Comments Add Comment

प्रहरी र रविका समर्थकबीच झडप, केही पक्राउ

Photo Credit : File Photo

९ भदौ, चितवन । चितवनको भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच झडप भएको छ ।

जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस चलिरहेको बेला उनका समर्थकहरुले सार्वजनिक सवारी साधनमा तोडफोड गरेपछि झडप भएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रु ग्यास प्रहार भएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘निषेधित क्षेत्रमा बाहिरै रोकेर राखिएका ट्रक र मोटरसाइकलमा क्षति पुर्याएपछि प्रतिवाद गर्दा झडप भएको हो ।’

बस्नेतका अनुसार, लामिछाने समर्थकले बाहिर मोटरसाइकल र्‍याली निकालिरहेका थिए । त्यही क्रममा तोडफोड भएको हो ।

‘हामीले अहिले केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं । स्थिति सामान्य भएको छ’, उनले भने ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ परेदेखि नै उनका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी चितवन प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ ।

विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन पाइने छैन भनिएको छ । निषेधाज्ञा लागू हुने चार किल्ला समेत तोकिएको छ ।

· पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म

· पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म

· उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म

· दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क अनुसार यो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताएका छन् । यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय तोक्न सक्ने ऐनमा व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment