Comments Add Comment

मनसुन लम्बिने, अझै वर्षाको सम्भावना   

४ असोज, काठमाडौं ।  नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । “यस वर्ष औसतभन्दा मनसुनको सयम लम्बिने सम्भवना रहेको छ”, उनले भनिन् । मनसुनको समय लम्बिए पनि भारी वर्षाको सम्भावना भने छैन । छोटो समयमा हल्कादेखि मध्यम हुने मौसमविद्को भनाइ छ ।

राति देशका मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशभरि सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

सोमबार देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै पूर्वका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा पहिरो जानसक्ने तथा नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment