+
+
Shares
दशैं बहस :

दशैंः सांस्कृतिक कि धार्मिक पर्व ?

डोलु आले मगर डोलु आले मगर
२०७६ असोज २० गते १३:१६

हरेक वर्ष आउने दशैंले एउटा बहस सिर्जना गरिदिन्छ । दशैं पर्व आदिवासी जनतातिको हो कि होइन ? उनीहरुले दशैं मान्ने कि बहिष्कार गर्ने ? यो हिन्दुहरुको धार्मिक चाड हो कि समस्त नेपालीको सांस्कृतिक चाड ? हरेक दशैंले यस्तै प्रश्नहरु बोकेर आउँछ ।

आदिवासी–जनजाती समुदायको एउटा हिस्साले आफूहरुलाई राज्यले धार्मिक तथा सांस्कृतिक विभेदमा पारेको कारणले हिन्दुहरुको दशैं पर्व मनाउनु हुन्न भन्छन् । विरोध र बहिष्कार गर्नुपर्छ पनि भन्छन् । अर्को तप्काले चाहिँ यो आदिवासी–जनजातिहरुकै चाड भएको र यसलाई कालान्तरमा राज्यले हिन्दुकरण गरेको तर्क गर्छन् । अन्नवाली भित्र्याउने समय उत्सवको रुपमा यो चाड मनाउनुपर्ने उनीहरुको राय हुन्छ ।

हिजो नेपालमा त्यस्तो किसिमको राज्य व्यवस्था र शासन पद्दति थियो जहाँ सामाजिक, राजनीतिक, सांस्कृतिक, भाषिक र धार्मिक स्वतन्त्रता, समानता र न्यायको बहसमा बन्देज थियो । तर व्यवस्था परिवर्तनसँगै हरेक समुदाय तह र तप्काबाट बहस सिर्जना भएको देखिन्छ ।

यसैक्रममा दशैं पर्वबारे आदिवासी जनजाती समुदायमा वैचारिक मन्थन हुनु अस्वभाविक होइन । यो पर्व आफ्नो मौलिक पर्व भएको तर यसलाई हिन्दुकरण गरिएको भन्दै दशैं पर्व मनाउनुपर्ने बहस एकातिर देखिन्छ भने अर्कोतिर शासकहरुले आफूहरु माथि एकल धर्म लाद्ने अभियान स्वरूप जबरजस्ती लादिएको चाड हो भन्ने गरिन्छ ।

जसले जतिसुकै र जेसुकै तर्क गरे पनि यथार्थ के हो भने दशैँलाई इतिहासदेखिका शासकहरूले हिन्दूहरुको मात्रै चाड बनाउने जोडबल गरेकै हो । राज्यका स्रोत र साधन प्रयोग गरेर शासक वर्गले आफ्नो निहीत सत्ता र शक्तिको स्वार्थको खातिर एकात्मक व्यवस्था टिकाउन र लाद्न दशैंलाई प्रयोग गरेकै हो ।

महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि प्राप्त गरेको विजय, देवी दुर्गाले दैत्य चण्ड–मुण्ड तथा शुम्भ–निशुम्भलाई बध गरेको खुसियालीमा हिन्दु धर्मावलम्बीहरुले मनाउने चाड हो दशैं । यस आधारमा दशैं हिन्दु धर्मसँग सम्बन्धित धार्मिक पर्व हो भन्ने कुरामा धेरै विवाद देखिन्न ।

अझ कतिपयको तर्क त गोरखाका मगर राजाको हत्या गरी आफू राजा भएको खुशीयालीमा द्रव्य शाहले आश्विन शुक्लपक्षभरि रामरमिता मनाएको, रंगरेलिया गरेको हुनसक्ने र त्यसै घटनालाई वार्षिकोत्सवको रुपमा वर्षेनि मनाउँदै आउने क्रममा नेपालमा दशैं संस्कृति विकसित भएको भन्ने पनि छ । शासकहरुले आफ्नो सत्ता र शक्ति स्वार्थको निम्ति नेपाल जस्तो विविधताले भरिपूर्ण समाजमा एकल भाषा, एकल भेष र एकल धर्म भन्ने नीतिलाई प्रयोग गर्दा प्रतिरोधस्वरूप दशैं पर्वको विरोध र बहिस्कारजस्ता अप्रिय आवाजहरु उठ्न पुगेको हो भन्ने कुरामा दुईमत नहोला ।

नेपाल जस्तो विविधतायुक्त समाजमा एकअर्काको संस्कार, संस्कृति अन्तरघुलित भएको छ । यसबाट दशै अछुतो रहने कुरा रहेन । दशैंलाई कतिपयले हिन्दु धार्मिक पर्वको रुपमा मनाउँदै आए होलान् कतिले सांस्कृतिक र प्राकृतिक पर्वको रुपमा । तर यो देशका शासक र शोषकहरुले यसलाई केवल धार्मिक चाडको रुपमा ब्याख्या गरेर कुन्ठित गरे ।

तर यसको अर्थ यो हैन कि दशैं गैरहिन्दुहरुले मनाउनु हुँदैन र विरोध गर्नुपर्छ । गैरहिन्दुहरुले पनि दशैं मनाउँदा बिग्रने केहि होइन र मान्न छाडे पनि दुर्गति भैहाल्ने होइन । तर हामीले हाम्रो देश अनि समाजमा भएको विविधतालाई कसरी ग्रहण गर्ने र किन गर्ने ? भन्ने प्रश्न प्रधान हुनुपर्छ । सबैभन्दा पहिले त यो चेत शासकहरुको मगजमा घुस्नुपर्छ । नेपाल जस्तो बहुभाषिक, बहुधार्मिक, बहुसंस्कृतिक, बहुजातीय, बहुभेष युक्त विविधताले भरिपूर्ण भएको देशमा एकल भाषा, एकल भेष, एकल धर्मको नीतिले के फाइदा गर्यो ?

कुन धर्म मान्ने ? कुन संस्कार अवलम्वन गर्ने ? कुन भाषा बोल्ने र कुन भेष लगाउने ? त्यो व्यक्तिगत स्वतन्त्रताको विषय हो । यसलाई न राज्यले, न सम्बन्धित समुदायले नियन्त्रण गर्नु बान्छनीय हुन्छ । तर एउटा सचेत व्यक्तिले परम्परादेखि मान्दै आएको भाषा, भेष, धर्म, संस्कार र संकृतिको असल पक्षलाई ग्रहण र संरक्षण गर्दै खराब पक्षहरुलाई त्याग्दै जानुपर्छ भन्ने दायित्वबोध गर्न जरुरी छ ।

आफ्नो धर्म, संस्कार, संस्कृति, परम्पराइतरको भन्दैमा उग्र विरोधको अनुचित नारा र कुरा गर्दा हाम्रो जस्तो विविधताले भरिपूर्ण समाजलाई कुनै दृष्टिकोणबाट पनि फाइदा हुने छैन भन्ने कुरा व्यक्ति, समाज र समुदायले मनन गर्नुपर्छ । सामाजिक सद्भाव र भाइचारालाई ख्याल गर्नुपर्छ । दशैं नमनाउनेहरु विदेशी दलाल हुन्, संस्कार, संस्कृति विरोधी हुन्, कृश्चियन हुन्, अराष्ट्रिय हुन् भन्नेहरु र दशैँ बहिस्कार गर्नुपर्छ भन्नेहरु दुवै अराजक अतिवादले ग्रसित तत्वहरु हुन् । कुनै पनि सामाजिक विषयमा बहस गर्दा सामाजिक सद्भाव र आपसी भातृत्व र भाइचारालाई ख्याल राख्न जरुरी छ ।

नेपालको धार्मिक, सांस्कृतिक, भाषिक र भेषको विविधता एक अनुपम उपहार हो । हरेक समुदायले मनाउने चाडपर्वको आ-आफ्नै महत्व र अर्थ छ । सबैले एक–अर्काको मूल्य मान्यता, संस्कृति, विश्वास, आस्था र धर्म चाडपर्वहरुमा सद्भाव राख्नु जरुरी छ । सहिष्णुता दोहोरो अर्थात् सबैमा हुनु जरुरी छ । यसले मात्रै नेपाल र नेपालीको हित गर्न सक्छ ।

दशैं मनाउनेहरुले नमनाउनेहरुलाई किन नमानेको भन्ने प्रश्न गर्नु पनि जरुरि छैन । किनभने सबैले माघे संक्रान्ति, छठ्, लोसार, इद, साकेला उभौली, उधौंली, बुद्धजयन्ती मनाउँदैनन् । तिनीहरुलाई पनि किन नमनाएको ? भनेर कहिलै प्रश्न सोधिदैन ।

राष्ट्रियगानमा भने जस्तै ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली’ भन्ने यथार्थलाई मनन गर्दै राज्यले सोही अनुसारको व्यवहार गर्न जरुरी छ । सांस्कृतिक हिसाबले आफ्नो होइन, तर पनि छिमेकी समुदायको चाडबाडमा कोही दुःखी हुँदैन । आनन्दले मनाइदिन्छ उसले पनि । यही हो आदिवासी, जनजातिको राम्रो कुरा । हो यहि गुण समाज, समुदाय र व्यक्तिमा पनि कायम रहिरन जरुरी छ । अरुको होस् या आफ्नो, कुनै पनि एकअर्काको संस्कार पर्वलाई सम्मान गर्नु जरुरी छ ।

दशैं आदिवासी–जनजातीहरुको पर्व थियो तर यसलाई हिन्दुकरण गरियो भन्ने तर्कमा चाहिँ कुनै आधार देखिन्न । विगत दशकौंदेखि राज्यकै तहबाट दशैं हिन्दुहरुकै धार्मिक पर्व भन्दै आउने, रेडियो, टेलिभिजन, पत्रपत्रिका जताततै हिन्दुहरुको महान चाड भन्दै फलाक्दै, लेख्दै आउने सिलसिला रह्यो । तर अहिले जब आदिवासी जनजातीहरुले क्रमशः दशैँ मनाउन छाड्दै गएपछि दशैँ आदिवासी जनजातीहरुकै रैथाने चाड हो भन्नु हाँस्यास्पद देखिन्छ ।

अझ विभिन्न शक्तिपिठहरुमा मगर, राई, लिम्बु, थारुहरु पुजारी भएको दृष्टान्त देखाएर दशैं आदिवासी जनजातीहरुकै चाड भएको तर्क गर्नु कुतर्क मात्रै हो । ति शक्तिपिठहरुलाई हिन्दुकृत गरिएका हुन् । संस्कारिकरुपमा बलिप्रथाबाट प्रकृति पुजक आदिवासी–जनजातीहरुको ठानलाई (शक्तिपिठ र मन्दिर) बिभिन्न भगवान र शक्तिपिठको नाम धारण गरिदिएका हुन् । ति शक्तिपिठहरुमा पनि काटमार गर्नेमा मात्रै मगरहरु हुन्छन्, भेटी उठाउने र पाठ गर्नेमा ब्राह्मण नै । क्रमश आदिवासी जनजातीहरु हिन्दुकरण हुने क्रम बढेसँगै दशैंलाई पनि आदिवासी जनजातीहरुले सम्मानका साथ मनाउन सुरु गरे । कतिपय संस्कारहरु पनि दशैंमै अन्तरघुलित भए, हराए, विलाए ।

अन्त्यमा,

दशैँ आदिवासी जनजातीहरुको मौलिक पर्व भए पनि नभए पनि मन पर्छ भने दशैं मानौं, पर्दैन छाडौं । तर दशैं बहिष्कार जस्ता सामाजिक सद्भावलाई खलल पुग्ने गरी उग्रता नराखौं । भाषिक, धार्मिक, सांस्कृतिक, भेषभूषा, राजनीतिक समानता र स्वतन्त्रताको लागि राज्यसँग आवाज उठाउन जारी राखौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?