Comments Add Comment

श्रीलंकाका राष्ट्रपतिका दाइले लिए प्रधानमन्त्रीको शपथ

६ मंसिर, काठमाडौं । श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले बिहीबार शपथ ग्रहण गरेका छन् ।

परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार पदबाट राजीनामा दिएका थिए । बुधबार नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षले भूतपूर्व राष्ट्रपतिसमेत रहेका आफ्नै दाजुलाई प्रधानमन्त्रीका लागि बुधबार सिफारिस गरेका थिए ।

श्रीलंकाको इतिहासमा दाजुभाइ नै देशको राष्ट्रपति र प्रधानमन्त्री बनेको यो पहिलो घटना हो ।

नवनियुक्त प्रधानमन्त्रीले सन् २००५–२०१५ सम्म श्रीलंकाको शक्तिशाली राष्ट्रपतिका रूपमा काम गरेका थिए । उनकै नेतृत्वमा श्रीलंकामा तीन दशक लामो गृहयुद्ध अन्त्य भएको थियो ।

प्रधानमन्त्रीको समर्थन रहेका सजित प्रेमादासाले राष्ट्रपतिका उम्मेदवारको निर्वाचनमा पराजयको केही दिनपछि विक्रमासिंघेले राजीनामा दिएपछि नयाँ सरकारको गठन भएको हो ।

गत शनिबार सम्पन्न निर्वाचनमा राजापाक्ष ६० लाखभन्दा बढी मत ल्याई राष्ट्रपतिमा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी प्रेमादासाले करिब १५ लाख कम मत पाएका थिए ।

राजापाक्षको नेतृत्वमा सानो कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । नयाँ मन्त्रीमण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार आउने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment