Comments Add Comment

एउटै विषयमा संसदका दुई समितिको छुट्टाछुट्टै बैठक

राज्य व्यवस्था समितिको बैठक (बायाँ) र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक (दायाँ) । तस्वीर : रासस

२५ कात्तिक, काठमाडौं । भारत सरकारले जारी गरेको नयाँ नक्सा र त्यसले नेपालमा चलिरहेको बहसबारे सोमबार प्रतिनिधिसभाका दुई विायगत समितिले छुट्टाछुट्टै छलफल आयोजना गर्‍यो ।

राज्य व्यवस्था समितिले भूमि व्यवस्थामन्त्री पदमा अर्यालसँग छलफल गर्‍यो भने अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गर्‍यो ।

सिमाको विषय अन्र्तराष्ट्रिय सम्बन्धसँग जोडिएको विषय हो, त्यसकारण अन्तराष्ट्रिय सम्बन्ध समितिले यसबारे छलफल गर्ने नै भयो । सीमाको विषय गृहमन्त्रालयले हेर्छ, सीमामा सुरक्षाकर्मी खटिन्छन् । त्यसकारण यो विषय राज्य ब्यवस्था तथा सुशासन समितिको पनि चासोको बिषय भयो ।

तर, दुई वटा समितिको बैठक संयुक्त बसेको भए बेश हुन्थ्यो कि ! अनलाइनखबरको जिज्ञासामा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेल भन्छिन्, ‘संयुक्त बैठक राख्ने प्रस्ताव दुबैबाट भएको हो । यस्तो सल्लाह गरेका थियौं । हुन्छ भन्ने भएको थियो । पछि उहाँ (राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठ) को सम्पर्क आएन । यता हामीले बैठक तोक्यौं । उहाँले पनि बैठक राखिसक्नुभएछ, पछि मात्रै मलाई जानकारी भयो ।’

यही प्रश्नमा राज्य ब्यवस्था समितिकी सभापति शशी श्रेष्ठ भन्छिन्, ‘कात्तिक १९ गते समतिको बैठकमा यसबारे कुरा उठेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको पनि चासोको बिषय हो भनेर मैले त्यस समितिकी सभापतिलाई जानकारी गराएँ । संयुक्त बैठक बसौं भन्ने भएको थियो तर, पछि सम्पर्क भएन । यत्ति भनौं, पछि सम्पर्क भएन ।’

दुवै समितिको बैठक सोमबार बिहान साढे ११ बजे बस्यो । राज्य व्यवस्था समितिले लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दियो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कुनै ठोस निर्णय गरेन । बरु यो विषयमा थप चलफल चलाउने समिति सभापति खरेलको योजना छ ।

‘मन्त्रीज्यूले दुई देशका सचिवस्तरयि बैठक बस्ने भन्नुभएको छ । त्यो भन्दा पहिले गृहमन्त्री र भूमि ब्यवस्थामन्त्रीसँग छलफल गर्ने भन्ने भएको छ र समय तोक्न बाँकी छ’ खरेलले अनलाइनखबरसँग भनिन् ।

‘छुट्टाछुट्टै बस्दा केही खल्लो भयो’

छुट्टाछुट्टै बैठक बस्दा केही खल्लो महसुस भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति खरेल बताउँछिन् । ‘संयुक्त बैठक बस्न पाएको भए कस्तो राम्रो हुन्थ्यो तर, मलाई अलिकति खल्लो भयो आज’, खरेल भन्छिन्, ‘यसमा उहाँको पनि मेरो पनि गलत नियत होइन । सल्लाह एकचोटी गर्यौं त्यो उहाँले पनि बिर्सिनुभयो होला मैले पनि बिर्सिएँ ।’

राज्य ब्यवस्था समितिमा प्रचण्ड दोस्रो पटक

संसदीय समिति बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक सहभागी भएका छन् ।

यसअघि ११ पुष २०७५ मा समिति बैठकमा अध्यक्ष प्रचण्ड पहिलो पटक सहभागी भएका थिए । त्यसबेला उनले आफू पार्टी एकीकरणलगायतका काममा ब्यस्त हुनुपरेका कारण समितिमा नियमित आउन नसकेको प्रष्टिकरण दिँदै निरन्तर आउन कोसिस गर्न बताएका थिए ।

तर, उनले नियमित आउन कोसिस गर्ने बाचा गरेको करिब ११ महिनापछि समिति बैठकमा झुल्किए । यसपटक भने उनले समिति बैठकमा आफ्नो उपस्थितिबारे केही बोलेनन् । अध्यक्ष प्रचण्ड राज्य ब्यवस्था समितिका सदस्य हुन् ।

समिति बैठकमा सांसदहरुले भने शीर्ष नेता सहभागी भएको खण्डमा सहज हुने भन्दै समिति सभापतिहरुले ध्यानाकर्षण गर्ने गरेका छन् । तर, शीर्ष नेताहरु कमै मात्रै समिति बैठकमा जान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment