Comments Add Comment

प्रधानमन्त्री भन्छन्- चीनसँग माग्ने सूची छैन, सी विचारधारा नेपालमा अनुपयुक्त

१७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न भ्रमणमा के-के माग्ने भनेर नेपालले सूची नबनाएको दाबी गरेका छन् । उनले सी विचारधारा नेपालमा उपयुक्त नभएको पनि बताएका छन् ।

चीनसँगको मित्रता आफूहरूको पहिलो प्राथमिकतामा रहेको र त्यसकै अभिवृद्धिका लागि भ्रमणको तयारी केन्द्रित रहने प्रधानमन्त्री ओलीको दाबी छ । ‘कुनै पनि देशका सरकार प्रमुख वा राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण हुँदा के-के पाउने भनेर सूची बनाएर बस्न हुँदैन । हामीले मित्रताको अपेक्षा गर्नुपर्छ’, सीको आसन्न भ्रमणबारे गोरखापत्रले गरेको कुराकानीमा ओलीले भनेका छन्, ‘भौतिक अपेक्षा तपसिलका प्रतिफलका रूपमा आउने कुरा हो । मुख्य कुरा मित्रता अभिवृद्धि नै हो ।’

मित्रता नहुँदा सबै कुरा समाप्त हुने र हुँदा धेरै कुरा प्राप्त गर्न सकिने भएकाले मित्रतालाई नै आफूले जोड दिने प्रधानमन्त्रीको भनाइ छ ।

तराईको बाली हिमाली भेगमा लगाउन खोज्यो भने हुँदैन । हिमालको तराईमा जँच्दैन । हिउँदमा लगाउने बाली जाडोयाममा लगाउँदा हुँदैन, हामी सार्वभौमसत्ता सम्पन्न राष्ट्र हौं । हाम्रो परिस्थिति र अरूको परिस्थिति मिल्दैन । निकै अगाडि रहेको चीनसँग हाम्रो परिस्थिति मिल्दैन

प्रधानमन्त्री ओलीले मित्रता प्राथमिकतामा रहेको बताए पनि घुमाउरो भाषामा व्यापार तथा लगानी वृद्धि चीनबाट चाहेको संकेत गरेका छन् । चीनबाट प्रविधि हस्तान्तरण होस् भन्ने इच्छा पनि उनले व्यक्त गरेका छन् । ‘मित्रता बहुआयामिक ढंगले अघि बढोस् । जसमा हामी व्यापार वृद्धि गर्न सकौं, जसले लगानी निम्त्याउन सकोस्’, ओलीले भनेका छन्, ‘टेक्नोलोजी ट्रान्सफर गर्न सकौं । बढी अपेक्षा भनेको यही हो ।’

सत्तारूढ नेकपा सी विचारधाराबाट प्रभावित भएको बताइरहेका छन् । काठमाडौंमा गरिएको दुई देशका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताबीचको अन्तर्क्रियापछि कतिपयले नेकपाले सी विचारधारा अँगाल्न लागेको भनेर आलोचना गर्दै आएका छन् ।

तर, प्रधानमन्त्री ओलीले भने सी विचारधारा नेपालका लागि उपयुक्त नभएको प्रतिक्रिया दिँदै पछिल्ला प्रचारलाई दरिद्रता र संकिर्णताको संज्ञा दिएका छन् । चीन र नेपालको परिस्थितिमा भेद रहेकाले सी विचारधारा अँगाल्ने सवाल नरहेको प्रधानमन्त्रीको प्रस्टोक्ति छ ।

‘तराईको बाली हिमाली भेगमा लगाउन खोज्यो भने हुँदैन । हिमालको तराईमा जँच्दैन । हिउँदमा लगाउने बाली जाडोयाममा लगाउँदा हुँदैन’, नेपाल सी विचारधारामा जान लाग्यो भनेर प्रचार भइरहेको छ, खासमा तथ्य के हो भन्ने गोरखापत्रको प्रश्नमा ओलीले भनेका छन्, ‘हामी सार्वभौमसत्ता सम्पन्न राष्ट्र हौं । हाम्रो परिस्थिति र अरूको परिस्थिति मिल्दैन । निकै अगाडि रहेको चीनसँग हाम्रो परिस्थिति मिल्दैन ।’

ओलीले चीनसँग मात्रै नभएर भारतसँग पनि नेपालको परिस्थिति नमिल्ने बताएका छन् । जापान, अमेरिकालगायतका अन्य देशसँग पनि नेपालको सन्दर्भ नमिल्ने भएकाले आफ्नै आवश्यकताअनुसार अघि बढ्नुपर्ने मत प्रधानमन्त्री ओलीको छ ।

प्रधानमन्त्री ओलीले बौद्धिक जगत् हचुवाको भरमा आलोचनामा उत्रिएको भन्दै आक्रोशसमेत पोखेका छन् । ‘बुद्धिजीवी भएर अबौद्धिक तर्क गर्नेहरू पनि छन् । उनीहरूको कुरा सुनेर मलाई दया मात्र लाग्छ’, प्रधानमन्त्रीले भने ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय छविसमेत नेपालको उचो भएको दाबी गरेका छन् । विगतमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर रहे पनि अहिले सुनिन र देखिन थालेको प्रधानमन्त्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment