् । यहि कमीलाई पूरा गर्न पूर्वपराराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले आफ्ना अनुभवका आधारमा एउटा गम्भीर पुस्तक प्रकाशनमा ल्याएका छन् ।

संस्मरणात्मक र पुस्तकालीय अध्ययनका आधारमा लेखिएको यो पुस्तकमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइरालाका कुटनीति शैलीलाई राम्रोसँग प्रस्तुत गरिएको छ । त्यसबाहेक तत्कालीन परराष्ट्रमन्त्री सूर्यप्रसाद उपाध्याय, ऋषिकेश शाहका पालामा भएका महत्वपूर्ण घटना र त्यसले नेपालको कूटनीतिमा पारेका प्रभावलाई पनि राम्रोसँग प्रस्तुत गरिएको छ । लेखकले नेपाल–भारतका सम्बन्धमा विद्यावारिधि गरेका कारण पनि पुस्तकमा नेपाल–भारतका कतिपय गम्भीर प्रकृतिका समस्या र तिनका समाधानका विषय पनि समेटिएका छन् ।

दी राइजिङ् नेपालका पत्रकारका रुपमा सार्वजनिक जीवन सुरु गरेका डा. भट्टराईले जापान र जर्मनीका राजदूत पनि भएका थिए । यी मध्ये केही अनुभवहरु पनि पुस्तकमा समेटिएका छन् ।

मेरो अपहरण

सरिता अर्याल महिला कथाकारका रुपमा स्थापित नाम हो । एक वर्षअघि उनको कथा सङ्ग्रह ‘पुरुष’ले महिला–पुरुष सम्बन्धमा नयाँ खालको बहस छेडेको थियो । कथाकार सरिताले यो साता आफ्नो तेस्रो कृतिका रुपमा ‘मेरो अपहरण’ नियात्रा सङ्ग्रह बजारमा ल्याएकी छन् ।

पुस्तकमा दशक लामो द्वन्द्वका समयमा दुर्गम जिल्ला घुम्न जाँदा देखेका कुरा लेखेकी छन् । यसरी घुम्न जाँदा उनी कसरी अपहरणमा परिन्, त्यसको कथा पनि पुस्तकले भन्छ । तत्कालीन अवस्थाको दुर्गम क्षेत्रको सामाजिक, आर्थिक र राजनीतिक अवस्थालाई पनि पुस्तकले प्रष्ट पार्ने प्रयास गरेको छ । पुस्तक रिर्पोताज शैलीमा लेखिएको छ ।

नेपालको कूटनीति अभ्यास

नेपाल भारतसम्बन्धमा विद्यावारिधि गरेका परराष्ट्रविद् मदन भट्टराईंको पुस्तक आएकै बेला बजारमा कुटनीतिमा चासो राख्ने पत्रकार विष्णु रिजालको अर्को पुस्तक बजारमा आएको छ । भट्टराईंको पुस्तक आफ्नो अनुभव र अध्ययनका आधारमा लेखिएको हो भने रिजालको पुस्तकले विभिन्न देशमा राजदूत भइसकेका २० जना परराष्ट्रविद्हरुको अनुभव प्रस्तुत गरेको छ ।

पुस्तकमा सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्रदेखि गणतान्त्रिक नेपालका राजदूतहरुको अनुभव सङ्गालिएको छ ।

पुस्तकले कतिपय गम्भीर विषय पनि उठान गरेको छ । त्यसबाहेक देशले अपनाउनु पर्ने कूटनीतिक सचेतता, शैली र अहिलेसम्म भएका अभ्यासहरुको विवरण पनि दिएको छ । पुस्तकले केही महत्वपूर्ण पराराष्ट्रविद्हरुको संक्षिप्त परिचयसहित सम्पर्क ठेगाना पनि दिएको छ ।

दाइबुचु

जापानी साहित्य प्राचीन धार्मिक झेन गुरुहरुबाट प्रभावित छ । छोटोमिठा कथामार्फत गम्भीर दर्शन भन्न सक्नु झेन साहित्यको विशेषता हो । यही झेनको प्रभावमा परेर जापानमा १७ अक्षरे कविता हाइकु जन्मियो ।

जब कुनै व्यक्ति यात्रामा निस्कन्छ, उसले यात्रामा देखेका कुरालाई वर्णन गर्दै ठाउँ ठाउँमा हाइकु मिसाउँछ भने यस्ता कृतिलाई हाइबुन भनिन्छ । नेपालमा नियात्रा भनिने बिधामा हाइकु मिसाएर साहित्यकार कृष्ण बजगाईंले ‘दाइबुचु’ प्रकाशन गरेका छन् ।

पुस्तकले जापानी भाषा, संस्कृति, परम्परा, त्यहाका विकास र सोचहरु प्रस्तुत गरेको छ । त्यससँगै बीचबीचमा सन्दर्भ मिलाएर ६० भन्दा बढी हाइकुहरु राखिएको छ । जापानीहरुले भने यस्तो पुस्तकहरुमा सयभन्दा बढि हाइकु राख्छन् । जे होस्, हाइबुन शैलीको नियात्रा नेपाली साहित्यका लागि भने नौलो हो ।

यसअघि १० वटा कृति प्रकाशन गरिसकेका बजगाईंको यो ११ औं कृति हो । यसअघि उनले दुईवटा नियात्राका पुस्तक प्रकाशित गरिसकेका छन् । उनका कथा सङ्ग्रह, हाइकु सङ्ग्रह, मुक्तक सङ्ग्रह, अन्तरवार्ता सङ्ग्रह, लघुकथा सङ्ग्रहहरु पनि प्रकाशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment