Comments Add Comment

प्रहरी र शिक्षिका नै श्रीमानबाट पीडित

बढ्दैछ घरेलु हिंसा, शिक्षित महिलासमेत पीडा लुकाएर बस्छन्

१८ साउन, काठमाडौं । घरेलु हिंसामा परेका ग्रामीण महिलाहरु आफ्नो पीडा लुकाएर बस्न बाध्य छन् । गाउँघरमा मात्रै होइन, शहर–बजारका घरानिया महिलाहरुले समेत पनि घरेलु हिंसा लुकाएर बस्ने गरेको पाइएको छ ।

महिलाहरुले आफूमाथि भएका हिंसाका घटना लुकाउँदा लुकाउँदै पनि राष्ट्रिय महिला आयोगमा गत वर्षभन्दा यस वर्ष घरेलु हिंसाका दोब्बर घटना दर्ता भएका छन् ।

आयोगको तथ्यांकले नेपाली समाजमा घरेलु हिंसाका घटनाहरु कमी हुनुको साटो दिनानुदिन बढिरहेको देखाएको छ । अरु मानिस अन्यायमा पर्दा सहयोग गर्नुपर्ने प्रहरी संगठनमै काम गर्ने महिला प्रहरीसमेत हिंसाको शिकार हुने गरेको पाइएको छ ।

शहर बजारका शिक्षित महिलाहरु कसरी घरेलु हिंसा सहेर बसेका छन् भन्नेबारे केही दृष्टान्त हेरौं ।

घटना– एक

काठमाण्डाै‌ंको गोकर्णेश्वर नगरपालिका– १० जोरपाटीकी गीताले (नाम परिवर्तन) १७ बर्षको उमेरमा काठमाडौं निवासी रमेशसँग विवाह गरिन् । बिहे गरेको केही महिनादेखि नै उनलाई श्रीमानबाट मानसिक एवं शारीरिक यातना दिन थालियो । सासूले समेत कुटपिट गर्न थालिन् ।

तीन छोरा हुर्किसक्दा पनि श्रीमानले कुट्न नछाडेपछि अन्ततः २१ वर्षका जेठा छोरा, १२ वर्षे माइलो छोरा र ९ वर्षका कान्छा छोरालाई छाडेर अहिले गीता माइतीमै बस्न थालेकी छन् ।

बिहे गरेकै बर्षदेखि श्रीमानको कुटाइ खान थाले पनि उनले आफूमाथि भएको हिंसाबारे कतै उजुरी गरिनन् । श्रीमानको कुटाइबाट उनी एकचोटि घाइतेसमेत भएकी थिइन् ।

प्रहरीमा उजुरी गर्छु भन्दा ज्यान मार्ने धम्की दिने गरेकाले पनि उजुरी गर्ने हिम्मत नआएको उनी बताउँछिन् । उजुरी गर्नुपर्छ भन्ने थाहा भएता पनि परिवारको इज्जत जाने र आफंैलाई पनि अप्ठयारो पर्ने भएकाले उजुरी नगरेको उनी बताउँछिन् ।

हालै आफूलाई श्रीमान र सासूले कुटपिट गरेर घरबाट निकालिदिएको उनले बताइन् । घरबाट निकालिएपछि उनी अहिले बुढेसकालमा माइतीको शरणमा पुगेकी छन् ।

घटना–दुई

मकवानपुर हेटाैंडाकी विमला (नाम परिवर्तन) पेशाले शिक्षिका हुन् । उनले पनि गीतालेजस्तै घरेलु हिंसा भोगेकी छिन् । उनी स्कुलमा सामाजिक शिक्षा पढाउछिन । घरेलु हिंसा सहनुहुँदैन र आफूमाथि हिंसा भएमा प्रहरीसमक्ष उजुरी गर्नुपर्छ भनेर विमलाले विद्यार्थीलाई पढाउँछिन । तर, उनी आफैं घरेलु हिंसाबाट पीडित छिन् ।

विमलाका श्रीमान धर्मराजले उनलाई दिनहुँजसो मानसिक तनाव दिनुका साथै कुटपिट गर्छन् । विद्यालयको तालिमका लागि बाहिरी जिल्लाहरुमा पनि जानुपर्ने हुँदा बच्चाका लागि समय नदिएको भन्दै श्रीमानले कुटपीट गर्ने गरेको विमलाको गुनासो छ । प्रहरीको उजुरी गर्दा झन् धेरै कुटाइ खानुपर्ने उनमा डर छ ।

घटना– तीन

गीता र निर्मला जस्तै पीडामा परेकी छिन नेपाल प्रहरीमा कार्यरत इन्द्रकला (नाम परिवर्तन) ।

उनी अरुलाई सुरक्षा दिने प्रहरी हुन् । तर आफैं घरेलु हिंसाबाट पीडित हुन पुगेकी छिन् । इन्द्रकलाका श्रीमान पनि नेपाल प्रहरीमै कार्यरत छन् । तर, पछिल्लो केही महिनादेखि उनले दिनहुँजसो श्रीमानबाट कुटाइ खाँदै आएकी छिन् । उनी सकेसम्म त प्रतिकार गर्छिन् । तर, आफूमाथि भएको हिंसाबारे कसैलाई सुनाउदिनन् । सुनाउनु पनि कसरी ? आफैं सुरक्षा निकायमा छिन् । अरुको सुरक्षा गर्ने उनी आफ्नै घरमा असुरक्षित छिन् ।

यी तीनवटा घटनाहरु त प्रतिनिधि पात्र मात्र हुन् । यस्तै दिनुहँ हिंसामा परेका अधिकांश घटनाहरु बाहिर आउने गरेका छैनन् । घरेलु हिंसाभित्र परिवारभित्र हुने शारीरिक, मानसिक, आर्थिक र यौनजन्य घटनाहरु पर्ने छन् ।

समाजको डर र माइतीको इज्जतका लागि यस्ता घटना हत्तपत सार्वजनिक गर्ने आँट उनीहरुमा छैन । शहरमा बस्ने, त्यसमाथि आफंै शिक्षित भएर पनि उनीहरुले पीडित बन्नुपरेको अवस्था छ । अझ उच्च घरानाका महिलाहरुले त झनै घरेलु हिंसाका घटनाहरु लुकाउने गरेको पाइएको छ ।

राष्ट्रिय महिला आयोगको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७५/७६ मा आयोगमा १ हजार ४ सय ७४ हिंसाका उजुरी परेका छन् । यीमध्ये घरेलु हिंसाका उजुरीको संख्या १ हजार ३ सय १८ ।

यो भन्दा अघिल्लो बर्ष आयोगमा ८३८ हिंसाका उपुरी परेका थिए, जसमध्ये ७६२ वटा घरेलु हिंसाका उजुरी परेका थिए । यो तथाङ्क हेर्ने हो भने नेपाली समाजमा घरेलु हिंसा वर्षेनी झण्डै दोब्बर संख्यामा बढेको देखिन्छ ।

राष्ट्रिय महिला आयोगमा परेका उजुरीमा यो आर्थिक बष विगतको भन्दा झण्डै दोब्बर घटना दर्ता भएको देखियो । तर, हिंसाको घटना बढेता पनि उच्च घरानियाँ वर्गबाट उजुरीको मात्रा न्यून पाइएको छ भने निम्न र मध्यम परिवारका महिलाहरुबाट उजुरी गर्नेको क्रम बढेको पाइन्छ ।

आफूमाथि भएको हिंसा सहनुहुँदैन भन्ने चेतना भएर पनि मध्यम र उच्च वर्गका महिलाहरु उजुरी गर्न कमै आउने गरेको महिला आयोगका अधिकारीहरु बताउँछन् । पढे लेखेका, उच्च घरानाका महिलाले आफूमाथि हिंसा भए पनि कमै मात्रामा उजुरी गर्ने गरेको राष्ट्रिय महिला आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्री बताउँछन् ।

आयोगमा परेका घरेलु हिंसाका उजुरीमा करिब ८५ प्रतिशत मध्यम परिवारका महिलाको सहभागिता रहेको छ । निम्न आय भएका परिवारमा श्रीमतीको आय आर्जन नभएको अवस्थामा घरेलु हिंसाका घटना बढी हुने गरेको क्षेत्रीको विश्लेषण छ । उनीहरुमा अब हिंसा सहन हुँदैन भन्ने चेतना जाग्न थालेकाले पनि उजुरीको संख्या बढेको आयोगका अधिकारीको तर्क छ ।

उच्च घरानाका महिला तथा शिक्षित महिलाको परिवारमा पनि श्रीमान र श्रीमतीको आर्यआर्जन र खर्चको विषयलाई लिएर झैंझगडा एवं कुटपिट हुने गरेको आयोगले भनाइ छ । त्यसैगरी शहरका केही घटना भने श्रीमानको इज्जत र छोराछोरीको भविश्यका कारणले गर्दा पनि लुक्ने गरेको सरोकारवालाहरु बताउँछन् ।

केही बर्ष पहिलेसम्म घरभित्रका ठूलै घटना मात्र सार्वजनिक हुने गर्थे । हाल परिवारभित्रका सामान्य घटनामा पनि बाहिर आउने गरेका छन् । महिला आयोगमा अशं र छोडपत्रको माग गर्दै उजुरीहरु आउने गरेको आयोगका सूचना अधिकारी क्षेत्री बताउँछन् ।

कसले हेर्छ घरेलु हिंसाको उजुरी ?

नेपालको संविधानले महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपुर्ति पाउने हक हुनेछ भनेर उल्लेख गरेको छ । तथापि धेरैजसो घटनामा पीडित पक्षलाई मिलाएर पठाउने गरिँदै आएको छ ।

देश संघीय संरचनामा गएसँगै यस्ता झैंझगडा एवं विवादहरु मिलाउने जिम्मा स्थानीय तहको उपप्रमुखलाई दिइएको छ । स्थानीय तहमा परेका यस्ता उजुरीहरुलाई स्थानीय तहमा नै मिलाउने जिम्मा हरेका स्थानीय तहलाई कानुनले दिएको छ ।

स्थानीय तहबाहेक महिला हिंसा एवं घरेलु हिंसाको उजुरी राष्ट्रिय महिला आयोगले पनि हेरिरहेको छ । आयोगले पीडितलाई कानुनी सल्लाहका साथै मेलमिलापसमेत गराएर पठाउने गरेको छ । पीडित महिलालाई बस्ने आवास नभएको अवस्थामा अस्थायी आवासको समेत प्रवन्ध महिला आयोगले गरिदिने गरेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालयले पनि घरेलु हिंसाका उजुरीहरु लिने गरेको छ । ७७ वटै जिल्लामा प्रहरीले सामान्य घटनाहरु पीडित र पीडक दुबैलाई सम्झाएर पठाउने गरेको छ । गम्भीर प्रकृतिका हिंसाका घटनामा भने मेलमिलाप नगराई मुद्दा अगाडि बढाउने गरिएको छ । पीडक र पीडितबीच मिलाप हुन नसकेका विषय अदालतसम्म पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment