+
+

खै त रत्यौलीको रतिराग ?

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७६ मंसिर १ गते १०:३१

आमा लाइदिनुस् टीका

शुभ साइतको बेलामा

जीवन साथी लिनलाई गए

कैल्यै पनि बिरानो नभए ।

सजिसजाउ बेहुलालाई अन्माएर पठाउनै लाग्दा एउटा हुलले सांगीतिक रुपमा विवाहको माहोललाई आफू तिर तान्ने प्रयास गर्छ । एउटा मूल नाइकेले भनेको अन्तरामा सबै मिलेर स्थायी थाप्न थाल्छन् । यत्तिकैमा सांगीतिक माहोल बढ्दै जान्छ र बेहुलो अन्मिएर बेहुली लिन निस्कन्छ । यो माहोलमा सबै उपस्थितहरु गायक गायिकाहरु हुन् । थपडी वाद्यवादन हो । यसरी नै चल्दै आएको छ हाम्रो विवाह संस्कार । विवाहको विशेष आनन्द पनि यिनै संस्कारहरुले बोकेको छ ।

विवाहमा लोग्ने मानिस र महिलाहरुले गाउने दुई भिन्दाभिन्दै गीतहरुको आफ्नै विशेषता रहेको छ । मंगल कामनाको लागि गाइने मांगल गीत होस् या रतिरागले ओझिलो बनेको रत्यौली नै विवाह संस्कारका मूलभूत सांगीतिक मनोरञ्जनका साधनहरु हुन् । मांगल गीत वरले घर छाड्नु पूर्व नै गाइने संगीत हो भने रत्यौली जन्तीले बेहुली लिएर फर्किनुपूर्वसम्म गाइने मनोरञ्जनात्मक गीत हो ।

मांगलिक सुरु गर्ने विवाह संस्कारलाई रतिरागले भरिएको रत्यौलीले बिट मार्ने गर्दछ । यही नेपाली विवाह प्रणालीको विशेषता हो । लिंगाचौका गाडेर मण्डपको निर्माण गरेसँगै एकाकुनामा बसेका अधबैंसे पुरुषहरुले सुरु गर्छन् मांगल गीतका टुक्काहरु । यी टुक्काहरु केवल स्तुतिमा आधारित हुने भएकोले तन्नेरीहरुलाई त्यसल तान्न सक्दैन । दुलाहाहरुलाई जिस्क्याउने र होच्याउने काममा नै व्यस्त हुन्छन् तन्नेरीहरु ।

यो स्मृति परम्परागत विवाह पद्धतिको हो । जसलाई सम्झिएका छन् त्रिभुवन विश्वविद्यालयका नेपाली विभागका लोक संस्कृति अध्यापन गराउने प्राध्यापक तुलसीलाल पराजुलीले । पक्कै पनि यो किसिमको आनन्दित विवाहको पद्धति धेरै हदसम्म नेपाली समाजबाट हराइसकेको छ । रत्यौलीको भाका जान्नेहरु हराइसकेका छन् भने केवल विवाह संस्कार कर्मकाण्डी बन्दा योसँग जोडिएका अनेकौं संस्कारहरु लोप हुँदै गएका छन् ।

पराजुलीका अनुसार एकातिर जन्तीहरु बेहुली लिनको लागि गएका हुन्छन् । अर्काेतिर घरमै बसेकाहरुले भने बेहुलीको घरमा भएको गतिविधिको स्मरण गरेर रत्यौलीका भाकाहरु सुरु गर्छन् ।

स्वयंवरको आइपुग्यो बेला

फूलमाला साटासाट यो बेला

सिन्दुर हाल्ने भैगयो बेला

माइती नजिक नबसे यै बेला

गएँ आमा डोलीमा चढेर

नराऊ आमा पिँडीमा बसेर ।

बस बस झ्यालढोका उघारी

पाथी भर्छन् सासु र बुहारी ।

उठ मयाँ उज्यालो भयो

भाले बास्यो डाँडैमा घाम लायो ।

यही पंक्तिहरुले स्वयंवरको समयदेखि विवाह सकेर भोलिपल्टको समयसम्मको गीतलाई समेट्ने गरेको छ । रत्यौली केवल मनोरञ्जनको साधन मात्रै नभएर आफ्नो पीडा प्रस्फुटन गर्ने फोरम पनि हो । यही रत्यौली मार्फत् आफ्ना पीडा अरुसामु पोख्ने गरिन्छ । यस्ता पीडाहरु विशेषगरी सासु र बुहारीको बीचमा हुने गर्छन् । जहाँ दुबैले एकअर्काको गीत सुन्ने गरेका हुन्छन् ।

पछिल्लो समय खेलिने रत्यौलीहरु केवल आधुनिक लोक गीतको तालमा नाचेर मात्रै मनाइने गरिन्छ । तर, यसको वास्तविक भाका भने लोप हुने क्रममा रहेको पराजुली बताउँछन् । हिजोआजको क्याटरिङमा गरिने विवाहपद्धतिका कारण रत्यौलीको भाका हराएको छ । पहिले पहिले टाढा टाढाको विवाहमा साधनको अभावका कारण दुईदिने विवाह गर्ने गरिन्थ्यो । यही विवाहले यता जन्तीहरुमा अर्काे प्रेम जोडीको उदय गराउँथ्यो भने घरमा आमाहरुको रोदन पनि सासुको कानमा पुग्ने गथ्र्याे । लोक संगीतसँगै चलेका हुन्थे जन्तीका पाइलाहरु । तर, ती सबै बिस्तारै स्मृतिपटलमा मात्रै सीमित हुन थालेको छ ।

रत्यौली एउटी महिलाको घरायसी जीवनको पीडा चित्रण गरिने यथार्थवादी गीत हो । आफ्नै मौलिक शैलीमा आफ्ना समस्याहरु सुनाउने यो गीतमा हा, बाँदुरै, पाउँदुरै, अरे भैया, होइ, ओहोइ, हे, जस्ता शब्दहरु थेगोको रुपमा प्रयोग गर्ने गरिन्छ ।

विवाहमा हराउँदै गएका संस्कारहरु

आधुनिक विवाह पद्धतिको सुरुवात भएसँगै विवाह संस्कारसँग जोडिएका विविध परम्पराहरु हराउने क्रममा छन् । त्यसैको एउटा उदाहरण पनि हो रत्यौली । विवाह संस्कारसँग मात्रै सम्बन्धित भएका संस्कृतिहरु मध्ये माहुर लगाउने, पञ्चैबाजा, नौमति बाजा, रत्यौली खेल्ने, संगिनी खेल्ने आदि विवाह संस्कारमा मात्रै देखिने परम्पराहरु लोप हुने क्रममा छन् । त्यसमध्ये विवाहमा अन्मिने बेलामा बेहुलाले बालेको ग्रहशान्तिको दियो ननिभोस् भन्नको लागि कुरेर बस्नेहरुले गाउने गीत रत्यौली हो । यस्तो बत्ती कुरेर पहिले पहिले धेरै महिलाहरु नै बस्ने गर्थे ।

सोही समयमा रात बिताउनको लागि एक अर्काले श्लोक अन्ताक्षरी खेल्न सुरु गरे । त्यहीँबाट बिस्तारै लोकभाका गाएर रत्यौली मनाउने क्रम सुरु भएको लोक साहित्य सम्बन्धी लेखिएका विभिन्न पुस्तकहरुमा उल्लेख छ । धार्मिक मान्यता अनुसार त्यो ग्रहशान्ति गरिएको दियो निभ्यो भने बेहुला र बेहुलीलाई समेत राम्रो नहुने मानिन्छ । त्यसैले त्यही ग्रहशान्तिको दियोको रक्षा गर्नेहरुबाट सुरु भएको मानिन्छ रत्यौली ।

दुलाहा अन्माएदेखिकै घटना रत्यौलीमा

रत्यौली दुलाहा अन्मिइसकेपछि खेल्न सुरु गरिने भएपनि यसमा दुलाहा अन्मिएदेखिकै घटनालाई समेट्ने गरिन्छ । दुलाहालाई बेहुलीको घर पठाउने बेलाको सम्झनामा एक किसिमको गीत गाउने गरिन्छ । जब जन्तीहरु बेहुलीको घर तिर लाग्छन् त्यसपछि केही बेर आफ्ना घरधन्दा सकेपछि रत्यौलीको भाकामा दोहोरी सुरु हुन्छ । यसको भाकाहरु आफ्नो स्थानीय भाकासँग समायोजित भएका हुन्छन् । यसमा दुई तिर दुई पक्ष बसेर व्यवस्थित रुपमा दुबै पक्षबीच दोहोरी खेल्ने गरिन्छ । पश्चिम नेपालको लमजुङ जिल्लामा गाइने रत्यौलीको भाका यस्तो छ । जस्तोः

आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…..।

‘हे…आजै र मैले दाउरा खोजें वनको ठिनामिना, दुलाहा गयो दुलही लिन, जन्ती चाहिँ गए किन ?

हे बाबु, हे बसुन्धरा, आमालाई नरुवाउ चम्धारा……।’

यस्ता गीतहरु ठाडो भाकामा गाइन्थे । यस्तै भाकामा अर्काे तिरबाट पनि जवाफ आउँथ्यो । त्यसैमा दोहोरी चल्न थाल्यो । मूल गायकहरु सबैभन्दा अघि बस्छन् । पछि बस्नेहरुले थपडीका साथमा उनीहरुको भाकामा साथ दिन्छन् ।

मांगल गीत र रत्यौली

प्राध्यापक पराजुलीका अनुसार विवाहको समयमा गाउने गरिएको दुई गीतहरु देख्दा उस्तै देखिएपनि भिन्न छन् । एउटा विवाहको प्रक्रिया सुरु भएदेखि नै मंगलको कामना गर्दै गाइन्छ । जसलाई मांगल गीत नामले चिनिन्छ । यस्ता गीत विवाहको मण्डप निर्माणदेखि दुलही भित्र्याउने बेलासम्म विभिन्न समयमा गाउने गरिन्छ । त्यस्तै, अर्काे गीत मनोरञ्जनको लागि हो । त्यो गीत रत्यौली गीत हो ।

यस्ता मांगल गीतमा विशेषगरी भगवानका स्तुति गरिन्छ । यस्ता गीतहरु विवाहको मण्डप बनाउने बेलामा, दुलाहा जग्गेमा बस्दा, दुलाहा अन्माउनँदा वा बेहुली भित्र्याउने बेलामा गाइन्छ । रत्यौलीमा भने महिलाहरुले पुरुषहरुलाई आउन दिँदैनन् । त्यहाँ उनीहरुको नारी मनोविज्ञान, पारिवारिक विषयहरु, बुहारी आएपछि सासुले घर छाड्नु परेको जस्ता पीडाहरु पोख्ने गरिन्छ ।

गृहसूत्रदेखिकै प्रचलन

संस्कृतमा परासर ऋषिले लेखेको परासर गृहसूत्र जस्ता ग्रन्थहरुमा विवाहको समयमा संगीतको महत्वबारे उल्लेख गरिएको छ । सो गृहसूत्रले विवाहमा दुलाहा दुलहीहरुले गाथा गाउने उल्लेख गरिएको छ । दुलाहा दुलहीको बीचमा र दुलही पक्षमा गाथामा गाउने परम्परा राम र सीताबीच विवाह हुँदा पनि भएको पराजुलीले जानकारी दिए । राम सीताको विवाहको समयमा जनकपुरका महिलाहरुले जन्तीलाई गीतबाट नै जिस्क्याएको उल्लेख भएकोले त्यतिबेला पनि गाथा गाउने चलन रहेको मान्न सकिने उनको बुझाई छ ।

रत्यौलीमा पुरुषलाई प्रवेश नदिनुको रहस्य

अहिले त रत्यौली होस् या त तीजका गीतहरु नै । सबैमा महिला र पुरुषहरु मिलेर गीत गाउन र नाच्न थालिसकेका छन् । तर, पहिले पहिले पुरुषहरु रत्यौलीमा जान सक्ने थिएनन् । यसको पनि विविध मान्यताहरु रहेको मानिन्छ ।

पहिलो त यो महिलाहरुले आफ्नो उत्पीडनलाई प्रस्तुत गर्ने एउटा मञ्च थियो । त्यसमा पुरुषहरु आफैं पनि जाने गरेका थिएनन् । प्राचीन नेपाली समाजमा सासुबाट बुहारीहरु प्रताडित हुने गर्थे । यही एउटा यस्तो मञ्च हुन्थ्यो । जहाँ गीतको माध्यमबाट नजिकै बसेकी सासुलाई आफ्नो पीडा गीतबाट सुनाउने गरिन्थ्यो ।

अर्काेतर्फ पुरुषले रत्यौली हेर्ने वा सुन्ने काम गरेमा त्यस व्यक्तिको आयु घट्छ भन्ने लोक विश्वास पनि छ । त्यसैले कोही पनि केटाहरु त्यहाँ जाने गरेका थिएनन् । यसबाहेक जानसक्ने केटामानिसहरु सबैजसो जन्ती जाने गरेको पाइन्छ । त्यसैले रत्यौलीमा बस्ने पुरुषहरु नै नहुने भएकोले पनि यो महिलाहरुले गाउने गीत बन्दै गएको मान्न सकिन्छ ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?