Comments Add Comment

आधुनिक मान्छेको फैलावट, नेपालमा बसाइँ सराइ

आधुनिक मानवको उदय र अफ्रिका बाहिर फैलावटको कथा

ताजा मानव अवशेषशास्त्र, जीनशास्त्र र पुरातत्वशास्त्रले मानिसका पुर्खाहरु एउटै स्थानमा उद्पति र विकास भई अन्यत्र फैलिएको व्याख्या गर्छ । मानव उद्विकासको प्रकृया अफ्रिकामा भई विभिन्न अन्य महादेशमा फैलिएको नै आजको प्रमुख बुझाइ तथा व्याख्या हो ।

यसलाई विज्ञानको विशेषता नै मान्नुपर्छ कि आजको सिद्धान्त, व्याख्या र परिकल्पनाबारे तथ्य प्रमाणहरुको खोजी र अनुसन्धान हुने क्रममा फेरि नयाँ मान्यता र सिद्धान्तको जन्म हुन्छ ।

मानिसको उत्पति र  फैलावट (बसाइँ सराइ) बारे मात्र होइन, दक्षिण एशियाको पछिल्लो बसाइँ सराइबारे पनि आजको ताजा व्याख्या पुरानो भन्दा अलि फरक छ ।

सय वर्ष अघिसम्म युरोपेली र अमेरिकी विद्धानहरुले विभिन्न क्षेत्रलाई मानव उद्विकासको केन्द्र मान्दथे । कतिपयले त आधुनिक मानव दक्षिण एशियाबाट अन्यत्र फैलिएको पनि व्याख्या गर्दथे । केही बहुरेखीय वा बहुक्षेत्रीय उद्विकासका मान्यताले विविध स्थानमा मानिसको उदय भएको पनि जोड दिन्थे ।

मानव उद्विकासको साथै आधुनिक मानव वा हाम्रो वंशकै मानव होमो सेपियन्स पनि अफ्रिकामै विकास भयो । अनि त्यसपछि अफ्रिका बाहिर आधुनिक मानवको बसाइँसराइ भएको कुरा नै सिद्ध भएको छ ।

त्यसैगरी दक्षिण एशियामा मानव बसाइँ सराइ, आर्यहरुको आगमन, सिन्धु सभ्यता आदिबारे पनि अहिले पहिलेको भन्दा फरक बुझाइ छ । अब सिन्धु सभ्यता आर्यहरुले स्थापना नगरेको तथा आर्यहरुले त्यहाँको सभ्यतामाथि हमला गरी ध्वस्त नगरेको भन्ने तथ्यहरु बाहिर आएका छन् ।

तर, नेपालम खस, मंगोल तथा अन्य समुदायको इतिहासबारे भने पर्याप्त वैज्ञानिक प्रमाणको अभावमा अझै पनि हामी परिकल्पना र तर्कहरुकै आधारमा व्याख्या गर्दैछौं ।

अफ्रिकामा मानव उद्विकास

लगभग ६० लाख वर्षअघि चिम्पान्जीहरुबाट छुट्टएिर मानिसका पूर्वजहरुको फरकरुपमा विकास हुन थाल्यो । यी हाम्रा पूर्वजहरुलाई होमिनिन भनिन्छ । नरवानर गण (प्राइमेट) बाट छुट्टएिर विकसित भई सिधा उभिन सक्ने रुपमा विकास भएको होमिनिन देखा पर्‍यो  यी होमिनिनलाई पहिले होमिनिड भनिन्थ्यो । तर, आजकल यो शब्दको विशिष्टीकरण भएको छ र यसले अहिले विकसित तथा लोप भएका सम्पूर्ण मानवका पूर्वज प्रजातिलाई मात्र बुझाउँछ ।

लगभग २६/२५ लाख वर्ष अघिसम्म आउँदा त यिनीहरु मानवजस्तै देखिने हाम्रो वंशको सिधा उभिन सक्ने होमो प्रजातिको उदय भयो । तर, यसभन्दा पहिले होमिनिडहरुकोे उद्विकासका क्रममा पहिले आधा मानव आधा बानर देखिने, सिधा उभिन थालेका प्रजाति (अष्ट्रेलियोपिथेसिन प्रजाति) हरु थिए ।

५० लाख वर्षअघिको यस प्रकृयामा मुख्य गरी ४० देखि २५ लाख वर्ष सम्म अष्ट्रेलियोपिथेसिनका विविध वंशहरु देखिएका छन् । जस्तै- अष्ट्रेलियोपिथेकस अनामेन्सिस, अष्ट्रेलियोपिथेकस अफारेन्सिस, अष्ट्रेलियोपिथस अफ्रिकानस, अष्ट्रेलियोपिथेकस गर्ही आदि । यिनैमध्येबाट पछि मानवका वंश मानिने होमो (वंश) देखा परे ।

कसरी अन्य नरवानर त्यही रुपमा रहँदा हाम्रा पूर्खाहरु वा होमिनिड (मानवनुमा) सिधा उभिन सके भन्ने बारे विभिन्न मत छन् ।  मुख्य गरी उत्तर-पश्चिम अफ्रिकाको उपत्यकातिर त्यसबेला मौसम परिवर्तन भयो । सभानाहा परिकल्पना र सुख्खा मौसमको परिकल्पनाले त्यतिबेलाको अफ्रिकी शुष्क, उष्ण, सुख्खा हावापानीका कारण तथा सुख्खा घासेमैदान बढ्नुले हाम्रा पूर्खाहरुलाई रुखबाट जमिनमा बस्न बाध्य गर्‍यो भन्ने तर्क विश्वासिलो छ ।

दुई खुट्टामा हिँड्नाले होमिनिडको उद्विकास अझ तीव्र बन्यो । यसले मष्तिष्क र शरीरमासमेत ठूलो विकास भयो । त्यसैले छिट्टै नै विभिन्न हाम्रै आफ्नो वंश मानव (होमो) विकास भयो । अष्ट्रेलोपिथेसीनहरु पछि मानव वंशका प्रजातिका रुपमा देखा परे ।

लगभग ३२ लाख वर्षअघिको मानिने इथियोपियामा फेला परेको लुसी (अष्ट्रेलोपीथेकस अफारेन्सिस) नै पछि गएर हाम्रो पहिलो वंशको मानिने होमो हेविलिस (नरभक्षी पनि) को पूर्खाका रुपमा विकास भएको तथ्य पाइन्छ ।

तर, यतिबेला मानव वंशका विभिन्न अन्य प्रजाति (स्पेसिस) पनि देखा परे । यिनै एकबाट आजका हामी विकास भयौं भने अन्य प्रजातिहरु लोप भएर गए । होमो हेविलिसका साथै होमो रुडोल्फेन्सिस, हामो इरेक्टस प्रजाति पनि देखा परे । यसरी २० देखि ३० लाख वर्षअघि सबै मानवपुर्खा मात्र अफ्रिकाकामा थिए ।

लगभग १८/१९ लाख वर्षअघि होमो इरेक्टस, लगभग पूरा सीधा शरीर भएको र सबै हिसाबले मानवीय गुण भएको हाम्रो पूर्खाको विकास भयो । यही मानव पुर्खा नै अफ्रिकाबाट अन्य महादेशसम्म फैलँदै गएको मानिन्छ ।

हामो इरेक्टस (कहिलेकाही होमो इर्गास्टर पनि भनिन्छ) पूर्वी र मध्य एशियाको बाटो हुँदै लेभान्टाइन कोरिडोर भनिने उत्तर पश्चिममा भुमध्यसागर र दक्षिण पूर्वमा मरुभूमि भएको अफ्रिकालाई युरेसिया (युरोप र एशिया) सँग जोड्ने भूभागबाट प्रवेश गरेको मानिन्छ ।

उक्त मानव १६ लाख वर्षअघि इन्डोनेशिया र ११ लाख वर्षअघि चीनमा पुगेको जावा र पेकिङ्गमा भेटिएका अवशेषहरुले प्रमाणित गर्दछ । यसरी अन्यत्र पनि फैलँदै गएको मानिन्छ ।

आधुनिक मानव होमो सेपियन्सको उदय र अफ्रिका बाहिर फैलावट

आधुनिक मानव भनिने होमो सेपियन्स प्रजाति, जसलाई हाम्रो साँचो रुपमा पूर्खा मानिन्छ । यसको उद्विकास लगभग ३ लाख वर्षअघि अफ्रिकामा सुरु भयो । मानव अवषेशहरु हजारौं स्थानमा फेला पर्ने र हरेक अवशेष कुनै न कुनै रुपमा विशेष हुने भएकाले समय तथा मानव वंशको एकिन गर्न कठिन हुन्छ ।

भर्खरै मोरक्कोमा भेटिएको मानव अवशेष तथा परिस्कृत औजारको प्रमाणपछि यसअघि लगभग २ लाख वर्षअघि विकास भएको मानिएको आधुनिक मानव अब ३ लाख वर्षअघि नै विकास भएको पुरातात्विक, अवशेषशास्त्रीय तथा हालका आनुवंशिक प्रमाणहरुका आधारमा बताइन्छ । तर, यसले पनि आधुनिक मानव अफ्रिकाको विभिन्न भूभागमा मात्र विकास भएको सिद्ध गर्दछ ।

त्यसैगरी भर्खर प्रमाण भेटिएका होमो (मानव) वंशकै नलेदी र डेनिसोभा प्रजाति पनि आधुनिक मानवभन्दा अलि फरक देखिनुले अब नियनडर्टल सहित पछिल्लो समयमा पनि अन्य मानव प्रजाति रहेको व्याख्या गर्दछन् ।

अनि यही आधुनिक मानव विश्वभर फैलिएपछि शाल एकमात्र मानव प्रजातिका रुपमा संसारभर प्रभुत्वशाली बनेको छ । यसको पहिलो अफ्रिका बाहिरको स्थानान्तरण/फैलावट/बसाइँ सराइ (अंग्रेजीमा माइग्रेसन) १ लाख २० हजार वर्षअघि सुरु भएको मानिए पनि  ८० हजार वर्षभन्दा अघिका यस मानवका अवशेष वा औजारका प्रमाण अफ्रिका बाहिर भेटिएका छैनन् । यो मानवले प्रयोग गरेको सबैभन्दा पुरानो लेभान्ट औजार अफ्रिकाबाहिर जम्मा ८० हजार वर्षअघि युरोपमा र ७४ हजार वर्षअघि भारतको ज्वालापुरममा मात्र फेला परेको छ ।

जब कि यतिबेला नै युरोपमा नियनडलटल मानव अस्थित्वमा रहेको समेत प्रमाणले अझपछि मात्र यो मानवले मुख्य र ठूलो रुपमा लगभग ६० हजार वर्षअघि मात्र एशिया र युरोपमा बसाइँ सरेको मान्न सकिन्छ ।

यसरी आधुनिक मानव इजरायल र मध्यएशियाको बाटो हुँदै युरोप र एशियामा प्रवेश गरेको मानिन्छ । यो लगभग ४५ हजार वर्षअघि इन्डोनेशिया, पपुवा तथा अष्ट्रेलियामा पुगेको र लगभग ४० हजार वर्षअघि उत्तरी युरोप र ३५ हजार वर्षअघि सम्पूर्ण युरोपमा फैलिएका तथ्यहरु फेला परेका छन् । ३५ हजार वर्ष अघिसम्म उत्तरी युरोपको क्रोएशिया, आइवेरियन द्वीप तथा मेडिटेरियन समुद्रमा भने नियनडरटल रहेको प्रमाण पाइएका छन् । यो आधुनिक मानव वा होमो सेपिएन्स, एशियाबाट स्थानान्तरण हुँदै १५ हजार वर्षअघि मात्र उत्तर र दक्षिण अमेरिका पुग्यो ।

दक्षिण एशियामा मानव बसाइँ सराइ

अब कुरा गरौं दक्षिण एशिया र नेपालमा हाल रहेको मानव सम्प्रदाय तथा वर्ण (रेस) को आगमन र बसोबासको ।

भर्खरै गरिएका आनुवांशिक खोज, भाषिक तथा पुरातात्विक प्रमाणका आधारमा दक्षिण एशियाको मानव इतिहासको पुराना व्याख्या तथा तर्कमा हलचल आएको छ । अब लगभग सबै खोजले हरप्पा र मोहन्जोदारो लगायतका दक्षिण एशियाको सिन्धु घाँटी सभ्यता आर्यनहरुले बनाएको भन्ने तर्क निराधार र गलत भएको सिद्ध गरेको छ । साथै यो सभ्यता बनिसकेको समयमा आर्यनहरु दक्षिण एशियामा आक्रमण गरी सभ्यता ढलेको भन्ने विश्वास पनि गलत मानिएको छ ।

हाल भारत र पुरै दक्षिण एशियामा मिश्रतिखालको वंशाणुगत जनसंख्या छ । आनुवंशिकरुपमा शुद्ध नभई एकअर्कामा मिसिएका वंशहरु ।

मुख्यगरी दक्षिण एशियामा तीनखालको जनसंख्याको अन्तर्घुलन पाइन्छ । यो आनुवंशिक नतिजा पहिलेका ऐतिहासिक र भाषिकसँग मिल्दछ । तीमध्ये एक थिए पहिलादेखि नै आधुनिक मानवको बसाइँ सराइबाट आइपुगी यस क्षेत्रमा बसोवास गर्दै आएका आदिम घुमन्ते शिकार गर्ने तथा बटुल्ने समुदाय ।

दक्षिण एशियामा पहिलो बसाइँ सराइ लगभग मेसोपोटामियाकै समयमा खेती गर्न थालेका इरानी समुदायहरुको भयो । गहुँ, जौं जस्ता वालीको खेतीको अभ्यास लिएर यी इरानी कृषक सिन्धु घाँटीमा प्रवेश गरे । यिनीहरु विस्तारै त्यहाँको जनसंख्यासँग मिसिन थाले । यही क्रममा सिन्धु घाँटी सभ्यताको जग बसेको मानिन्छ ।

लगभग चार हजार वर्षअघि ककस पहाडी क्षेत्रको उत्तर तथा अफगानिस्तान पश्चिमको युरासियन क्षेत्रको स्टिप/पर्वतीय घाँसे मैदानबाट फेरि अर्को समूह दक्षिण एशिया आइपुग्यो । यसलाई आज हामी आर्यन भनी बुझ्छौं । यिनीहरु इन्डोयुरोपेली भाषिक समूहका मानिस थिए । यो समुदाय सिन्धु घाँटीको समुदायसँग मिसिने क्रम पनि चल्यो । तर, धेरै जनसंख्या भने विस्तारै दक्षिणतिर विस्थापन हुँदै गयो । जसलाई हामी हाल द्रविडियन भाषिक परिवार अन्तर्गत राख्दछौं ।

वेदका रचयिताहरु आर्यन मानिन्छन् । विशिष्ट मानिने हिन्दु जातीय व्यवस्था आर्यनहरुले सिर्जना गरी आफूलाई उच्च स्थानमा राखेको आजको तथ्य छ ।

तर, नेपालको इतिहास भने फरक छ । हामीसँग मानव वंश र नश्लसँग सम्वन्धित भाषिक, पुरातात्विक, अवशेषशास्त्रीयका साथै आधुनिक आनुवांशिक अध्ययन र प्रमाणको अभाव छ ।

हामी गोपाल र महिषपालहरु को थिए भन्नेमा अझैं परिकल्पना र तर्ककै आधारमा भन्दैछौं । राई लिम्बुलाई नै मंगोलबाट आएका किरात मान्ने हो भने खसहरु पनि युरेसियाली पर्वतीय घाँसे मैदानबाट पशुपालन गर्दै आएका आर्यन हुन् भन्नेमा विविध खालका मत छन् ।

मानव इतिहास राजनीति र शक्तिको पनि एक खेलको क्षेत्र हो । त्यसैले हामी लगभग सवै तिब्बतीय बर्मेली भाषा बोल्नेहरु उत्तरबाट र भारोपेली भाषिक परिवार अन्तर्गतका भाषा बोल्नेहरु दक्षिणबाट बसाइँ सरेको तर्क गर्नुपूर्व विज्ञानको खोज र विधिमा भर पर्नु आवश्यक छ ।

भर्खरै पनि नेपालका खसहरु इरान र बेविलोनियामा कश वंशका थिएनन् बरु चीनको पर्वतीय क्षेत्रबाट आएका हुन् भन्ने व्याख्या अगाडि आएको छ । यसो हो भने ब्राह्मण स्टेपका चरिचरण गर्ने तथा क्षत्री र खसहरु इरानी खेति गर्ने समुदाय भनी कतिपय भारतीयले पनि भन्ने गरेका छन् ।

नेपालको मानवशास्त्रको विकाससँगै कुन-कुन समुदाय कुन-कुन भुभागबाट र कहिले आएका थिए भन्ने अध्ययनले वैज्ञानिकता पाउने तथा बसाइँ सराइ र नेपालकै इतिहासको नयाँ तथ्यहरु छिट्टै हाम्रो सामु हुने आशा गरौं ।

(पोखरेल रत्नराज्यलक्ष्मी क्याम्पसमा मानवशास्त्र विषयका प्राध्यापक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment