Comments Add Comment

धारा तेलको ग्यालेनभित्र लागू औषध, दुई भारतीय नागरिक समातिए

१२ भदौ, वीरगञ्ज । खाने तेलको ग्यालेनमा लागू औषध लुकाएर ल्याउँदै गरेका दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले विहीबार वीरगञ्जबाट पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट सशस्त्र प्रहरीले भारत मोतिहारी जिल्ला मोर्जे–२० का ३५ बर्षीय धर्मेन्द्र साह र १८ बर्षीय पिन्टु कुमार पासवानलाई नियन्त्रणमा लिएको हो ।

रक्सौलबाट वीरगञ्ज आउँदै गरेको अवस्थामा धारा तेलको ग्यालेनमा शिलबन्दी गरी अवैद्य लागूऔषधसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले बताए ।

ग्यालेनभित्र डाईजेल्याब ४ सय थान, नोफिन ३९० थान, फेनारगन ४ सय १० थान राखेर शिलवन्दी गरेर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

थोरै तरकारीसँगै झोलामा तेलको ग्यालेन देखेपछि शंका लागेपछि उनीहरुमाथि खानतलासी गरेको ड्युटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक बहादुर थापाले बताए । ‘अटोमा चेकजाँच गर्दै थियौं, झोलाको बीचमा धारा तेलको ग्यालेन, लौका, घिरौँला, करेला लगायत तरकारी एक दुई पीस मात्रै थियो ।’ उनले भने, ‘उनीहरुले त भोजपुरी भाषमा ‘तरकारी बा सर’ भन्दै थिए, शंका लागेर हेर्दा ग्यालेनमा तेल थिएन । लागु औषध पो भेटियो ।’

रानी तेलको बट्टामा यसअघि पनि मकवानपुरका एक व्यक्तिले कोरेक्स सहित पक्राउ परेको अनुभवले उनीहरु पक्राउ परेको उनले बताए । पक्राउ परेका दुवैजनालाई लागू औषधसहित आवश्यक कारबाहीका लागि लागु औषध नियन्त्रण व्यूरो कार्यालय वीरगञ्जलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरि पर्साको पर्सागढी नगरपालिका– २ बाट लागुू औषध गाँजासहित एक जना महिला पक्राउ परेकी छिन् । सखुवा प्रसौनी गाउँपालिका–१ बस्ने ४५ बर्षिय तारा पासवानलाई पक्राउ गरिएको हो ।

शसस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प वागेश्वरी र अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको संयुक्त प्रहरी टोलीले ४ किलो गाँजासहित उनलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment