Comments Add Comment

पेरिसमा पाकेटमार !

यही वर्षको अगस्टमा फिनल्याण्डबाट फ्रान्स जाने योजना बन्यो । नेपालबाट एउटा कार्यक्रममा भाग लिन फिनल्याण्ड आएको साथीले पेरिस पुग्ने ठूलो रहर गरेपछि ३ दिने पेरिस भ्रमणको कार्यक्रम बन्यो ।

केही समयअघि मात्र दक्षिण अमेरिकाको ब्राजिल लगायत देशमा पुगेको मलाई पेरिस यात्रा खासै उत्साहजनक त थिएन, तर पहिलोपटक युरोप पुगेको साथीलाई भने यो ठूलै उमङ्गको विषय थियो ।

फिनल्याण्डको राजधानीबाट फिनल्याण्डकै ध्वजाबाहकमा दुईजनाको टिकट दुईतर्फी बुकिङ गरें । अफिस छुट्टी धेरै लिन नमिल्ने हुनाले शनिबार बिहान गएर सोमबार बेलुकी नै फर्किने टिकट काट्नु पर्दा सामान्य भन्दा केही महंगो पर्न गयो ।

शनिबार बिहान कोठाबाट निस्केर हेलसिन्की विमानस्थल पुग्यौं । सामान्य सुरक्षा जाँच पश्चात प्लेनमा आफ्नो सिटमा बस्यौं । फ्रान्स र फिनल्याण्ड दुबै सेञ्जेन राष्ट्रहरूमा पर्ने भएपछि भिसा, पासपोर्ट जाँच हुने कुरा आएन । करिब ७ बजे उडेको विमान, १० बजे पेरिसको चार्ल्स डी गौल विमानस्थलमा अवतरण गर्यो ।

विमानस्थलबाट सहरको केन्द्र, जहाँ हामीले बुकिङ गरेको होटल अवस्थित थियो, त्यो करिब ४० किलोमिटर पर रहेछ । ट्याक्सी र उबरमा महंगो पर्ने र पेरिसको सार्वजनिक यातायात अनुभव गर्ने मनसायले ट्रेन अनि मेट्रो हुँदै पुगिने गरी टिकट काट्यौँ । आधा घण्टाजतिको ट्रेन यात्रा पछि, मेट्रो समात्नुपर्ने भयो ।

मेट्रो चढ्ने स्टेसनमा ४/५ जना व्यक्तिहरू चढे । निकै भीडभाड रहेको मेट्रोमा दुईजना अघि र दुई तीन जनापछि हुने गरी उभिए । मेरो पछिल्लो पाकेटमा कसैले हात हालेको जस्तो लाग्यो । झ्याप्प एक व्यक्तिले हात हालेको थाहा भइहाल्यो । मलाई कुन व्यक्ति हो भन्ने चिन्न मुश्किल भएन ।

उसले अस्वाभाविक तरिकाले उल्टै मलाई अगाडि बढ्न भन्दै झपार्‍यो । मैले मेरो गोजीमा हात नहाल्न भनी अंग्रेजी जवाफ फर्काएँ । अर्को व्यक्ति (उसकै साथी हुनुपर्छ)ले फ्रेन्चमा के-के भन्न थाल्यो । मैले जवाफ फर्काइरहनु उचित ठानिनँ ।

पेरिसमा विभिन्न मूलका विदेशीहरु धेरै छन् । हामी पेरिस जानु केही हप्ताअघि त्यहाँ पुगेका एकजना दाइलाई पेरिस भ्रमणको योजना सुनाउँदा त्यहाँ पाकेटमारहरु धेरै हुने र विचार गर्नुपर्ने बताएका थिए । तर, खासै वास्ता गरिएन । संसारकै धेरै पर्यटक पुग्ने देशमा त्यस्तो नहोला र सुरक्षा व्यवस्था कडा होला भन्ने आँकलन भयो ।

केही समयअघि मात्रै पेरू पुग्दा किनेको थिएँ मैले प्रयोग गरेको पर्स । दक्षिण अमेरिकामा मात्र पाइने अल्पाका नामक जनावरको छालाबाट बनेको उक्त पर्स पहिलोपटक हेर्दै मन परेको र प्रयोग गरेको एक महिनामात्र भएको थियो ।

उनीहरू अर्को स्टपमा झरें । मैले आफ्नो पर्स ब्लेजरको खल्तीमा हालें । स्टेसनमा माइकबाट फुकिँदै थियो- ‘पाकेटमारदेखि सावधान !

त्यसपछि पेरिसमा अलि ध्यान दिनु उचित लाग्यो । आइफल टावर, मोनालिसाको तस्वीर भएको म्युजियम लगायतका ठाउँमा भीडभाड अनि अलि सजक हुनुपर्ने रहेछ ।

हामीजस्तै पेरिस घुम्न जानेहरु पकेटमारबाट सावधान रहनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment