Comments Add Comment

जापानमा आँधीको कहर : कम्तीमा ५ को मृत्यु, ७० लाख मानिसलाई घर छाड्न उर्दी

२६ असोज, काठमाडौं । जापानमा आएको ६० वर्षयताकै ठूलो आँधीले कम्तीमा ५ जनाको ज्यान लिएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । आँधीपछि वर्षा र पहिरो गएपछि जापानको अधिकांश स्थानको जनजीवन प्रभावित हुन पुगेको छ ।

राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधीले वर्षा र पहिरो निम्त्याइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । क्योडो न्युज एजेन्सीका अनुसार आँधीपछिको वर्षा र पहिरोले हालसम्म ५ जनाको मृत्यु भइसकेको छ ।

वर्षापछि आएको पहिरोले घर नै बगाएको छ, जसमा २ जनाको ज्यान गएको छ । बाढीले घर बगाउँदा टोमिकोमा १ पुरुष र टोकियो नजिकैको सागामिहारामा एक महिलाको ज्यान गएको हो । कावासकीको अपार्टमेन्ट, टोचिगी र चिवामा १/१ जनाको ज्यान गएको बीबीसी समाचारमा लेखिएको छ ।

क्योडो न्युज एजेन्सीका अनुसार, आँधीका कारण ९० भन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ११ बेपत्ता भएको सरकारी अधिकारीहरूको बताएका छन् ।

इगु प्रायद्वीपबाट सुरु आँधी अहिले पूर्वी तटमा रहेको जापानको मुख्य टापुतर्फ बहिरहेको छ । बीबीसीका अनुसार आँधीको गति अहिले २२५ किलोमिटर प्रतिघण्टा छ ।
आँधीले जापानको अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ । एनएचकेका अनुसार, २ लाख ७० हजार घरको विद्युत् सेवा अवरुद्ध भएको छ । हवाई तथा सडक आवागमन पनि आँधीले प्रभावित पारेको छ ।

शक्तिशाली आँधीले थप मानवीय तथा भौतिक क्षति पुर्याउन सक्ने आकलन गर्दै जापान सरकारले ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरेको छ । समाचारहरूमा जनाइअनुसार, आँधी प्रभावित क्षेत्रका ५० हजार मानिसले घर छाडेर सुरक्षित स्थानमा अहिले आश्रय लिइरहेका छन् ।

सहर तथा गाउँमा आँधीसँगै भारी वर्षा भइरहेको र यो क्रम केही समय जारी रहने सरकारी अधिकारीहरूले बताएका छन् । जेएमएका यासुसी कजिवाराले सम्भावित क्षति हुन नदिन आपतकालील चेतावनी जारी गरिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment