Comments Add Comment

वाह ! निर्धारित समय अगावै आयोजना सम्पन्न

Photo Credit : कुलदीप न्यौपाने

१३ कात्तिक, काठमाडौं । बुधबार दाङबाट एउटा ‘नौलो’ समाचार सञ्चारमाध्यममा आयो– देउखुरीको राप्ती नदीमाथि ‘नेपालकै दोस्रो लामो’ पुल निर्धारित समयभन्दा अघि नै बन्यो । समाचार नौलो यस अर्थमा थियो कि, हामी निर्माण कार्यमा ढिलाइ भएको समाचार मात्रै पढ्न र सुन्न अभ्यस्त छौं ।

तोकिएको समयमा काम नहुने परिपाटी विपरीत राप्ती गाउँपालिकाको छोट्की सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको हो । नेपालमा धेरै निर्माण आयोजनाहरु ढिलासुस्ती र भ्रष्टाचारले थिलथिलो भएर रुग्ण अवस्थामा पुगेकोे बेला एउटै समाचारले पनि जनमानसमा आशा जगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो सयममा काम नगर्ने ठेकेदारलाई थप मौका नदिन विकासे अड्डाहरुलाई सार्वजनिक मञ्चबाटै निर्देशन दिइरहेका छन् । तर, ती अड्डाहरुले काम नगर्ने ठेकेदारमाथि प्रेम दर्शाइरहकै छन् ।

कति आयोजनाहरु सरकारी तयारीकै अभावमा अलपत्र बन्न पुगेका बेला कतिपय आयोजनाहरु ठेकेदारको बेवास्ताको शिकार बनेका छन् त कुनै स्थानीयको अवरोधले सिथिल बनेका छन् । राजधानी काठमाडौंभित्रै रुग्ण बनेका सडक, पुल, सार्वजनिक भवन, विमानस्थलका कयौं आयोजनाहरु छन् ।

तर, यही बिसंगतिबीचमा आक्कलझुक्कल सरकार, ठेकेदार र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा समयमै निर्माणको काम सकिएका समाचार आउँछन् । यी समाचारले जनमानसमा जन्माउने प्रतिक्रिया हुन्छः गर्न चाहे त सकिने रहेछ नि !

दाङको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल

दाङको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल निर्माणको ठेक्का एएनके लुम्बिनी वाइपी जेभीले पाएको थियो । यो त्यही कम्पनी हो, जसले बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा नेपालको सबैभन्दा लामो गेरुवा पुल निर्माण गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते राप्ती नदीको बगरमा पुल शिलान्यास गरेका थिए । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।

राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ । यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनिया गाविसका बासिन्दा लाभान्वित भएका छन् । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारी आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।

बर्दियामा पनि

एक हप्ताअघि मात्रै बर्दियामा पनि एउटा पुल निर्धारित समयअगावै निर्माण सकिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारा ओहोर–दोहोर गर्ने ओराही खोलाको पुल तोकिएको भन्दा ९ महिना पहिले नै बनेको हो । ९ करोड ९६ लाख रुपैयाँ लागतमा बनेको यो पुलमा ओहोरदोहर सुरु भइसकेको छ ।

पुल बनाउने कम्पनीलाई जिल्ला प्रशासन कार्यालय बर्दिया र सडक डिभिजन कार्यालय बाँकेले सम्मान समेत गरेका छन् । कम्पनीले २०७४ को साउनमा ठेक्का लागेको यो पुल २०७७ साल असार मसान्तभित्र बनाउनुपर्ने थियो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निर्माण व्यवसायीहरु ऊर्जाशील भए समयमै गुणस्तरीय निर्माण हुन सक्ने बताए । ओराही खोलाको पुलमा काम गर्ने ठेकेदार कम्पनी सपना गाल्वा जेवी ज्वाइन्ट भेन्चरको कामप्रति उनी सन्तोष व्यक्त गर्छन् ।

बर्दिया टाइगर रिसोर्टका जनरल म्यानेजर रेशम थापा पुल बनेपछि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आउने पर्यटकलाई पनि सहज हुने तर्क राख्छन् । ‘२०७६ साल असार मसान्तभित्रै बनाइसक्ने लक्ष्य थियो, प्राविधिक समस्या पर्‍यो, तर पनि ९ महिना अगावै बनाउन सक्यौं,’ निर्माण कम्पनीका सञ्चालक तिलक लम्साल भन्छन् ।

यो पुलबाट ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९ र मधुवन नगरपालिकाको वडा नम्बर १ का बासिन्दा साथै स्थानीय होटल रिसोर्ट र पर्यटकहरु लाभान्वित हुनेछन् ।

अन्य ‘अपवाद’ !

धनकुटाको शहीदभूमि गाउँपालिका–६ थलथले बजारको आँखीसल्ला स्वास्थ्य चौकी भवन पनि यस्तै ‘अपवाद’मा पर्छ । समय आगावै ठेकेदारले यसको निर्माण सकाएका थिए । १८ महिनाको म्याद भए पनि साढे १३ महिनामा नै भवन बन्यो । ठेकेदार कम्पनी सगरमाथा सुदिक्षा थुलुङ जेभीले भवनको चावी साढे १३ महिनामै सरकारलाई जिम्मा लगायो । समयअघि नै योजना पूरा गरेपछि कम्पनीले सरकारी नियमानुसार कुल लागतको करिब २० प्रतिशत बोनस रकमसमेत पाएको छ ।

सम्झौताअनुसार भ्याटबाहेक २ करोड ९ लाख रुपैयाँको लागतमा भवन बनेको हो । ०७५ साल असार २५ गते ठेक्का सम्झौता भएको भवन आगामी पुस २४ गतेसम्म बनाइसक्नुपथ्र्यो । तर, असोजमै भवन स्थानीय सरकारलाई हस्तान्रण गरेर कम्पनीले उदाहरणीय काम गरेको हो ।

‘स्वास्थ्य चौकी निर्माणको काम सन्तोषजनक छ । असल र कुशल ठेकेदारले पाएर काम समयमै हुन्छ भन्ने सन्देश गएको छ,’ निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसी भन्छन् । सबैले आवश्यक सहयोग र समन्वय गरेमा काम समयमै सकिने उनको भनाइ छ ।

सगरमाथा सुदिक्षा थुलुङ जेभीका सञ्चालक प्रकाश थुलुङल कच्ची सडकका कारण निर्माण सामग्री ल्याउन गाह्रो भए पनि सबैको सहयोगले काम भएको बताए ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको भवन पनि समयमै सम्पन्न भएको सरकारी आयोजना हो । निर्धारितभन्दा चार महिना अगावै निर्माण सकेर यो आयजना गत वैशाखमा सरकारलाई ठेकेदार कम्पनी राजेन्द्र/देवसिंह–एलबी कन्ट्रक्सनले हस्तान्तरण गरेको थियो ।

यो भवन ६ करोड १९ लाख रुपैयाँको लागतमा साढे तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले जिम्मा लिएको थियो । गत भदौभित्र सक्नुपर्ने भवन वैशाखमै सरकारले निर्माण सकिएर उपभोग गर्न पाएको थियो ।

 एक वर्षअघि नै भेरी-बबई सुरूङ 

ठूला आयोजनाहरुमा भने यस्ता अपवाद निकै कम छन् । वैशाखमा भेरी-बबई डाइभर्सन आयोजनामा भने यस्तै उदाहरणीय काम भयो । नेपालमै पहिलो पटक सुरुङ खन्ने विशाल उपकरण टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेर आयोजनाको सुरुङ खन्ने काम निर्धारित समयभन्दा आगावै सकियो । आयोजना समयअगावै सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङको ब्रेक थ्रु भएको थियो । १२ किलोमिटर यो सुरुङमार्ग खन्ने जिम्मा पाएको चिनियाँ कम्पनीले पाएको थियो ।

आयोजनाले २०७४ कार्तिक २० गतेबाट सुरुङ निर्माण गर्नका लागि टीबीएम मेसिन प्रयोग गर्न सुरु गरेको थियो । सम्झौताअनुसार ०७६ चैत १५ गतेसम्म काम सम्नुपर्ने थियो । आयोजना एक वर्षअघि नै सकिएको हो । यो सुरुङमार्गबाट भेरी नदीको पानी बबई नदीमा झारेर ४७ मेगावाट विद्युत निकाल्दै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार गर्ने कार्यक्रम छ । यो सुरुङ खन्नका लागि साढे १० अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो ।

अरू पनि उदाहरण

२०७५ को साउनमा पश्चिम राजमार्ग अन्तर्गत धनुषा र महोत्तरीलाई जोड्ने रातु पुलमा पनि द्रुत गतिमा काम भयो । यो पुल सम्झौतामा तोकिएको भन्दा डेढ वर्ष पहिले नै पूरा भएको थियो । २०७४ असारमा कामको जिम्मा लिएको कालिका/तुँदी/रसुवा जेभी कम्पनीले २०७६ पुस मसान्तसम्ममा बनाउनुपर्ने पुल २०७५ को साउनमा नै बनाएर हस्तान्तरण गर्‍यो । २३ करोड ७० लाख लागत रहेको रातु पुल बनाउन रातारात काम भएको थियो ।

२०७४ कै साउनमा यस्तो परिघटना दोहोरिएको थियो । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको मरिण गाउँपालिकास्थित कपिलाकोट कल्पबृक्ष जोड्ने पक्की पुल समय अगावै बनेको थियो । २०७३ असार २९ गते ठेक्का लागेको पुल ०७६ पुस २८ गतेभित्र निर्माण सकाउनुपर्ने हो । कालिका/रसुवा/तुदी जेभी २० महिनामा नै काम सकेर पुल सञ्चालनमा ल्यायो ।

कस्तामा हुन्छन् छिटो काम ?

सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक शिवहरि सापकोटा ठेकेदार कम्पनी र सरकारी पक्षबीचका बलियो टिमवर्क भएका आयोजना समयमै सकिने गरेको सुनाउँछन् । तर, काम नभएका आयोजनाहरुको दुर्गतिले राम्रा कामहरु ओझेलमा पार्ने गरेको उनको अनुभव छ ।

‘प्रतिवद्ध ठेकेदार र सरकारी इन्जिनियरहरु भएको आयोजना समयमै गुणस्तरीय रुपमा बन्ने गरेका छन्,’ सापकोटाले भने, ‘ठेकेदारलाई नगद प्रवाहको समस्या हुनु हुँदैन ।’
उनले धेरैजसो ‘डिजाइन एन्ड बिल्ड’ मोडलमा अघि बढेका आयोजनाहरु समयमै सकिन थालेको उनी बताउँछन् ।

‘अबको केही वर्षमा हामी रुग्ण आयोजनाहरुबाट मुक्त हुनेतर्फ केन्द्रित छौं,’ उनले भने, ‘यसका लागि ठेकेदारको क्षमता बढ्नुपर्छ र काम गर्ने शैली फेरिनुपर्छ । सरकारीतर्फबाट गर्नुपर्ने समन्वय सहितका काम पनि प्रभावकारी बन्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment