+
+
Shares

जापानमा नेपाल र भारतका राष्ट्रपतिबीच भेटवार्ता

भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते ९:२१

५ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दबीच जापानमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति भण्डारीले दिएको नेपाल भ्रमणको निम्तो समकक्षी कोविन्दले स्वीकार गरेका छन् ।

राष्ट्रपतिद्वय भण्डारी र कोविन्द जापानका सम्राट नोरुहितोको गद्दी आरोहण समारोहमा सहभागी हुन हाल टोकियोमा छन् । उनीहरु बसेकै होटलमा सोमबार बिहान भेटवार्ता भएको हो । राष्ट्रपति भएपछि उनीहरुबीच भेटवार्ता भएको पहिलोपटक हो ।

भेटका अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने बताएका थिए । सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरेका थिए ।

सो अवसरमा दुवै पक्षबाट नेपाल-भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै  यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरिएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको परराष्ट्र सचिव शंकरदास वैरागीले जानकारी दिए । दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरे । दुवै देशका प्रधानमन्त्रीहरुको गत वर्ष अपि्रल र जुनमा भएको भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ ।

नेपालले गुरुनानकको जन्मजयन्तीमा तीन थरि सिक्का निष्काशन गरेकामा र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकामा पनि भारतले नेपाललाई धन्यवाद दिएको छ ।

सो अवसरमा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शंकरदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?