Comments Add Comment

‘जिल्ला टुक्रिँदा दीपावली गर्‍यौं, अहिले त्रिवेणीमा चैन छैन’

दुम्कीवास–त्रिवेणीको ट्रयाक नखुल्दा सास्ती, सेवा लिन तीनगुना घुम्ती

२२ असोज, पोखरा । देशलाई संघीय प्रणालीमा लैजान जिल्लाहरु मिलाएर प्रदेश घोषणा गरियो । त्यही मेसोमा नवलपरासी टुक्रिएर बर्दघाट–सुस्ता पूर्व र बर्दघाट–सुस्ता पश्चिम बनाइयो ।

सुस्ता पूर्व प्रदेश ४ (गण्डकी) मा पर्‍यो भने पश्चिम प्रदेश ५ मा । प्रदेश ४ उत्तर चीनदेखि भारतसम्म जोडिएको प्रदेश बन्यो । ७७ जिल्लामै कान्छो जिल्ला मानिने सुस्ता पूर्व (नवलपुर) नै यो प्रदेशको भारत जोड्ने एकमात्र नाका बन्यो ।

प्रदेश ४ मा पर्दा बर्दघाट–सुस्ता पूर्वका नागरिकले उत्सब मनाए । संविधान दिवसमा दीपवाली गरे । नाम घोषणा नभए पनि नवलपुर भन्न सबै राजी भए । उनीहरुको विश्वास थियो– प्रदेशकै प्रमुख नाका भएकाले छिटो विकास हुनेछ । दुःख र भोगिरहेको समस्या दूर हुनेछ ।’

अहिले तिनै नागरिक आन्दोलनको तयारी गरिरहेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जीसी बताउँछन् । यहाँका नागरिकमा अहिले बेचैनी र पछुतो बढेको उनले बताए ।

किन त ? ‘यहाँ मुख्य समस्या सडक हो । अहिले पनि विनयी त्रिवेणीका नागरिक गाउँपालिकाकै सेवा लिन प्रदेश ५ हुँदै फेरो बाटो आउनुपर्छ,’ जिसी भन्छन्, ‘गाउँपालिकामात्र होइन गण्डकी प्रदेश आउजाउ गर्न ५ र ३ नम्बर प्रदेश हुँदै यात्रा गर्नुपर्छ ।’

विनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ र ७ भारतसँग जोडिएको छ । समृद्धिको आधार मानिएको प्रदेशको मुख्य नाका पनि यही हो । त्यहीँका नागरिक गाउँपालिकाको केन्द्र आउन ५ नम्बर प्रदेश हुँदै ५० किलोमिटर पार गर्नुपर्छ । जबकि सिधा सडक खुल्यो भने जम्मा २२ किलोमिटरमा गाउँपालिकाको केन्द्र पुगिन्छ ।

दुम्कीवास–त्रिवेणी सडक यहाँका नागरिकको आशा र आक्रोसको कारण बनेको छ । गण्डकी प्रदेशमा गाभिएपछि यो सडक छिट्टै बन्ने आशा थियो, तर त्यस्तो छाँटकाँटै छैन । गाउँपालिकाका अध्यक्ष जिसी भन्छन्, ‘यसले गर्दा जनताले गण्डकी प्रदेशमा भएको महसुस नै गर्न पाएनन् ।’

गण्डकी प्रदेशले पोखरा–कोरला र पोखरा–दुम्कीवास–त्रिवणी सडकलाई समृद्धिको आधार मानेको छ । संघीय सरकारले पनि यी सडकलाई प्राथमिककतामा राखेको छ । तर, यतिका समयसम्म सडकको ट्रयाकसमेत नखुलेपछि स्थानीयमा असन्तुष्टी र आक्रोश पलाएको अध्यक्ष जीसीले बताए ।

स्थानीय तह चुनावमा सडकको ट्रयाक खोल्छौं, प्रदेश र प्रतिनिधि सभा चुनावमा एक वर्षभित्रै सडक खोल्ने आश्वासन जनतालाई दिएको बताउँछन् । उनी भन्छन्, ‘तर, अहिले काम नभएपछि जनताले आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् ।’

उनका अनुसार, विनय त्रिवेणी प्रदेशको नाकामात्र नभई कठिन भौगोलिक अवस्थामा रहेको गाउँपालिका हो । यो गाउँपालिका पहाड, तराई र भित्री मघेसमा फिजारिएको छ । ‘भूगोलअनुसार फरक नीति र कार्यक्रम चाहिन्छ, योजना त्यसरी नै बनाउनुपर्छ’, जीसी भन्छन्, ‘तर, स्थानीय तहमा आएको यतिका समय भइसक्दा हामी काम चलाउमात्र भएका छौं ।’

विनय त्रिवेणी गाउपालिकाका थुप्रै गाउँ सडकबाट टाढा छन् । ‘अन्यत्र काम गर्न सजिलो छ, बाटोघाटोको सुविधा छ । खानेपानी र सिँचाइ छ,’ जीसीले भने, ‘हाम्रो पालिकामा भने सडकको ट्रयाक नखुलेका पहाडी क्षेत्र धेरै छ । जतात्यतै असुविधा नै असुविधा छ ।’

निर्वाचित भएपछि पहिलो कार्यपालिका बैठकको निर्णय नै दुम्कीवास– त्रिवेणी सडकको ट्रयाक खोल्न गरेको अध्यक्ष जिसीले सम्झिए । प्रदेश र संघ सरकार गठन भएपछि धमाधम डेलिगेसन गएको उनले बताए । ‘प्रदेश सरकारलाई गुहार्‍यौं, संघमा पुग्यौं । मुख्यमन्त्रीलाई विनय त्रिवेणीमै लिएर गयौं । प्रतिनिधि सभाका सांसद तिलक महतलाई ताकेता गर्‍यौं, तर अहिलेसम्म केही भएन’, जीसी भन्छन्, ‘मुख्यमन्त्री हामी बनाइछाड्छौं भन्नुहुन्छ, तर प्रक्रिया नै अगाडि बढेन ।’

स्थानीयले प्रदेशलाई, प्रदेशले संघलाई दोष लगाउने काम भइरहेको छ भनेर जनता रुस्ट भएको उनी बताउँछन् । यो विषयमा भेलाहरु पनि हुन थालेको उनले बताए । ‘जनतालाई एकातिर सडक नहुँदा समस्या छ । अर्कोतिर मध्यवर्ती क्षेत्रमा पर्नुको सास्ती छ’, जीसीले भने, ‘त्यसैले एकपटक फेरि डेलिगेसन जाने, भएन भने आन्दोलनमा उत्रने, आफैंले गैंती, बेल्चा लिएर सडक खन्न निस्कने भनिरहेका छन् ।’

जीसीका अनुसार, मध्यवर्ती क्षेत्रवासीले घाँस, दाउरा, चरनमा ठूलो समस्या खेप्नुपरेको छ । मध्यवर्ती क्षेत्रमा पर्दा खुसी भएका जनता अहिले दाउरा घाँसकै लागि पनि सास्तीमा परेको बताउँदै उनले भने, ‘संरक्षित क्षेत्रबाट फाइदा होइन मुद्दा खेप्नुपर्ने भएपछि जनता आजित छन् ।’

गाउँपालिका नै कामचलाउ, एकजना सचिवलाई ३ वडाको जिम्मा

कर्मचारी र स्रोत साधनको अभावले गाउँपालिकालाई कामचलाउजस्तो मात्र बनाएको अध्यक्ष जिसी बताउँछन् । उनका अनुसार, तीनवटा वडा एउटै सचिवको जिम्मामा छन् । ‘धेरै दुःख छ भनेर कर्मचारीले विनय त्रिवेणी रोजेनन्,’ अध्यक्ष जीसी भन्छन्, ‘जसका कारण सेवा कामचलाउ मात्र भइरहेको छ ।’

वडा नम्बर १, २ र ५ की सचिव विष्णुकुमारी पुन विगट ठाउँमा दुखका साथ सेवा गर्नुपरेको बताउँछिन् । सहकारी र शिक्षामा एकजना पनि कर्मचारी नभएको उनले बताइन् ।

गाउँपालिकामा २६ कर्मचारीको दरबन्दी त छ । तर, सातजना मात्र आएका छन् ।

सुकुम्बासी र जग्गाको समस्या

गाउँपालिकाको चुनावमा अध्यक्षको प्रत्यासी हुँदा जीसीले पनि भाषण ठोकेका थिए, ‘सुकुम्वासीको समस्या हटाउँछौं, जग्गाको झमेला हट्नेछ ।’

नेपाली कांग्रेसका प्रत्यासी जीसीलाई जनताले पत्याए र चुनाव जिताए । उनले सुकुम्वासीको सेतो पूर्जा हुनेलाई रातो बनाउने गाउँपालिकाले नै पहल गर्ने बाचा गरे । उनले लालपूर्जा नपाएकाहरुलाई नक्सा नापजाँच गरेर पनि दिलाउने आश्वासन दिएका थिए । उनै जीसी गाउँ सरकारको प्रमुख बनेको यतिका समयमा यो समस्या उस्तै छ ।

सरकार गठन भएको अढाई वर्ष बितिसक्दा पनि केही गर्न नसक्दा दुःख लागेको अध्यक्ष उनले बताए । ‘हाम्रो क्षेत्रमा सुकुम्वासीको ठूलो समस्या छ, जुन हटाउन गाउँ सरकारको तहबाटमात्रै नहुँदो रहेछ,’ उनले भने ।

मुख्यस्रोत ढुंगागिटी र होङ्सी सिमेन्ट

विनय त्रिवेणी गाउँपालिकाको विकास प्राथमिकता पहिलो सडक र पूर्वाधार नै हो । त्यसपछि सिँचाई, खानेपानी, कृषिमा छ ।

गाउँपालिकाको ५० करोड रुपैयाँ बजेट छ । त्यसैका आधारमा योजनाको वर्गीकरण गरेर काम गरिरहेको अध्यक्ष जीसी बताउँछन् । गाउँपालिकाको आम्दानीको मुख्य स्रोत भनेको ढुंगा, गिटी, बालुवा हो । गाउँपालिकाले गत आर्थिक वर्षमा मात्र ढुंगा, गिटी, बालुवाको टेन्डरबाट ७ करोड रुपैयाँ आम्दानी गर्‍यो ।

देशकै ठूलो सिमेन्ट कम्पनी होङ्सीको उद्योग यही गाउँपालिकामा छ । उद्योगबाट गाउँपालिकालाई व्यवसाय कर आउँछ । होङ्सीबाटमात्रै वार्षिक ५५ लाख आम्दानी हुने जिसी बताउँछन् । उनी भन्छन्, ‘यी बाहेक आन्तरिक आयका अन्य स्रोत छैनन् ।’

गाउँपालिकाले अधिकार क्षेत्रभित्रका कानुनहरु बनाएको अध्यक्ष जीसीको भनाइ छ । अहिलेसम्म पाँचवटा ऐन र केही कार्यविधि बनाएको उनले बताए ।

साविकका दुम्कीबास, बेनी मणिपुर, धुरकोट, राकाचुली र त्रिवेणी सुस्ता गाउपालिका मिलाएर विनयी त्रिवेणी गाउँपालिका बनाइएको हो । भारतसँग सीमा जोडिएको यो गाउँपालिकाको जनसंख्या ३३ हजार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment