Comments Add Comment

प्रधानमन्त्री निवासको शिलान्यास, यस्ता छन् विशेषता

Photo Credit : चन्द्र आले/अनलाइनखबर

२ असोज, काठमाडौं । सरकारले प्रधानमन्त्रीको सरकारी निवासका लागि नयाँ भवन बनाउने भएको छ । हालको बालुवाटारस्थित हालको निवास परिसरभित्रै नयाँ भवनको शिलान्यास गरिएको छ । प्रधानमत्री केपी शर्मा ओलीले बिहीबार बिहान धार्मिक विधिपूर्वक भवनको शिलान्यास गरेका हुन् ।

हालको सरकारी निवास भूकम्पले क्षति पुर्‍याएको भन्दै ४० करोड रुपैयाँ (भ्याटबाहेक) खर्च गरेर नयाँ भवन बनाउन लागिएको हो । नयाँ भवन २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

प्रधानमन्त्री निवासका लागि दुईवटा नयाँ भवन बन्ने छन् । साढे दुई तलाको एउटा भवन प्रधानमन्त्रीको निजी प्रयोजनका लागि हुने छ भने तीन तलाको अर्को भवन सार्वजनिक प्रयोजनका लागि प्रयोग गरिने छ । निजी भवन बनाइसकेपछि मात्रै सार्वजनिक भवन बनाउन थालिने छ ।

निजी भवनमा के–के हुन्छ ?

प्रधानमन्त्रीले मात्रै प्रयोग गर्ने भएकाले यो भवनलाई निजी भवन भनिएको हो । करिब एक रोपनी क्षेत्रफलमा फैलिने यो भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० युनिट निर्माण गरिनेछ । जहाँ पाहुना रुम, लिभिङ रुम, किचन र डाइनिङ, लुगा धुने लाउन्ड्री, सुरक्षा कोठालगायतका संरचना हुने छन्  ।

भवनको पहिलो तलामा विभिन्न प्रयोजनका लागि १५ युनिट बनाइनेछ । यो तलामा प्रधानमन्त्री सुत्ने कोठा, पढ्ने कोठा, पूजा कोठा र खाना खाने कोठा हुनेछन् ।

दोस्रो तला भने अति विशिष्ट पाहुनाको प्रयोजनका लागि छुट्याइने छ । जहाँ विभिन्न ११ युनिट निर्माण गरिनेछ ।

यस्तो हुने छ सार्वजनिक भवन

तीन तलाको सार्वजनिक भवन करिब दुई रोपनी क्षेत्रफलमा निर्माण हुने छ । भवनको बीचमा नेपाली परम्परागत शैलीको चोक हुने छ । चोकमा नेपालको संस्कृति झल्कने कला र मुख्य धरोहरको नमूनासमेत निर्माण गरिनेछ ।

भुइँतलामा अति विशिष्ट व्यक्तित्वसँगको भेटघाट कक्ष हुने छ । भुइँ तलामै आपतकालीन समयमा मन्त्रिषरिषद बैठक बस्नका लागि क्याबिनेट हल पनि बनाइने छ । प्रधानमन्त्रीसँग मन्त्रीहरूसँगको भेटघाट पनि यहीँ हुनेछ ।
४० जना क्षमताको डाइनिङ हल, भान्सा कोठा र सञ्चार कक्ष पनि हुने छ । सुरक्षाकर्मीका लागि कन्ट्रोल रुम, एडिसी कार्यालय र प्रधानमन्त्रीको कार्यकक्ष पनि भुइँ तलामै हुनेछ ।

पहिलो तलामा सार्वसाधारणसँग भेटघाट गर्ने र भोजभतेर गर्ने लगायतका कोठा हुने छन् । पहिलो तलामै प्रधानमन्त्रीले विभिन्न संस्था, व्यक्ति र देशबाट पाएका उपहार राख्ने ठाउँ पनि हुने छ । यो तलामा दुईवटा प्रतीक्षा कक्ष र एउटा होल्डिङ हल हुनेछ । होल्डिङ हलमा प्रतीक्षा कक्षबाट प्रधानमन्त्रीलाई भेट्ने कोठासम्म जाने आगन्तुकलाई केहीबेर पर्खाइने छ ।

प्रधानमन्त्रीको पीएको कोठा, सैलुन, डाक्टर रुम, डेन्टल रुम, भान्सा र भान्साको सामान राख्ने कोठा पनि पहिलो तलामै हुनेछन् ।

भवनको तेस्रो तलामा प्रधानमन्त्री कार्यालय कक्ष, पुस्तकालय, स्टुडियो, लबीलगायत संरचना हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment