Comments Add Comment

अब नेपाल पनि बोल्नेछ !

१ असोज, काठमाडौं । ‘लामो समयसम्म हाम्रो भूमिका स्रोता बढी, वक्ता कम रह्यो । अब बेला आयो, आफ्ना कुरा शेयर गर्ने, मुद्दाहरुमा बहस चलाउने ।’

सरकार र त्यसमा पनि परराष्ट्र मन्त्रालयले निकै प्राथमिकताका साथ अघि सारेको ‘सगरमाथा सम्वाद’ किन आयोजना गरिँदैछ भन्ने प्रष्ट्याउँदै मन्त्री प्रदीप ज्ञवालीले भनेका छन् ।

उनकाअनुसार देश लामो समय संक्रमणकालमा अल्झिँदा विश्वलाई भन्न सकिने, सुनाउन सकिने कयौं विषयहरु ओझेलमा परेका छन् । त्यस्ता विषयहरु अब विश्व समुदायलाई सगरमाथा सम्वादबाट सुनाइनेछ ।

‘हामीले शान्तिपूर्ण ढंगले लोकतान्त्रिक रुपान्तरण गर्‍यौं, प्रगतिशील संविधान बनायौं । संविधानका कयौं विषयले संसारका धेरै अभियन्ता, अध्येताहरुलाई सहज बनाएको छ । त्यसलाई हामीले किन शेयर नगर्ने ?’, उनले भने, ‘मौलिक ढंगले शान्ति प्रक्रियालाई सफल बनायौं । यसलाई किन शेयर नगर्ने ?’

समावेशीता र त्यसमा पनि लैंगिक समानतामा ठूलो फड्को मारेको भन्दै उनले रोचक घटना सुनाए ।

उनकाअनुसार अप्रिलमा राष्ट्रपति चीन भ्रमणमा रहँदा जापानका सत्तारुढ दलका नेताले भेट्न समय मागे । ‘हामीलाई लागेको थियो, यो भेटघाट दुई देशको सम्बन्ध या अक्टोबरमा हुने नयाँ राजाको गद्धिआरोहण वा अरु विकासका मुद्दामा केन्द्रित हुनेछ’, उनले भने, ‘हामीले झण्डै ५५ मिनेट बितायौं । तर सिंगो छलफलको सार थियो, लैगिक समावेशीताको सवालमा नेपालले हामीलाई धेरै पछाडि छाडिसक्यो । तपाईहरुको संसदमा ३३ प्रतिशत महिला सहभागिता छ, निर्वाचित निकायहरुमा ४१ प्रतिशत पुगिसकेको छ । हामी कहाँ त जम्मा १० प्रतिशत छ । हामी यो मामिलामा नेपालले कसरी यत्रो फड्को मार्‍यो सिक्न चाहन्छौं, प्रतिनिधिमण्डल पठाउन चाहन्छौं भन्ने थियो ।’

उनकाअनुसार ‘सगरमाथा सम्वाद’मार्फत नेपाले आफ्ना यस्ता उपलब्धीहरु विश्वलाई सुनाउनेछ ।

‘हाम्रा अनुभवहरु बाँडौं, नीतिहरुमा वकालत गरौं, आफ्नो तर्फबाट केही योगदान गरौं भनेर स्थायी मञ्चका रुपमा सगरमाथा सम्वाद स्थापना गरेका हौं’ मन्त्री ज्ञवालीले भने ।

उनकाअनुसार हरेक दुई वर्षमा कार्यक्रम हुनेछ । केही समयपछि भने हरेक वर्ष यो कार्यक्रम गर्न सकिने मन्त्रालयको बुझाइ छ । मन्त्रालयका अनुसार पहिलो सगरमाथा संवाद आगामी चैत २१ र २२ मा आयोजना हुनेछ, जसमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुनेछ ।

सगरमाथा संवाद निर्देशक एवं आयोजक समितिका संयोजक समेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले पछिल्लो समयमा विश्व मञ्चहरुमा वातावरण, जलवायु परिवर्तन, विश्व व्यापार, अर्थतन्त्र, आतङ्कवाद, आप्रवासन, बौद्धिक सम्पत्ति, सूचना प्रविधि तथा अन्य नवीनतम प्रविधिजस्ता विषयले महत्व पाएको बताए । उनले भने, ‘त्यस्ता विषयमा विश्व समुदायको ध्यान आकृष्ट गर्न, अन्तर्राष्ट्रिय समर्थन तथा सहानुभूति प्राप्त गर्न यो संवाद उपयोगी हुने छ ।’

वनमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका नकारात्मक असरबारे सबै नेपालीलाई बुझाउनुपर्ने बताए ।

कार्यक्रममा सगरमाथा संवाद आयोजक समितिले संवादमा समेटिनुपर्ने विषयबारे विज्ञहरुको राय मागेको थियो । सगरमाथा शब्दलाई विश्वव्यापी बनाउन यो फोरम उपयुक्त हुने कतिपयले बताए । उनीहरुले कार्यक्रममा बढीभन्दा बढी राष्ट्रका सरकार प्रमुख तथा उच्च पदस्थ प्रभावशाली व्यक्तिहरुलाई सहभागिता गराउनेतर्फ पहल थाल्न सुझाव दिएका छन् ।

आएका सुझावलाई समेटेर सरकारको धारणा बनाइने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment