Comments Add Comment

गाउँमा बाँझिएको जग्गामा पौरखी युवाले रोपे अदुवा र बेसार

१४ भदौ, गोरखा । गोरखा नगरपालिका–८ कट्टेलडाँडाका युवाहरु गाउँको बाँझो जमिनमा खेती गर्न जुटेका छन् । ४० जनाको समूह बनाएर उनीहरुले हलेदो र अदुवा खेती शुरु गरेका हुन् ।

उनीहरुले गाउँमा बाँझो बसेको ३५ रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरेका हुन् । समूहका उपाध्यक्ष रमणबाबु कट्टेलका अनुसार २० रोपनीमा हलेदो र १५ रोपनीमा अदुवा लगाइएको छ । २८ रोपनी जग्गा भाडामा र ७ रोपनी निशुल्क प्रयोग गरिएको उनले बताए ।

उक्त जग्गामा १० क्वीन्टल हलेदो र ४ क्वीन्टल अदुवा रोपिएको छ । सल्यानको कपुरवोटबाट विरुवा ल्याइएको कट्टेलले जानकारी गराए । ‘हलेदो जति रोपिएको छ त्यो भन्दा आठ गुना बढी उत्पादन हुन्छ भनेर प्राविधिकले भनेका छन्, १० क्वीन्टल रोपेका छौ, ८० क्वीन्टल उत्पादन हुन्छ भन्ने अनुमान छ,’ समूहका सदस्य उत्सुक कट्टेलले भने । अदुवा चार गुना बढी उत्पादन हुने प्राविधिकले बताएका छन् ।

पहिलो बर्ष उत्पादन भएको हलेदो र अदुवा गाउँकै बाँझो जमिनमा रोप्ने समूहले योजना बनाएको छ । ‘गाउँको बाँझो जमिनमा खेती गर्ने लक्ष्यका साथ युवाहरु जुटेका हौ, पहिलो उत्पादनलाइ यहीँको बाझो जमिनमा रोप्छौ,’ समूहका अर्का सदस्य सुवोध कट्टेलले भने । गाउँमा करिव ८० प्रतिशत खेतीयोग्य जमिन बाझो रहेको समूहले अनुमान गरेको छ ।

गाउँमा जमिन बाँझो रहन नदिने लक्ष्य लिएको समूहले आगामी बर्ष करिव ३ सय रोपनी क्षेत्रफलमा खेती बिस्तार गर्ने योजना बनाएको छ । परीक्षणका लागि खेती शुरु गरिएको बताउदै कट्टेलले भने, ‘यो बर्ष राम्रो उत्पादन भयो भने अर्काे बर्ष पनि हलेदो र अदुवा रोप्छौ, भएन भने अर्कै खेती शुरु गर्छाै ।’

कामको सिलसिलामा जिल्ला वाहिर बस्दै आएका युवाहरुले समूह गठन गरी खेती सुरु गरेका हुन् । यो समूहमा २० देखि ४५ बर्ष उमेरसमूहका व्यक्तिहरु रहेका छन् । समूहका केही सदस्य जिल्ला बाहिर बस्छन् । केही सरकारी कर्मचारी हुन् । तर उनीहरु प्रत्येक महिनाको शनिबार गाउँमा भेला हुन्छन् । हलेदो र अदुवा खेती गोडमेलमा आफैं जुट्छन् ।

समूहका सदस्यले १०/१० हजार रुपैयाँ जुटाएर २ लाख पुर्‍याएर खेती सुरु गरेका हुन् । बिक्री वितरण नभए पनि लामो समय सम्म नविग्रने र अन्य खेतीलाइ जस्तो स्याहार सुसार गर्न नपर्ने भएकाले हलेदो र अदुवा खेती रोजिएको समुहका उपाध्यक्ष कट्टेल बताउछन् । ‘बादरले गाउँमा दुख दिएको छ, जे खेती गरे पनि नष्ट गरिदिन्छ, हलेदो र अदुवालाई भने केही गर्दैन रहेछ त्यही भएर पनि यही खेती रोजेका हौं,’ उनले भने ।

गाउँको बाँझो जमिनहरुमा खेती विस्तार गर्दै जाने लक्ष्य समूहले लिएको छ । ‘बाँझो बसेको अरुको जग्गा खेती गर्न हामीलाई दिनुस् भन्छौ, सकेसम्म निशुल्क माग्छौं नभए केही पैसा दिएर भए पनि खेती गर्छाै,’ उनले भने । मकै, घास समेत लगाएको समूहले आगामी दिनमा कफी खेती गर्ने लक्ष्य राखेको छ ।

खेती गर्दै गर्दा व्यवस्थापन पक्षमा भने समस्या भएको समूहले जनाएको छ । ‘हलेदो र अदुवा खेतीमा घाँस बढी उम्रिदो रहेछ, गोडमेल गर्न समस्या छ फेरि छापो हाल्नका लागि स्याउला सामुदायिक वनबाट नपाउँदा समस्या भएको छ,’ कट्टेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment