Comments Add Comment

अमेरिकामा बेरोजगारीको दर ५० वर्षयताकै न्यून

१८ असोज, काठमाडौं । अमेरिकामा बेरोजगारीको दर ५० वर्षयताकै कम भएको छ । चीनसँगको ट्रेड वारका कारण मन्दीको आशंका बढीरहेको बेला यसलाई अमेरिकी अर्थव्यवस्थालाई ‘राहत’ भनिएको छ ।

अमेरिकी श्रम मन्त्रालयकाअनुसार बेरोजगारीको आँकडा गत सेप्टेम्बर महिनामा ३.७ प्रतिशत थियो । अहिले बेरोजगारीको दर घटेर ३.५ प्रतिशतमा पुगेको बीबीसीले जनाएको छ । गत महिना १ लाख ३६ हजार रोजगारी सिर्जना भएको छ ।

अमेरिकाको आर्थिक स्थिति कमजोर भएको रिपोर्ट आइरहेको बेला यो तथ्यांक सार्वजनिक भएको हो ।

विगत १५ महिनादेखि चीनसँग ट्रम्प प्रशासनको ट्रेड वार चलिरहेको बेला अमेरिकाको अर्थव्यवस्थामा धब्बा लाग्ने आशंका गरिएको छ । अमेरिका र चीनबीचको व्यापार युद्धले अन्य देशले पनि आर्थिक मन्दीको सामना गरिरहेका छन् ।

अमेरिका र चीनबीचको व्यापार युद्धका कारण कारोबारीहरुको आत्मविश्वास धरासायी भएको छ र यसबाट लगानी तथा विनिर्माणमा पनि धक्का लागेको छ ।

नयाँ रोजगारी सिर्जनामा मन्दी र बेरोजागरी दरमा आइरहेको तीव्र गिरावटपछि अमेरिकी रिजर्भ बैंकले फेरि एकपटक व्याजदरमा कटौती गर्नुपर्ने अवस्था आउन सक्ने अर्थव्यवस्थाका जानकारहरुले अनुमान गरेका छन् । अमेरिकी रिजर्भ बैंकले विगत तीन महिनामा दुई पटक ब्याजदरमा कटौती गरिसकेको छ ।

यसै हप्ताको सुरुवातमा केही आर्थिक सर्वेक्षणपछि शेयर बजारमा गिरावट आएको थियो । विनिर्माणको क्षेत्र अमेरिकी अर्थव्यवस्थाको सबैभन्दा कमजोर पक्ष रहे पनि सेवा क्षेत्र भने बलियो देखिएको छ ।

अमेरिका अहिले पनि विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक हो । यदि अमेरिकामा मन्दी आएमा बाँकी देशहरु पनि त्यसबाट अछुतो रहन सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment