Comments Add Comment

निगमको कमजोरीले विमान सेवा रोकियो : मेयर पौडेल

२२ कात्तिक, बागलुङ । बागलुङ नगरपालिका गण्डकी प्रदेशको पोखरापछि दोस्रो धेरै जनसंख्या भएको नगरपालिका हो । यो नगरपालिकाको नेतृत्वमा अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनक पौडेल छन् । २०३८ सालमा विद्यार्थी फाँटबाट राजनीतिमा आएका मेयर पौडेलसँग नगरपालिकाको विकास गतिविधिबारे अनलाइनखबरका विश्वास खड्काथोकीले गरेको कुराकानीको सम्पादित अंश:

आफ्नो साढे दुईवर्षे कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?

हामी यस्तो अवस्थामा जनप्रतिनिधि भयौँ की जनताको अपेक्षा अत्यन्त बढी थियो र राज्यको सामर्थ्य अत्यन्त कमजोर भइसकेको थियो । त्यो किनभने निर्वाचनताका निकै ठूल्ठूला सपना बाँडियो । देश भने नीति विहीनताको अवस्था थियो । राज्यका सबै निकाय आ–आफ्नै ढंगले चलेका थिए । यसकारण अराजकता थियो । त्यो अवस्थामा काम सुरु गरेका हामी अहिले सन्तुष्ट छौं ।

यो बीचमा नगरपालिकाले गरेका कामचाहिँ के-के हुन् ?

हामीले सामुदायिक शिक्षालाई बढी महत्व दिएर अगाडि बढाएका छौँ । यो बीचमा हामीले झण्डै १५ सय जति विद्यार्थीलाई निजीबाट सामुदायिकमा स्थानान्तरण गरका छौँ ।

सामुदायिक शिक्षालाई गुणस्तरीय बनाउन शिक्षक नियुक्तिलाई निष्पक्ष बनाएका छौँ । हिँजो शिक्षक सरुवा र नियुक्तिमा ५० हजार तीन लाख रुपैयाँसम्म चलखेल हुन्थ्यो । हामीले दबाबका बीच पनि निष्पक्ष ढंगले ८०–९० जना शिक्षण नियुक्ति गर्‍यौं । दुई दर्जन विद्यालय गाभ्यौं ।

सामुदायीक विद्यालयमा शिक्षक बढी विद्यार्थी कम हुने अवस्था थियो । त्यसैले कतिपय बिहानको स्कुललाई १०–४ मा ल्याएका छौँ । तर, अहिले सामुदायीक विद्यालयमा आकर्षण बढेको छ । सामुदायीकमा राम्रा विद्यालय भवन र योग्य शिक्षकहरु भएर पनि पढाइ गतिलो नहुनुमा व्यवस्थापकीय कमजोरी रहेछ ।

यो साढे दुई वर्षमा केमा बढी लगानी गर्नुभयो ?

नगरपालिकाको ग्रामिण भेग– कुँडुले, लहरेपीपल, लामाचौर र पयुँपाटामा खानेपानीको समस्या विकराल थियो । ती ठाउँमा एक घर एक धारा अभियान चलायौं । चार–पाँच दशकदेखिको खानेपानीको समस्या हामीले समाधान गरेका छौँ । तीन ठाउँमा करिब एक अर्बको खानेपानी आयोजना सञ्चालन हुँदैछ ।

हामीले ढलको समस्या पनि हटाउँदैछौं । नेपालकै सबभन्दा लामो र अग्लो पुल निर्माण सक्दैछौँ । यसबाट पर्यटन विकासका साथै पाङ, नाङ्लीवाङ जस्ता ठाउँ बागलुङ बजारसँग जोडिन्छन् । कालीगण्डकी किनारका १४ परिवार माझीलाई बांगेचौरमा स्थानान्तरण गरेका छौँ ।

फलफूल खेती प्रोत्साहनको लागि १० लाख रुपैयाँ अनुदान बाँडेका छौँ । सिंगनामा २० हजार विरुवा रोपेर चियाखेती शुरु गरेका छौँ ।

निर्वाचनताका गरेका प्रतिबद्धतामध्ये कति पूरा गर्नुभयो त ?

यी सबै प्रतिवद्धता भित्रैकै काम हुन् । बजार र गाउँ जोड्ने सडकलाई बाह्रै महिना सञ्चालन गर्ने प्रतिबद्धता गरेका थियौँ । १४ वटै वडामा कालोपत्रे सडक पुर्‍याउने भनेका थियौँ । सातवटा वडामा पुगिसक्यो, १३ र १४ नम्बर वडामा एक वर्षभित्र पुग्दैछ ।

विषेषज्ञ डाक्टर भेट्न मुस्किल हुने धौलागिरि अञ्चल अस्पतालमा नौ–नौ जना विशेषज्ञ डाक्टर राखेर सेवा दिएका छौँ । कृषि क्याम्पस सञ्चालनमा ल्याउँदै छौँ । यही बीचमा बलेवामा हवाई सेवा सञ्चालन गरेर देखायौँ ।

हवाई सेवाले निरन्तरता त पाएन नि !

यसमा नेपाल वायु सेवा निगमको कमजोरी छ । निगमको व्यवस्थापन निकै फितलो छ । अर्को कुरा सदरमुकामसम्म चौबीसैघण्टा गाडी चल्ने सहज सडक नहुँदा पनि अलिकति समस्या देखियो । त्यसैले हामी एयरपोर्टसम्मको सडक कालोपत्रे गर्दैछौँ ।

पहिला पूर्वाधार निर्माण गरेर विमान सेवा चलाएको भए निरन्तरता पाउँथ्यो होला नि !

हरेक निर्वाचनमा जनप्रतिनिधिले प्रतिबद्धता जनाउनुहुन्थ्यो । लोकेन्द्र विष्टदेखि दिनानाथ शर्मासम्मले ल्याण्ड गराएरको प्लेन उडेर गएपछि कहिल्यै आएन । त्यसबाट नागरिकमा अविश्वास मात्र बढ्यो । हामी आएपछि नगरपालिकाको १५ लाख र निजी क्षेत्रको १५ लाख रुपैयाँ खर्च गरेर विमान सेवा सुरु गर्‍यौं । छ महिनाभन्दा बढी चल्यो । फेरि भन्छु, निगमको व्यवस्थापन ठीक भए विमान सेवा निरन्तर चल्थ्यो ।

अब यत्तिकै रोकिन्छ कि फेरि सुरु हुन्छ ?

यो वर्षबाट हामीले धावनमार्ग कालोपत्रे शुरु गर्छौँ । यसको लागि नेपाल सरकारबाट चार करोड विनियोजन भएको छ । दोस्रो र तेस्रो वर्षमा तीव्र गतिमा काम गर्ने कुरा छ । नियमित विमान सेवा सञ्चालन हुन दुई–तीन वर्ष लाग्छ ।

विकासको अनुभूति भएन भन्ने जनगुनासो छ नि ?

हिँजो जनतालाई समस्या पर्दा कहाँ गएर भन्ने अन्यौल थियो । अहिले त्यो ठाउँ पाएका छन्, प्रश्न र खबरदारी पनि गरिरहेका छन् ।

स्थानीय निर्वाचनपछि वडातहसम्मै भ्रष्टाचारको जालो फैलियो भन्ने सुनिन्छ । जनप्रतिनिधिहरुले पैसा कमाउन सामाजिक विकासमा भन्दा भौतिक निर्माणमा बजेट खन्याएको गुनासाहरु छन् । तपाईंको नगरपालिकाको स्थिति के छ ?

राजनीतिक दलहरुमा पनि केही समस्या छ । चुनावी प्रक्रिया अत्यन्त खर्चिलो छ, कतिपय ठेकदारलाई नै टिकट दिइयो । दुःख पाएका कार्यकर्ताले चुनाव लड्न सक्ने परिस्थिति छैन । त्यसैले राजनीतिक शुद्धीकरण पनि आवश्यक छ ।

त्यसैले हाम्रोमा समस्या नै छैन भन्दिनँ, तर हामीले पारदर्शीतालाई उच्च महत्व दिएका छौँ । प्रतिपक्षको खबरदारीको कारण पनि त्यति ठूलो समस्या छैन । जनतालाई केन्द्रमा राखेर काम गर्न खोज्दा राजनीतिक प्रतिशोध र पूर्वाग्रहले बदनाम गर्न पनि खोजिदो रहेछ । तर, हामीले जनतामा आशा जगाउने काम गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment