Comments Add Comment

‘पार्टी मिल्यो, हातहरु मिले तर मन मिलेको छैन’

२३ असार, काठमाडौं । बीस वर्षअघि जुन पार्टीले आफ्नो पतिको हत्या गर्‍यो, आज त्यही पार्टीका नेताहरुलाई आफ्नो नेता मान्नुपर्दा तीर्था गौतमलाई कताकता असहज लाग्छ । तर राजनीतिमा यो सबै स्वीकार गर्नु पर्दो रहेछ । ‘पार्टी मिल्यो, हात पनि मिल्यो तर, मन मिल्न त समय लाग्दो रहेछ,’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद तीर्था भन्छिन्, ‘अझै पनि मन मिल्ने वातावरण बनिसकेको छैन, पीडितहरुको मन मिल्ने वातावरण बनाउनुपर्छ ।’

तीर्थाका श्रीमान एवं रुकुमका तत्कालीन एमाले नेता यदु गौतमको ०५५ साल फागुन २१ गते तत्कालीन माओवादीले हत्या गरेको थियो । त्यसबेला उनी रुकुम क्षेत्र नम्बर २ का उम्मेदवार बनेका थिए र निर्वाचन प्रचार-प्रसारका लागि गरायला गाविस पुगेको बेला हत्या भयो । यदुको हत्यापछि तीर्था राजनीतिमा आइन् ।

त्यसबेलाका एमाले-माओवादी ३ जेठ २०७५ मा एक भए । तीर्था अहिले नेकपाबाट प्रतिनिधिसभा सदस्य छिन् । तर एमाले र माओवादीको मन मिल्न नसकेको उनको बुझाइ छ ।

युद्धको पीडा सबैभन्दा बढी भोग्नेलाई थाहा हुन्छ । आफन्त गुमाउनेलाई त झन् बढी । त्यसैले विप्लव समूहको गतिविधि पनि उनलाई चित्त बुझेको छैन् । विप्लव समूहका नेता/कार्यकर्ता प्रहरी मुठभेडका नाममा मारिँदा पनि उनको मन दुख्छ । ५ असारमा सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल मारिएपछि ९ असारमा राज्य व्यवस्था समतिमा उनी भक्कानिएकी थिइन् । उनले तत्कालीन माओवादी जनयुद्धका कमाण्डरमध्ये एक रहेका गृहमन्त्री रामबहादुर थापालाई इतिहास सम्झन आग्रह गरेकी थिइन् ।

सांसद गौतम सम्बन्धित पक्ष (माओवादी)ले आफूले गल्ती गरेको ठाउँमा पीडितसँग माफी माग्नुपर्ने बताउँछिन् । तर पटकपटक विगतका घाउ कोट्याएर नभई नयाँ ढंगले आर्थिक समृद्धिको यात्रामा लाग्नुपर्नेमा उनको जोड छ ।

उनै गौतमसँग द्वन्द्वपीडितका समस्या र समाधानका प्रयासका सन्दर्भमा गरिएको कुराकानी :

विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको निधनका सन्दर्भमा संसदीय समितिमा बोलिरहँदा भक्कानिुभयो, त्यसबेला के भन्न खोज्नुभएको थियो ?

देशले एउटा द्वन्द्व भोगिरहेको छ । धेरै मानिस शहीद भएका छन् । देश फेरि द्वन्द्वमा गयो भने अर्को क्षति हुनसक्छ । त्यसैले देशलाई द्वन्द्वमा जान दिन हुँदैन भनेर नै बोलेकी हुँ ।

२०५१ सालमा सभासम्मेलन गर्ने, जनताका बीचमा आफ्ना विचार लैजान सकिन्थ्यो, तर देश द्वन्द्वमा गयो । अन्ततः त्यो शक्ति संसदीय अभ्यासबाटै खुला राजनीतिमा आयो । जनयुद्व सम्झौतामा टुंगियो । उनीहरुले जितेको पनि होइन, राज्यले जितेको पनि होइन । तर यो नबुझी फेरि द्वन्द्वको घाउ झल्काउने गरी घटनाहरु हुन थाले । यसले ठूलो रुप लिन्छ कि भन्ने लागेर…।

संसदीय समितिमा बोलिरहँदा मैले रुकुमको एक जना देवकोटा भाइलाई सम्झिँए । उनी आयो-आयो… भन्दै दौडिएर भागिरहन्थे । द्वन्द्वकालको परिस्थिति अर्कै थियो । रातको समयमा माओवादी आउने । उनले आयो-आयो भनेको सुनेकी मैले केही दिनपछि उनले आत्महत्या गरेको सुन्नुपर्‍यो । त्यसैले फेरि द्वन्द्व भोग्नु नपरोस्, हामीले भोगेको समस्या नयाँ पुस्ताले भोग्न नपरोस् । पुराना घटनाहरुको याद आउने गतिविधि नहोस् । भन्ने सोच्दै थिएँ ।

मलाईमात्र होइन, १७ हजार पीडितको परिवारलाई भेट्नु भयो भने अहिलेको घटनाले केही न केही असर परेको पाउनुहुन्छ । भलै अभिव्यक्त गर्ने शैली फरक होला । त्यसैले पीडितलाई कसरी मूलधारमा ल्याउने र उनीहरुको समस्या समाधान गर्ने भन्नेतिर हामी जानुपर्छ भन्ने मलाई लाग्छ ।

विप्लव समूहका नेता मारिएको कुरामा बढी नै भावुक हुनुभयो नि ?

व्यक्तिगत रुपमा उनलाई (कुमार पौडेल) चिन्दिनँ । तर राजनीतिक हवाला दिएर कोही अगाडि बढ्छ भने उसमा केही सोच होला, केही विचार होला भन्नु मान्नुपर्छ । त्यो सोचलाई परिवर्तन गराउन र राजनीतिको मूलधारमा ल्याउन राज्यले पहल गर्नुपर्छ । मान्छे मर्नु हुँदैन । मेरो भनाइ यसतर्फ थियो ।

विप्लव समूह राजनीतिक समूह हो, राजनीतिक रुपमै निकास निकाल्नुपर्छ भन्ने तपाईंको बुझाइ हो ?

उसले जस्ता खालका गतिविधि गरिराखेको छ, त्यो तत्काल बन्द गर्नुपर्छ । बम राख्नेजस्ता गतिविधि गर्नु हुँदैन । विप्लव समूहले आफूलाई वैचारिक रुपमा अगाडि ल्याउनुपर्छ । आफ्ना विचार राख्न, सभा सम्मेलन गर्न पाउने स्वतन्त्रता खोसिएको छैन । जनताको मन जित्न सक्नुपर्छ । बन्दुकले हुन्थ्यो भने त पहिल्यै भइसक्थ्यो । १० वर्ष त उहाँहरु नै लड्नुभयो । फेरि ब्यालेटमै आउनुपर्‍यो । त्यसैले उहाँहरु (विप्लव समूह)ले बम हान्ने, तर्साउने खालका कुराहरु गर्न भएन, राज्यले पनि मार्नु भएन ।

तपाईँकै पार्टीको सरकार छ । नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ । मन्त्रीहरु ‘सहमतिमा नआए सिद्धिन्छ’ भनिरहेका छन् । तपाईँको चाहनासँग त मेल खाएन नि !

उहाँहरुले धेरै बुझ्नुभएको होला, गहिराइमा पुग्नुभएको होला । म त्यतातिर जादिँन । मैले सामान्य ढंगले हेर्दा र भन्दा मान्छे मार्न हुँदैन ।

वार्तामा बोलाएकै हो, आउँदैनन् त के गर्नु भन्छन् नि ?

सरकारले वार्तामा बोलाएको, तर उहाँहरु नआएको भन्ने मैले पनि सुनेको छु । वार्तामा नआएर जनतालाई तर्साइरहनु ठीक होइन । तर पनि सरकारले वार्तामा बोलाउनुपर्छ, वातावरण बनाउनुपर्छ र वार्तामार्फत नै मूलधारमा ल्याउनुपर्छ ।

झापा विद्रोह भयो, १० वर्षे जनयुद्ध भयो । त्यसले पनि भएन र ब्यालेटमै आयौं । अहिले पनि विप्लवजीहरु जंगल जानुपर्दैन । समस्याहरु उजागर गर्न सक्छौं, त्यसमाथि छलफल गर्न सक्छौं । उहाँहरुको विचार जनताले मन पराए भने त ब्यालेटबाट सत्तामा आउन सक्नुहुन्छ । म के भन्न चाहन्छु भने बन्दुक बोकेर तर्साउने काम पहिला पनि दुई-तीन पटक असफल भइसक्यो । फेरि त्यही बाटोमा नलाग्दा हुन्छ । हतियार विकल्प होइन भन्ने इतिहासले देखाइसक्यो ।

तर माओवादी शान्ति प्रक्रियामा आए पनि संक्रमणकालीन न्यायको विषय टुंगिएको छैन । बेलाबेला बिभिन्न कोणबाट टिप्पणी हुन्छन्, यसलाई कसरी लिनु भएको छ ।

दश-बाह्र वर्ष भइसक्यो । यसलाई जति छिटो टुङ्ग्यायो, त्यति राम्रो हुन्छ । अपहरणमा परेका, वेपत्ता पारिएकाहरुको विषय क्लियर गरिदिए हुन्छ । अहिलेसम्म कोही वेपत्ता नै छन् भन्ने मलाई लाग्दैन । त्यो बेला आन्दोलन थियो, यस्तो-यस्तो भयो भनेर सरकारले आफ्नो कुरा राखेर सम्बोधन गरिदिए हुन्छ ।

द्वन्द्वकालीन मुद्दा यति सजिलै टुंगिन्छ त ?

यसलाई कोट्याइराखेर समाधान हुने पनि त होइन । यसरी समस्या समाधान हुँदैन भने नयाँ किसिमले जानुपर्छ । पीडितहरु जति छन्, तिनलाई कसरी अगाडि बढाउने र देशलाई कसरी समृद्ध बनाउने भन्ने कुरामा हामी जानुपर्छ ।

तपाई पनि द्वन्द्वपीडित, द्वन्द्वपीडितकै यसमा बढ्ता असहमति छन्, होइन र ?

पीडितको कुरा गर्दा, कसैले कमाउने मान्छे गुमाएको छ, कसैले अभिभावक कसैले सन्तान गुमाएका छन् । अहिले कसैले भन्दैमा उनीहरुले त्यो क्षण बिर्सन सक्दैनन् । तर देशले केही त पायो भन्ने हुनुपर्छ । माओवादीकै शब्दमा भन्ने हो भने हामीले गणतन्त्र ल्यायौं । जनतन्त्र, गणतन्त्र वा प्रजातन्त्र भनेपनि यो सबै मिलेर ल्याएका हौं । अब विकासको गतिलाई अगाडि बढाऔं ।

पीडितहरुको घाउमा मल्हमम लगाउनुपर्छ । अहिले पनि कतिपय परिवार विक्षिप्त अवस्थामा छन् । (राज्य वा विद्रोही) जुन पक्षबाट गल्ती भएको हो, त्यो पक्ष पीडितकहाँ जानुपर्‍यो, परामर्श गर्नुपर्‍यो र पीडितसँग माफी माग्नुपर्‍यो ।

साँच्चै भन्ने हो भने त्यो बेला एमाले सरकारमा पनि थिएन । द्वन्द्वमा पनि थिएन । तर एउटा कालखण्डमा एमालेमा लागेकै कारण धेरै मारिएका छन् । हिजो किन त्यस्तो भयो भन्ने त बुझाइदिन पर्‍यो नि । राजनीतिक विश्लेषकले त त्यो बेलाको परिस्थिति यस्तो हो भन्लान् । तर, पीडितको पीडा त छ ।

तपाईँले भन्नुभयो, एमाले त्यो बेला सरकारमा थिएन । द्वन्द्वमा थिएन । तर, क्षती व्यहोर्नेमा पर्‍यो । तपाईँको परिवार पनि पर्‍यो । तर अहिले तत्कालीन माओवादी र एमाले मिले । तपाईंहरु एउटै पार्टीमा हुनुहुन्छ, कस्तो लागिरहेको छ ?

म पार्टीको कार्यकर्ता हुँ । नेताहरुले गरेको (पार्टी एकताको) निर्णयलाई मैले स्वीकार गर्नुपर्छ ।

पार्टी मिल्यो, हातहरु मिले तर, मन मिलेको छैन । उहाँहरुलाई पनि अप्ठ्यारो महसुस हुन्छ होला, हामीलाई पनि हुन्छ । अब सबैले मन मिल्ने वातावरण बनाउनुपर्छ ।

मन मिल्ने वातावरण कसरी बन्ला ?

तातेको कराई त सेलाउन समय लाग्छ भने भावना मिल्नलाई समय त लाग्छ नै । यसलाई कसरी लिने भन्ने पनि हो । दुवै पक्षले विगत बिर्सेर अगाडि जान कोसिस गर्नुपर्छ । तै पनि कहिलेकाहीँ अप्ठ्यारो महसुस भइहाल्दोरहेछ ।

हिजो श्रीमानलाई जुन पार्टीका कार्यकर्ताले मारे, त्यही पार्टीका नेताहरुलाई नेता मानेर हिँड्नुपर्छ अप्ठ्यारो लाग्छ कि लाग्दैन ?

त्यो बेला उहाँ चुनावमा हिँड्नुभएको थियो उम्मेदवार भएर । जनताको बीचमा जाँदै हुनुहुन्थ्यो । बाटोमा उनीहरु (माओवादी कार्यकर्ता)ले हत्या गरे । जसरी हत्या गरे, त्यो युद्धमा हुने जस्तो थिएन । युद्धमा त हाकाहाकी गइन्छ, लुकेर त होइन नि । बाहाना पारेर गएर मान्छेलाई मार्ने कुरा त होइन नि ।

तर विगतका घाउ धेरै कोट्याउन चाहन्नँ । कोट्याएर पनि के गर्नु ? मृत्यु भइसक्यो । मान्छे फर्किएर आउँदैन । परिवारले पीडा भोगिरहेको छ । अझ कति भोग्नु छ होला ।

यदुजी प्रजातन्त्रको पक्षमा लडिरहनुभएको थियो, देश र जनताको लागि लडिरहनुभएको थियो । आज उहाँ त हुनुहुन्न, तर उहाँको विचारले जित्यो भन्ने लाग्छ । किनकी उहाँले अगाडि सार्नु भएको विचार नै माओवादीले अंगाल्यो । अब हामीले उहाँको विचारलाई नै अगाडि बढाउने हो । उहाँको भावनाको कदर गर्ने हो ।

त्यस्तो कुनै घटना छ, दुई पार्टी एक भइसकेपछि अप्ठ्यारो महसुस भएको ?

म नेकपाको प्रदेश कमिटीमा छु, केन्द्रीय कमिटीमा छैन । जिल्ला जाँदा कस्तो अनुभव हुन्छ, त्यो हेर्न बाँकी नै छ । स्वाभाविक हो, अलि-अलि फरक त होला । तर धेरै कुरा, उनीहरु (तत्कालीन माओवादी कार्यकर्ता)ले कस्तो ब्यवहार देखाउँछन्, त्यसमा भर पर्छ ।

समाधानचाहिँ के होला ?

गल्ती स्वीकार गर्नुपर्छ । पीडित पक्ष कहाँ गएर हिँजो हामीले गल्ती गरेका हौं भन्ने स्वीकार गर्नुपर्छ ।

सकिन्छ भने नेताहरुले पीडित परिवारलाई भेटेर गल्ती भयो भन्नुपर्छ । र, त्यो परिवारलाई अरु त के गर्न सकिन्छ र हेर्नुपर्छ । किनकी गुमाएको मान्छे त फर्किएर आउने होइन । तर बाँचेकाहरुलाई देशका लागि लड्दा केही गल्ती भयो भन्ने बुझाउनुपर्छ ।

त्यसबेलाको सुप्रिम कमाण्डर प्रचण्ड अहिले नेकपाको अध्यक्ष हुनु भएको छ । उहाँले तपाईंलाई गल्ती भयो भन्नु भएको छ कि छैन ?

छैन । उहाँहरुले हामीबाट के-के भयो भनेर भन्न सक्नुभएको छैन । मैले पनि मेरो श्रीमानलाई किन हत्या गरेको भनेर सोधेको छैन । र, भन्न पनि जादिनँ । किन जानुपर्‍यो ?

जिल्ला तहमा भने औपचारिक कार्यक्रमहरुमा हामीबाट गल्ती भएकै हो भन्नु भएको छ । आत्मालोचना गरेको भन्ने आएको थियो । तर मैले म वा हाम्रो परिवारसँग भन्दा पनि समग्र विषयमा गल्ती स्वीकार गर्नुपर्छ भन्न खोजेको हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment