Comments Add Comment

महराविरुद्ध प्रहरीले जुटाएको प्रमाण : एसएमएसदेखि चश्माको पावरसम्म

करिब डेढ घन्टा वारदात स्थलमा थिए महरा

Photo Credit : अनलाइनखबर । जिल्ला अदालतमा कृष्णबहादुर महरा ।

१५ कात्तिक, काठमाडौं । संसद सचिवालयकै महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले कसुर अस्वीकार गर्दै आएका छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र वयान दिँदै महराले घटना भएको भनिएको सुविधानगरस्थित घरको छेउमा पुगेको तर, बाटैबाट फर्किएको बताएका छन् ।

‘म गएको थिएँ तर, घरभित्र नछिरी फर्किएँ’, महराले वयानमा भनेका छन् । उनले बरामद भएको भनिएको चश्माको डण्डी, जुत्ताको जिब्री (भित्री तलुवा) पनि आफ्नो नभएको बताएका छन् । आफूलाई फसाउन पुरानो फालिएको चश्माको सिसा, डण्डी र जुत्ताको तुलवा राखेको हुन सक्ने उनको आशंका छ ।

तर, काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसन्धान अधिकृतले भने महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट प्राप्त सीसी टीभी फुटेजसहितका प्रमाणले महरा छोरा निर्मलको गाडी चढेर वारदात स्थलमा पुगेको पुष्ट्याइँ गरेको अभियोगपत्रमा उल्लेख गरेका छन् ।

अदालतमा दायर अभियोग पत्रमा भनिएको छ, ‘मिति २०७६/०६/१२ गते बेलुका १८ः०० बजेदेखि २१ः०० बजेसम्म सभामुख निवास बालुवाटारबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, तिनकुने हुँदै घटनास्थलसम्मको फुटेज हेर्दा प्रतिवादी वारदार स्थलमा पुगेको देखिन आयो ।’

महराले प्रयोग गर्ने ९८५११….. र ९८६११…… बाट पीडितले प्रयोग गर्ने ९८१८…… र ९८४३…… मा घटनाको अघि र पछि समेत पटकपटक फोन सम्पर्क भएको तथ्य कल डिटेल रेकर्ड, एसएमएस डिटेल, कलवाइज लोकेशन र युजर डिटेजलबाट यो विषय पुष्टि भएको उल्लेख गरिएको छ ।

घटना पश्चात तत्कालै पीडितले फोनबाट जानकारी गराएको भन्दै सांसद् उमा रेग्मीको कागजलाई पनि प्रमाणका रुपमा पेश गरिएको छ ।

रेग्मीले गराएको कागजमा भनिएको छ, ‘मिति २०७६/०६/१२ गते राति अन्दाजी ११ः३० बजेको समयमा पीडितले मेरो ९८५१…… मा फोन गरी रुँदै न्याय पाउँ माननीयज्यू, भनेकीले मैले तिमी को हौ के भयो भनि सोध्दा निजले आफ्नो परिचय दिँदै म सभामुख कृष्णबहादुर महराबाट जबरजस्ती करणीमा परेँ, निज मेरो कोठामा रक्सीको बोतल लिएर आइ, मलाई जबरजस्ती करणी गर्न खोजेकाले मैले प्रतिकार गर्दा निर्घात कुटपिट गरे, दुवै गालामा पिटेर अनुहार सुन्निएको छ, जिउभरि नीलडाम छ, अनुहार चिन्न नसक्ने भएको छ, प्रतिकार गर्दा निजको चश्मा भाँचिएर सीसा फुटी खसेको छ, प्रहरी बालाउँदा हतारिएर भाग्दा निजको जुत्ताको तुलवा मेरो कोठामा छुटेको छ भनेकीले मैले प्रक्रियामा जानुस् भनेकी थिएँ ।’

यो पनि पढ्नुहोस ‘तीनकुनेमा सम्झाउन गएको हुँ, सम्पर्क नभएपछि फर्किएँ’

घटनाको भोलिपल्ट सञ्चारमाध्यममा पीडितले अन्तरवार्ता दिँदै गर्दा महराले पठाएको म्यासेजलाई पनि प्रमाणको रुपमा प्रस्तुत गरेका छन् । महराले मोबाइलमा म्यासेज गरी भनेका थिए, ‘Forgot yesterday, I am very sorry ।’ यो म्यासेजले प्रतिवादी घटनास्थलमा उपस्थित भएर पीडितसँग कसूरजन्य कार्यको उजागर हुन नदिन प्रयोग गरेको तथ्य स्थापित गरेको दाबी गरिएको छ ।

‘पीडितले रक्सी सेवन गरेकाले नआउनु भन्दाभन्दै प्रतिवादीले हिमालयन हुस्की नामक रक्सी बोत्तल लिएर आई एउटै गिलासमा खाने भनेर जबरजस्ती सेवन गराएको’, प्रतिवेदनमा उल्लेख छ ।

जबरजस्तीकरणी गर्ने प्रयास गर्दा पीडितले प्रतिकार गरेकाले उनलाई कुटपिट गरेर प्रहरी बोलाउँदा भागेर जाने क्रममा वारदातस्थलमा चश्माको सीसा, फ्रेमको डण्डी, जुत्ताको तलुवा समेत छुटेको उल्लेख गरिएको छ । जसलाई प्रमाणको रुपमा पेश गरिएको छ । ‘कोठाका सरसामान पनि यत्रतत्र छरिएको तथ्यबाट पनि जाहेरी व्यहोरालाई समर्थन गरेको अवस्था छ’, अभियोगमा भनिएको छ ।

जबरजस्तीकरणीको प्रयास गर्दा पीडितले मञ्जुरी नजनाएपछि महराले कुटपिट गरेको विषय पीडितको स्वास्थ्य जाँच प्रतिवेदनबाट उल्लेखित घाउचोटबाट पनि प्रमाणित हुने भनिएको छ ।

महराको सुरक्षार्थ खटिएका पर्सनल सेक्यूरिटी अफिसर (पीएसओ) प्रहरी नायब निरीक्षक किशोर आचार्य, प्रहरी नायब निरीक्षक डबलबहादुर बम, प्रहरी हवल्दार विष्णुबहादुर थापा, चालक सशस्त्र प्रहरी हवल्दार श्यामहरि आचार्य, जमदार काजीमान राना लगायतको कागज र सीसी टीभी फुटेजबाट महरा सवार गाडी १८ः५५ः२७ बजे तिनकुनेमा देखिएको र उनी निस्किएको सुरुको समय २०ः३२ः४९ बजे देखिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

हाम्रा कुरा डटकमका सम्पादक अजयबाबु शिवकोटीको भिडियो अन्तरवार्तालाई पनि बलियो प्रमाणका रुपमा पेश गरिएको छ । स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकलाई पीडितले बताएको व्यहोरालाई पनि प्रमाणका रुपमा उल्लेख गरिएको छ ।

महराले प्रयोग गरेको चश्माको सीसा र डण्डी ‘आई केयर अप्टिक्स’ मा जाँच गराउँदा थप पावर +२.७५ भएको ‘डी बिफोकल’ र पत्र साथ प्राप्त भएको लेन्सको थप पावर +२.७५ भएको ‘डी विफोकल’ भन्ने व्यवहोरा भएकाले घटनस्थलमा भेटिएको चश्माको सिसा र फ्रेमको डण्डी प्रतिवादीको नै हो भन्ने तथ्य स्थापित हुने भनिएको छ ।

यो पनि पढ्नुहोस महराले रगत दिन मानेनन्, डीएनए परीक्षण भएन

अदालतमा १५२ कागजात पेश

महराविरुद्ध प्रहरीले १५२ वटा कागजात अदालतमा पेश गरेको छ । महराविरुद्धको कसूर पुष्टि गर्न डेढ सय कागजात जुटाइएको हो ।

काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा ज्ल्लिा न्यायाधिवक्ता उमाकान्त पौडेलले तयार पारेको अभियोग पत्रमा ती कागजबारे उल्लेख छ ।

जसमा पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट, चार वटा खानतलासी मुचुल्का, घटनास्थलमा फेला परेका दशी र सीसी टीभी फुटेजका १६ पाना तस्वीर लगायत छ ।

त्यस्तै, महराका पीएसओ प्रहरी नायब निरीक्षक आचार्य, प्रहरी नायब निरीक्षक डबलबहादुर विष्णुबहादुर थापा, सशस्त्र प्रहरी हवल्दार श्यामहरि आचार्य, जमदार काजीमान र वीरबहादुर बोहार लगायतलाई देख्ने, सुन्ने व्यक्तिको रुपमा प्रस्तुत गरिएको छ ।

त्यस्तै, सांसद उमा रेग्मी, पत्रकार शिवाकोटी, बा २० च ५७११ नम्बरको स्कार्पियो गाडी धनी महेश चौधरी, जम्मुदिन मिया, गोपाल श्रेष्ठलाई पनि ‘बुझिएका व्यक्ति’का रुपमा वयान कागज गराइएको छ ।

यो पनि पढ्नुहोस महराविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता

साढे ७ वर्षसम्म कैद सजायँ माग

अभियोग पत्रमा मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसूर गरेको अभियोगको मागदावी गरिएको छ ।

मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । तर, महराले उद्योग मात्र गरेको निष्कर्ष निकालिएको छ । त्यसैले दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायँको आधा मात्र सजाँय हुने व्यवस्था अनुसार माग गरिएको छ ।

महराले संघीय संसदको सभामुखको दुरुपयोग गरी कसूर गरेकाले उनीविरुद्ध फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन दफा १५ को उपदफा २ को (ङ) को बमोजिम डेढ गुणा बढी सजाय पनि माग गरिएको छ । यसअनुसार सरकारी वकिल कार्यालयले महरामाथि ५ वर्षदेखि साढे ७ वर्षसम्म कैद सजायँ माग गरेको छ ।

साथै, अपराध संहिताको दफा २२८ एवं अपराध पीडित संरक्षण ऐनको दफा ४१ बमोजिम कसूरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउनुपर्ने पनि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment