Comments Add Comment

सीको भ्रमणअघि फ्रि तिब्बतको झोला बेच्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

ज्ञापन पत्र बुझाउन गएका मानवअधिकारकर्मी पनि पक्राउ

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा फ्रि तिब्बत लेखिएको झोला विक्री वितरण गरेको आरोपमा समातिएका दुई जनाविरुद्ध अभद्र व्यवहारको कसूरमा म्याद थप भएको छ ।

बौद्धको फूलबारीमा रहेको पसलबाट पक्राउ गरेको काठमाडौं-६ का दवाङ निमा लामा र कास्कीका हिस्सी ग्याडो लामाविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान थालिएको हो ।

महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी रमेशबहादुर सिंह भन्छन्, ‘बिहीबारै म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

उनका अनुसार पक्राउ परेका निमाको साथबाट फ्रि तिब्बत लेखिएको झण्डा २५, झण्डा अंकित झोला दुई, सानो झोला ६० थान लगायत बरामद भएको थियो भने हिस्सीको साथबाट फ्रि तिब्बत लेखिएको किरिङ ३८ वटा, तिब्बत लेखिएको ठूलो झोला ३, सानो झोला ६ वटा लगायत बरामद भएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरुले पसलमा लुकाएर ती सामग्री विक्री गर्ने गरेका थिए । तर, बयानका क्रममा भने पहिल्यै मौज्दात रहेको सामान विक्री गरेको दाबी गरेका छन् ।

दुई दशकपछि भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी स्वरुप महिना दिन अघिबाटै बालुवाटारस्थित चिनियाँ दूतावासले ‘थ्रेट एनालाइसिस’ गरेको थियो । दूतावासमा रहेको ‘क्लोज प्रोटेक्सन युनिट’ ले चिनियाँ विदेश मन्त्रालयसँग समन्वय गरेर सुरक्षा तयारी गरेको थियो । त्यसलाई समेत आधार बनाएर नेपाल सेनाले सुरक्षा प्रबन्ध मिलाएको थियो ।

यो अवधिमा ‘फ्रि तिब्बत अभियान’मा संलग्न व्यक्ति र तिब्बती शरणार्थीले राष्ट्रपतिलाई कालो झण्डा देखाउन सक्ने आँकलन गरिएको थियो । सोहीअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग लगायत खटिएका थिए ।

त्यसक्रममा काठमाडौंबाट मात्रै २४ जना संकित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘पक्राउ पर्नेमा जानेर वा नजानेर फ्रि तिब्बतका टिसर्ट लगाउनेहरु बढी छन् ।’ कतिपय तिब्बती मुलका नेपाली र केही नेपालीसमेत रहेको उनी बताउँछन् ।

बोगटीका अनुसार उनीहरु बौद्ध, स्वयम्भू र फर्पिङ क्षेत्रबाट पक्राउ परेका हुन् ।

मानवअधिकारकर्मीविरुद्ध पनि मुद्दा

प्रहरीका अनुसार फ्रि तिब्बतको विषयमा ज्ञापन पत्र बुझाउन गएको आरोपमा एक मानव अधिकारकर्मी पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीपी पौडेल छन् ।

उनलाई पनि अभद्र व्यवहारको कसूर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी बोगटीले बताए ।

भ्रमणको पूर्वसन्ध्यामा बानेश्वरमा स्वागतका लागि राखिएको बोर्ड च्यातेको आरोपमा समातिएका दुई जना भने छुटेका छन् । उनीहरुले मदिरा सेवन गरेर च्यातेको पुष्टि भएपछि सम्झाएर छाडिएको हो ।

‘समग्रमा चिनियाँ पाहुनाको आगमनमा सुरक्षाको दृष्टिले कुनै पनि समस्या भएन । यो राम्रो पक्ष हो’, बोगटीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment