Comments Add Comment

नियात्रा : ओसाका यात्रामा भानुभक्तहरू

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) प्रवासमा रहेका नेपाली साहित्य पारखीहरूका निम्ति साझा चौतारी हो । सन् १९९१ मा अमेरिकाबाट सुरु भएको यस संस्था सन् २००३ मा जापानमा स्थापना भएको थियो । स्थापनाकालदेखि नै आफ्ना गतिविधिलाई निरन्तरता दिइरहेको अनेसास, जापान च्याप्टरले पछिल्लो वर्षहरूमा साँच्चै उत्कृष्ट कार्यक्रमहरू गर्दै आइरहेको छ ।

कहिले साकुराको फेदमुनि त कहिले यात्रा गरेर कार्यक्रमलाई नयाँ-नयाँ शैलीमा प्रस्तुत गर्दै आइरहेको सन्दर्भमा यसपटक निकै लामो दूरीको साहित्यिक यात्राको योजना बनेको थियो । टोक्योबाट झण्डै ६०० कि.मी. टाढाको सहरसम्म साहित्यिक यात्रा गर्नु सहज पक्कै नहोला । तर, पनि यसको नेतृत्व र सबै साथीहरूको आँटप्रति आभार प्रकट गर्नैपर्छ ।

आˆनो देशबाट पाँच हजार दुईसय किलोमिटर टाढा भए पनि हामीसँग आˆनो भाषा थियो । यही भाषालाई सबै नेपालीको साझा बनाउने भानुभक्तको तस्विर थियो । यही तस्विरलाई गाडीमा राखेर हामी नेपाली भाषामा गीत गाउँदै र नाच्दै यिनै भानुभक्तको जन्मोत्सव मनाउन जापानको राजधानी टोक्योबाट अर्को ठूलो सहर ओसाका जाँदै थियौँ ।

रिजर्भ गरिएको गाडीभरि वर्षौंदेखि जापानमा आफ्नो भाग्य अजमाइरहेका देशभरिका नेपालीहरू थियौँ । नेपालमा पो तपाईंको कुन जिल्ला, तपाईंको कुन गाउँ, तपाईं कुन दलसँग सम्बन्धित हुनुहुन्छ भन्ने प्रश्न उठ्छ, यहाँ ती सबैभन्दा माथि हामी केवल नेपाली मात्र थियौँ ।

हरेक नेपालीलाई देशप्रतिको प्रगाढ माया र स्नेह रहन्छ । स्वदेशमा रहुन्जेल यस कुराको मापन र अनुमान गर्न सकिएन, अझ भनौँ, देशप्रेमको भेउ पाउन सकिएन । परदेशमा आएपछि बल्ल राष्ट्र र राष्ट्रियताको महत्त्व नजिकबाट बुझ्न र अनुभव गर्न पाइयो ।

आफ्नो भाषा, साहित्य, कला र संस्कृतिको सम्बर्द्धनमा विदेशबाटै केही न केही भूमिका निभाउन पाउँदाको सन्तुष्टि बेग्लै किसिमको हुनेरहेछ । २१ औँ शताब्दीमा संसार निकै साँघुरिँदै गएको भान हुन्छ । कुनाकुनासम्म नेपालीहरू छरिएर आफ्नो पौरख गरिरहेका छन् । यसरी छरिएका सबै नेपालीलाई एउटै सूत्रमा बाँध्ने काम भाषा र साहित्यले नै गरेको छ ।

****

‘यहाँ पनि नेपाली पारा देखाउनुपर्छ ?’ ड्राइभर नजिकै बसेका एकजनाले केही ठूलो स्वरमा कराएपछि बसभित्र भएका सबैको ध्यान आकृष्ट भयो । कसैले भन्दैथियो, ‘अघि नै सक्नुपर्ने काम अहिलेसम्म किन ढिला गरेको ?’ हामीले चासो देखायौँ । सबै जम्मा भएर गाडी हिँड्ने बेलामा केही साथीहरू उत्रिएर सामान किन्न लाग्नुभएको रहेछ ।

एकजना साथी आˆनो गाडी त्यहीँ कतै पार्क गरेर बस चढ्नका निम्ति सस्तो पार्किङ खोज्दै अल्लि परै पुग्नु भएछ । सिन्जुकु जस्तो ठाउँमा सस्तो पार्किङ खोज्ने साथीलाई के भन्ने खै ? थप केही साथीहरूमा असन्तुष्टि देखियो । जमघट र हल्लाखल्लाको बीच निर्धारित समयभन्दा २० मिनेट ढिलो गरी गाडी अगाडि बढ्यो । हाइ-वे प्रवेशसँगै बस राम्रै गतिमा हुइँकियो ।

एउटा सिङ्गो बस भाडामा लिएर हामी टोक्योबाट बीचमा योकोहामा, एबिना, सिजुओका, माचुयामा, टोयोटा जस्ता ठूला सहरहरू छिचोल्दै जापानको अर्को ठूलो सहर नागोयाको नजिकतिर पुगिसकेका थियौँ । गन्तव्य थियो ओसाका । तीन दर्जनभन्दा धेरै स्रष्टाहरूको भीड । त्यसमा साना बालबालिकाको सङ्ख्या पनि थियो । गन्तव्य धेरै टाढा थियो तर समस्या बनिरहेको थियो ‘नेपाली पारा’ ।

जापान बसेर पनि कुनै नेपालीले जापानी शैली पछ्याएन भने एकअर्कालाई जिस्क्याउने, गाली गर्ने वा सचेत गराउनुपर्‍यो भने ‘नेपाली पारा नगर्नू’ भन्ने गरिन्छ । उसलाई जापानी रहनसहनमा घुलमिल हुन नसकेको भनेर जिस्क्याउने वा गाली गर्ने पनि गरिन्छ । हरेकले जापानी शैली नै पछ्याउने प्रयास गर्छन् तर नानीदेखि लागेको बानी कहिलेकाहीँ बिगि्रहाल्ने । अथवा नचाहँदा-नचाहँदै पनि कहिलेकाहीँ चिप्लिहाल्ने !

रबिनले सर्भिस एरियामा रोकिराखेको बसको ढोकाबाट टाउको निकालेर अल्लि झर्केको स्वरमा ‘नेपाली पारा देखाइहाल्नु पर्छ ?’ भनिसकेपछि बाहिरतिर लागिसकेका साथीहरू हतारिँदै फर्किए । आधा चुरोट पनि ननिखारेका साथीले मन खिन्न गर्दै हाइजारामा चुरोट ठोसेर दौडिए । बेलु थापाजी गि्रन-टीको बोतल हातमा समाउँदै भित्र छिर्नुभयो । हिजो रातभरिको कामको कारणले हुनुपर्छ – अरुण भाइको हातमा भिटामिन टोनिक थियो ।

मानिसलाई ठीक लगाउने यो तरिका रबिनलाई ठिकै लाग्यो होला । मलाई भने कोही साथीहरू रिसाइदेलान् कि भन्ने पीर लागिहाल्यो । रबिनको बोली र व्यवहार जति मिठासपूर्ण छ चित्त नबुझेको कुरामा झर्किन पनि उत्तिकै खप्पिस रहेछन् मैले पहिलो पटक अनुभव गरेँ । धन्य, उनीहरू बस चढ्दा अनुहारमा त्यस्तो कुनै छनक देखिएन ।

गएको वर्ष सेप्टेम्बरमा टोक्योमा अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव २०१८ भएको थियो । उक्त कार्यक्रममा भाग लिन एहिमे, क्योटो र ओसाकाबाट पनि केही साथीहरू आउनुभएको थियो । हामी पनि ओसाका हुँदै हिरोसिमासम्म पुगेका थियौँ त्यतिबेला पनि ओसाकाको छोटो भेटमा एउटा बृहत् कार्यक्रम अवधारणा बनेको थियो ।

जापानमा हुने सबैजसो साहित्यिक कार्यक्रमहरू टोक्योमै केन्दि्रत हुनु स्वाभाविक नै हो तर यो कुराको चपेटामा टोक्यो बाहिर रहनुहुने केही राम्रा सर्जकहरू पर्नुभएको अनुभूति हामीले गरिसकेका थियौँ ।

सबै साहित्यिक कार्यक्रम टोक्यो वरपर मात्र हुँदा टाढाका साथीहरूले भनेजस्तो गरी सहभागी हुन नपाउनु भएको कुरा मैले पनि गहिरोसँग अनुभव गरिरहेको थिएँ ।

अनौपचारिक भेट वा कुराकानीको क्रममा केही साथीहरूले मुखै फोरेर गुनासो पोख्नुहुन्थ्यो । यसलाई हटाउन जरुरी पनि थियो । हुन त अनेसास, जापान च्याप्टरको दुईवर्षे कार्यकालमा कम्तिमा एउटा कार्यक्रम टोक्यो बाहिर गर्ने योजना नभएको होइन । तर यो कार्य याकोहामादेखि नायोगासम्म मात्र सीमित थियो । एकैदिन गएर कार्यक्रम सम्पन्न गरेर फर्किन ओसाकाको हकमा सम्भव थिएन । त्यसैले पनि साहित्यिक यात्रासहित ओसाका जाने कार्यक्रम अहिलेसम्म जुरेको थिएन । ओसाकाबाट नरेन्ऽजी, रमेशजी र कृष्णजीहरूको अनुरोधसहितको नजानिँदो दबाब गत सालदेखि बाक्लिँदै थियो ।

लामो सल्लाह र छलफलपश्चात् ओसाकामा अनेसास जापानको ५१ औँ साहित्यिक कार्यक्रम गर्ने निधो भएको थियो । कार्यक्रमलाई सकेसम्म असार २९ गते भानुभक्त जन्मोत्सवकै दिन गर्ने योजना थियो तर नेपाल सरकारले समेत बिदा कटौती गरेको असार २९ मा विदेशमा बसिरहेका नेपालीहरूलाई त्यही दिन कार्यक्रम गर्न सहज थिएन ।

हामीले जुलाई २० र २१ तारिकका दिन कार्यक्रम गर्ने निधो गरेको धेरै अगाडि नै हो । बस समयमै छुट्ने र कसैलाई नपर्खिने उर्दी दीपजीले पटक-पटक गु्रप म्यासेजमार्फत् लगाएकाले टोक्यो सहित चिवा, साइतामा, कानागावा क्षेत्रका साथीहरू समेत समेट्दै बस अगाडि बढ्न सोचेजस्तो अप्ठेरो भएन ।

बस तीव्र गतिमा कुद्दै थियो । नेपालदेखि जापान भ्रमणमा रहनुभएका २ जना गायिकाहरू मनु रोकामगर र शान्ति परियारलाई साथ लिएर तिलक मल्ल सरले बसको अघिल्लो भेगमा साङ्गीतिक मोर्चाको तयारी गर्नुभएको थियो । यात्राको माहोल रमाइलो बनाउन गायक-गायिका लैजानुपर्ने तर्क उहाँले केही दिन अगाडिदेखि नै जोडतोडले राख्दै आउनुभएको थियो ।

गाडीमा व्यवस्था गरिएको माइक समातेर परिचय कार्यक्रम सकिनेबित्तिकै दोहोरीले थप सर्गर्मी तताइहाल्यो । त्यही माइकमार्फत् दोहोरी गीत चलिरहँदा हामी जापानमा होइन, कुनै घरको पिँढीमा बसेर गीत गाइरहेका छौँ भन्ने भान हुन थाल्यो ।

चिल्लो सडक र कन्डिसनयुक्त बसका कारण पनि हामीले टाढाको यात्रा गरिरहेका छौँ भन्ने भान भइरहेको थिएन । बसमा केही साथीहरू निदाउने र घुर्ने हुन् कि भन्ने मेरो पूर्वानुमानले फेल खाइसकेको थियो । बसको मध्य भागमा बसेर हरि रेग्मी र सङ्गीता शर्मा रेग्मीले मन्त्रमुग्ध भएर झ्यालबाट बाहिर हेर्दै हुनुहुन्थ्यो ।

सायद सौन्दर्यमा रमाउनु जापानी विशेषता हो । दूर दराजका पहाड र जङ्गललाई पनि साह्रै मिहिनेत गरेर सजाइएको देखिन्थ्यो । जापानमा दुईतिहाईभन्दा बढी भू-भाग पहाडले ढाकेको छ । यति धेरै भू-भाग भएको पहाडी क्षेत्रको प्रकृति नबिगारीकन कतै सुरुङ खनेर सडक निर्माण गरिएको छ भने कतै खोँचका बीचमा आकर्षक पुल बनाएर सडकलाई निरन्तरता दिइएको छ । बीच-बीचमा प्रशस्त जङ्गल देखिन्छ ।

कतैकतै जापानी चियाबारी देखिन्छ र लामबद्ध तरकारीको खेतबारी पनि । मानवनिर्मित जस्तै लाग्ने एकनाशको जङ्गलले मन लोभ्याउँछ । जापानका पहाडी भेगमा एकत्रित बस्तीलाई बढावा दिइएको हुन्छ । नेपालको जस्तो डाँडाकाँडामा १-२ ओटा मात्र घर देख्न सकिँदैन यहाँ ।

बसभित्रका आधाआधीका निम्ति यति लामो बस यात्रा सम्भवतः पहिलोपटक नै थियो । राजु लक्षितजीलाई थकानको महसुस कत्ति पनि थिएन । गणेश रायमाझीजीले घरी अगाडि त घरी पछाडि हेर्दै रमाइलोको माहोल छोप्ने प्रयास गर्नुभएको थियो ।

गीत गाउँदा-गाउँदा रबिन र गिरिजाजीको स्वर बसिसकेको थियो । गम्भीर मुद्रामा आनन्द अधिकारी, प्रतिबिम्ब सुमन र गङ्गा गगनले गायनलाई दरिलो साथ दिइरहेका थिए । महिला दिदीबहिनीहरू पनि रबिनसँग जुहारी खेल्दाखेल्दै थाकेकाजस्ता देखिन्थे । दोहोरी केही सुस्ताएको महसुस हुँदा दीपा घिमिरेले गजल घन्काउँदा ज्वाला, अमृता, इन्दु र सङ्गीता बहिनीले साथ दिएर माहोल बेग्लै बनाउँथे । कामबाट फुक्का भएका साथीहरूको यो रौनक बाटाभरि नै देखियो ।

दीप पाठक कवितामा जस्तै दोहोरीमा पनि पोख्त भएको कुरा पहिलो पटक थाहा पाइयो । यात्रा आलश्यता कुनै पनि बेला जाग्न पाएन, यद्यपि के खाउँ के खाउँ लागिरहेको बेला जीवनसङ्गिनी भूमिका र कामना भाउजुले बनाएर ल्याएको पकौडा र जेरीले राम्रै काम गर्‍यो र प्रशंसा पनि बटुल्यो । राजेशविक्रमले निकै भद्र मद्रामा तात्तातो कफी पिउँदै अघिल्तिर रहेका पानी र आलुचिप्स पछाडि पास गर्नुभयो । निथि्रन लागेको बोतल सिवाय केही आइपुगेन पछिल्तिर ।

****

टोक्योबाट गाडी चड्नु अगाडि नै पेय पदार्थ किन्न बिर्सिएको तनाव केही साथीहरूको अनुहारमा प्रस्ट देखिन्थ्यो । हरेक २-२ घण्टामा हुने ब्रेकटाइममा मदिराजन्य पेय पदार्थ पाउने ठाउँको खोजी गरेको देखिन्थ्यो । हाइवेमा किन्न नपाइने प्रस्ट कुरा पुष्करबाट आएपछि साथीहरूले बल्ल मन बाँध्नुभयो । धैर्यतालाई कसिलो बनाउनुभयो ।

****

त्यतिकैमा हालै बर्मा पुगेर आउनुभएका श्रवण सत्यालले पछाडिको सिटमा बसेर एनआरएनएको गफ सुरु गरे । सबै त्यतै झुम्मिइयो । जापानको विगत र सम्भावित भावी नेतृत्वबारे छोटो बहस भयो र लगत्तै नेताजीहरूको क्यारिकेचरतर्फ वातावरण मोडियो । सनोद पौडेल र रमेश लामिछानेको ध्यान बल्ल यता खिचियो !

हामी नाच्न र गाउन नजान्नेहरू भने बीच-बीचमा नेपाली राजनीति र सञ्चारमाध्यमका विषयमा कुरा उठाउँथ्यौँ र असन्तुष्टि पोख्दथ्यौँ ! नेपाल एयरलायन्सको जहाज एक वर्षदेखि ओसाका आउँछ र धेरै जापानबासी नेपालीहरू त्यसैमा नेपाल र्फकने योजना बनाउँदैथ्यौँ ।

तर, मजस्ता धेरैजना जहाज जापान आउँछ भन्ने सुने पनि विदेशी जहाज चढेर नेपाल पुगेका थियौँ । यद्यपि अबचाहिँ ओसाकापछि नारिताबाट पनि उडान सुरु गर्ने हल्ला छ । यसपटक जाँदा मेलम्चीको पानी खाने भनेर हामीले कुरा गरेको बर्सौं भयो तर बोतलको पानीले धेरैपटक तिर्खा मेटाएका थियौँ । यी कुराहरूलाई सञ्चार माध्यमले पनि उपयुक्त किसिमले फलोअप गरेको देखिँदैन । बरु तत्काल चर्चा हुने कुरामा मात्र पत्रपत्रिकाको ध्यान थियो ।

हामीले जापानका सञ्चारमाध्यमका विषयमा पनि कुरा गर्‍यौँ । जापानमा विभिन्न किसिमका घटना नहुने होइनन्, हुने गर्छन् तर यहाँका सञ्चार माध्याममा चोरी, हिंसा, हत्या, सामान्य दुर्घटना, वादविवाद र देशविरुद्धका समाचारहरू कहिल्यै प्राथमिकतामा आउँदैन तर नेपालमा त्यस्ता समाचार नराखी समाचार नै बन्दैन । यस्ता कुरामा जापानले जस्तो सभ्य र जिम्मेवार पत्रकारिता सुरुवात नेपालले कहिले गर्ने होला भनेर हामी निकैबेर चिन्तित भइरहृयौँ । यो बारेमा तिलक सरको तर्फबाट धेरै मननयोग्य कुराहरू आए ।

****

हाम्रो गाडी ओसाकाको निर्धारित स्थल पुग्नु आधा घन्टाअघि नै थाहा भयो, हामी भब्य सहरमा प्रवेश गर्दैछौँ । यात्राभर ट्राफिकजाम कत्ति पनि नहुँदा चालक दलका सदस्य खुसी देखिन्थे । ओसाका सातौँ शताब्दीदेखि नै व्यापारिक एवम् आर्थिक हबको रूपमा चिनिँदै आएको छ । ओसाकामा जापानका धेरैजसो ठूला कम्पनी छन्, त्यसमध्ये पानासोनिकले मात्र लाखौँलाई रोजगारी दिएको विश्वास गरिन्छ ।

सार्प, सान्यो जस्तो विश्व प्रसिद्ध कम्पनीकै कारण यो जापानको ठूलो औद्योगिक सहर बनेको रहेछ । वैदेशिक पर्यटकको आकर्षक गन्तव्य पनि हो ओसाका सहर । यहाँको सार्वजनिक यातायात सेवा निकै भरपर्दो र विश्वसनीय मानिन्छ । उत्तर-दक्षिण भएर कुद्ने हरेक बुलेट ट्रेन सिन-ओसाका स्टेसनमा रोकिन्छन् ।
हिरोसिमा र टोक्योको बीचमा पर्ने भएका कारण पनि यो सहरमा आएर पर्यटकहरू आˆना योजना बनाउँदा रहेछन् । नजिकै रहेको कान्साई विमानस्थल आफैमा ऐतिहासिक छ । प्राचीन कालदेखिको संस्कृतिले ओसाकालाई अझै बलियो बनाएको छ । हामी भने टोक्यो र त्यस वरपरबाट आएका कारण यसको खासै महत्व नबुझेको पो हो कि जस्तो पनि लाग्यो ।

मध्य सहरमा प्रवेश गर्दागर्दै टिकेपी गेट टावर बिल्डिङ देखियो । यो यस्तो भवन हो, जसलाई छेडेर हाइवे बनाइको छ । सन् १९९२ मा निर्माण सम्पन्न भएको यस भब्य बिल्डिङको दुई तल्ला छेडेर त्यसलाई बिल्डिङमा नछुवाइकन रोड निकाल्नु आफैंमा अनौठो इन्जिनियरिङ कला हो । मैले यो १६ तल्ले भवन हाइवे यात्रामा धेरैपटक देखे पनि यसभित्र छिर्न पाएको छैन । धेरैका लागि यो भवन छेडिएको हाइवे हेर्नु पहिलो अनुभव थियो । यस विषयमा कुरा गर्दागर्दै गन्तव्य स्थान आइहाल्यो ।

****

अपरान्ह चार बजे कार्यक्रम सुरु हुने कुरा थियो । हामी निर्धारित समयभन्दा २ घन्टा अगावै ओसाका पुगेका थियौँ । कार्यक्रमस्थल नजिक जिग्री रेस्टुरेन्टको अगाडि गएर गाडी रोकियो । हामी पुगेलगत्तै विष्णु घिमिरे र धीषण निरौला नागोयाबाट आइपुग्नु भयो । नागोयाबाट ओसाकाको दूरी १८० किलोमिटर रहेको छ । शरद क्योटोबाट मिसिए र गफ गर्दागर्दै स्थानीय साथीहरूको आगमन हुन थाल्यो । भोकको सीमा नाघेका साथीहरू लन्चमा केन्दि्रत हुनुभयो । लगत्तै मूल आयोजक समितिका साथीहरूले हल र स्टेज रेडी गर्न कस्सिनुभयो ।

कार्यक्रमले साँच्चै नै निकै राम्रो माहोल सिर्जना गर्‍यो । ओसाकाका व्यवसायी, विद्यार्थी तथा गन्यमान्य व्यक्तित्वहरूको उल्लेख्य उपस्थितिले हल भरिभराउ थियो । ओसाकामा यति ठूलो साहित्यिक कार्यक्रम भएकोमा सबै ओसाकावासीको मन गद्गद् भएको कुरा उहाँहरूको मुहारमा प्रस्टिँदै थियो । व्यवसायीहरू आत्मराम गैरे, राजु शर्मा गैरे मात्र हैन हर्क थापा, जगत थापा, टीकाराम कँडेल, मनोज थापा लगायतका अनुहारहरूले कार्यक्रमलाई शोभा दिइरहेको थियो ।

मूल समितिका संयोजक नरेन्द्र बस्नेतको स्वागत मन्तव्य र कृष्ण सुवेदीको विषयप्रवेशपश्चात् हामी रचना वाचनमै सिधै प्रवेश गर्‍यौँ ।

कविता, गीत, गजल, मुक्तक, हाइकु लगायतका रचना दुई दर्जनभन्दा बढी सुनियो । कार्यक्रममा नेपाल सरकार प्रदेश ३ का सांसद प्रकाश दवाडी विशेष अतिथिको रूपमा हुनुहुन्थ्यो । धेरै रचनाको प्रहार नेपालको राजनीति र राजनीतिकर्मीतर्फ केन्दि्रत हुँदा उहाँ कुनै-कुनै बेला रातोपिरो देखिनुहुन्थ्यो । उहाँ विगतमा एकदशकभन्दा बढी ओसाकामै बसेर राजनीति गर्न नेपाल फर्किनुभएको रहेछ भन्ने पनि थाहा भयो ।

भानु जयन्तीमा भानुभक्तिय टोपीमा सजिएका आलोक चालिसेले भानुको बारेमा निकै खोजमूलक प्रस्तुति दिनुभएको थियो । पुरुषोत्तम सुवेदीले मीठो शैलीमा कार्यक्रम सञ्चालन गर्दा सबैको ध्यान सुरुदेखि अन्तसम्म स्टेजतर्फ नै टक्क अडिएको थियो । महेश कटुवालजीको व्यवस्थापन प्रशंसा गर्न लायक थियो । कार्यक्रमको अन्तमा मूल आयोजक समितिका पाँचैजनालाई सम्मान-पत्र अर्पण गरिएको थियो । बेलुजीको बर्थ डे परेकाले गर्दा कार्यक्रम समापन पश्चात्को डिनरमा केही रमाइलो माहोल बनेको थियो । नाचगान पनि चल्यो केहीबेर ।

भोलिपल्ट बिहानै होटेल अगाडि बस आइसकेको थियो । तोकिएको समयभन्दा केही ढिलो गरी सबै जम्मा भएपछि बस छुट्यो । हाम्रो पूर्वनिर्धारित योजनाअनुसार नै बस कियोमिजु टेम्पलतर्फ अगाडि बढ्यो । दक्षिणी क्योटोमा अवस्थित १,२०० वर्ष पुरानो यो मन्दिर हेर्दा नै निकै आकर्षक र स्थानीय तथा वैदेशिक पर्यटकको निकै भीड थियो । केही फोटो खिचेर हामी फुसिमी इनारी ताइस्या तर्फ लाग्यौँ । केही मिनेटको बस यात्रामै त्यहाँ पुग्यौँ ।

सन् ७११ मा निर्मित यो मन्दिरले २०११ मा १३०० औँ वर्षगाँठ भव्य रूपमा मनाएको कुरा छेवैमा टाँसिएका भित्तेफोटाहरूबाट प्रस्ट भयो । मन्दिरहरू जाँदा दायाँबायाँ लहरै पसलहरू थिए । नेपालको कुनै मेला लागेको ठाउँको झल्को दिन्थ्यो । अत्याधिक गर्मीले केही साथीहरू चिसो पानी किन्न थाल्नुभयो । तर समय पर्याप्त थिएन ।

समय निकै बचत गर्नुथियो । टोक्योभन्दा क्योटोमा निकै गर्मी महसुस गर्‍यौँ र हतारहतार बसमै छिर्न हतारियौँ । अबको गन्तव्य थियो, बहुप्रतिक्षित गोल्डेन टेम्पल ! जसलाई जापानीमा किन्काकुजी भनेर चिनिन्छ । उत्तरी क्योटोमा अवस्थित सुनले जलप लगाएको यो मन्दिर पोखरीको बीचमा अवस्थित छ । सन् १३९७ मा विलासी आवासगृहको रूपमा बनाइएको उक्त संरचनालाई सैनिक शासकको मृत्युपश्चात् सुनले लेपन गरी अहिलेको रूप दिइएको थियो । चारैतिर हरियालीले ढपक्कै ढाकेको यो मन्दिर विश्व सम्पदासूचीमा सूचीकृत छ ।

बसभित्र हसी मजाक र प्रेम प्रसङ्गका कुराहरू निस्किए । गहिरो प्रेम सम्बन्धपछि बिहे गरेको केही जोडी बसभित्र नै थिए । प्रेमको सुरुवातदेखि अवरोध र बिहे अघिपछिका रोमान्सका कुराहरू पनि थपिए । सबैको ध्यान बसको पछाडिपट्टी खिचियो । अघिल्तिरका केही साथीहरू सुस्ताउनुभयो । यो माहोललाई आलोक चालिसेले निकै रोमान्चक रूपमा हृयान्डिल गर्नुभयो । चाहेर पनि यात्रामा सहभागी हुन नपाउनु भएका साथीहरूले फेसबुक लाइभ हेरेर प्रतिक्रिया जनाइरहनु भएको थियो । हामी भने पूर्वअध्यक्षहरू डा. कुमार बस्नेत, स्व. वेद पौडेल र दिनेशराज ज्ञवालीलाई स्मरण गर्‍यौँ । उहाँहरूको अभाव खड्किरहेको महसुस भयो ।

यही व्यवस्थाका बीच पनि पुष्करको फेसबुक पोस्ट आयो ‘प्रकृतिसँगै साहित्यिक यात्राको यो मज्जा कता खोजेर पाउनु ।’ खुसीहरू स-साना कुराहरूमा मिल्छन्, मात्र आफूले महसुस गर्न सक्नुपर्छ, जान्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment