Comments Add Comment

संस्मरण : त्यो वर्गविहीन गाउँ, यो वर्गीय मौसम !

त्योबेला विद्यालय शिक्षा सबैका लागि समान थियो । धनी र गरिबबीच कुनै विभेद भएको लाग्दैनथ्यो । भन्नेले त सामन्ती, शोसक भनेको सुनिन्थ्यो । तर, सामन्तीका छोराछोरी र शोसितका छोराछोरी एउटै विद्यालय, अझ भनौं, एउटै बेञ्चमा बसेर पढथे । पढाइमा कुनै भेदभाव थिएन ।

त्यतिबेलाको परिभाषालाई अहिले पल्टाएर हेर्दा म कुन वर्गमा पर्थें, थाहा छैन । म सामन्ती वर्गमै पर्थें भने पनि मेरा साथीहरु सीमान्तीकृत र दलित वर्गका थिए । म शोषित वर्गमा पर्थें भने पनि किताब कापी साटेर पढ्ने साथीहरु कहलिएका धनिमानीका छोराछोरीहरु थिए । केटै थिएँ । गहन शब्दको अर्थ बुझ्दिनँ थिएँ ।

त्यस्तै सेरोफेरोमा समय अगाडि बढ्यो । फलामे ढोका पार गरेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौंको खाल्टोमा भासियौं ।

घर छोडेको पहिलो दिन बोक्न मिल्ने प्लाष्टिकको डोरीको तुना भएको कपडाको झोलामा आमाको मायाले भरिएको आधामाने सिसस्मा ध्यू, एक अजुँली गुन्द्रुक र दुई/तीन पसेरा कर्कलो र मासले बनाएको मसौरा, त्योसँगै पुरानो कट्टु र छोरो परदेश जान लागेको भनेर आमाको रोजाइमा बालीघरे दर्जीदाइबाट सिलाइएको एकजोर सर्ट–पाइन्ट । बस् यति थियो काठमाडौं यात्राको बन्दोवस्ती ।

बस चढेर हुइँकिनु कौतुहलको विषय भए पनि, बस देख्नेवित्तिकै फनफन्ती रिंगाउन थालिहाल्थ्यो । बसपार्कसम्म विदा गर्न आएकी आमाले छोराको अवस्था बुझेर होला, बान्ता हुन लागेमा सुँघ्नु है भनी पटुकीमा बाँधेर ल्याएको कागती दिनुभयो । प्रेमपूर्वक दिनुभएको कागती मैले यति जोडले समातेंछु कि काठमाडौं आइपुग्दा गुम्सिएर पाकेर फलत्तै भएथ्यो । कल्कलाउँदो अवस्थामा शहर भासिएर जीवनका अनगिन्ती भोगाइहरु भोग्दै हिँडिदैछ । अहिले पनि मेरी आमाले दिएकी त्यो कागती यतैकतै अल्झिएको छ कि भनेर झस्किरहन्छु ।

मुग्लिन नौविसे बाटो कस्तो थियो भने ढिकिच्याउ खेलको पिर्कामा बसेजस्तो हुन्थ्यो । एकातिर बाटोको बिजोग, अर्कोतिर बस लागेर खपिनसक्नु । बसभित्र चिनेकाहरु को छन् छैनन् पत्तो नहुने ।

बिहान चढेको बसले झण्डै साँझपख काठमाडौं ल्याएर छोडिदियो । कहाँ छाडिदियो थाहा छैन, कहाँ जाने थाहा छैन । उताबाट हिँडदा एकजना आफन्तको कोठामा जाने भनेर हिँडेको हो । तर, विचरा ती आफन्त कहाँ भेटिएलान् र यतिखेर ।

सडकको पेटीमा टुसुक्क बसें । घर छोडेको नयाँ परदेशी । तर, आँखा, मन र तन उहीँको छ, जहाँ बचपन गुज्रिएको छ । त्यहीँको भिरपाखा पखेरीमा अल्झिएका छन् सपनाहरु । आजमात्र त्यहाँबाट हिँडेको अहिले नै न्यास्रो लागेजस्तो भयो ।

आमाले दिएको कागतीमा गएर नजर ठोकियो । कागतीमा आमाको विम्व देखें । विम्वमा हजारौं सपना दौडिएको देखें । छोरो उच्च शिक्षाका लागि परदेशिएको छ, कति आकांक्षा छन् होला आमाको मनभित्र । छोराको पहिलो कमाइबाट च्यातिएको पटुकी फेर्न मन छ होला । अनि, बजारमा सजाएर राखेको जिलेवी पेटभरि खाने ईच्छा छ होला । तर, मैले कमाउने कहिले हो पत्तो छैन । अनायास झस्किएँ ।

आजजस्तो मानवता हराएको समय थिएन । बसमा सँगै आएका चिनेका दाजुसँगै क्षेत्रपाटीतिर गएँ । ती दाजुले उनका भाइको कोठामा लगेर गए । ती मेरै विद्यालयमा पढेका मभन्दा एक वर्ष अगाडिका साथी रहेछन् । तिनताका आफूभन्दा एकवर्ष अगाडि वा पछाडि पढ्नेहरु आफ्नै दौंतरी हुने गर्दथे । कोही कक्षा दोहोर्‍याउथे, कोही ढिलो भर्ना हुन आउँथे । त्यसैले उनीहरुसँगको सम्वोधनमा औपचारिकता हुँदैनथ्यो । तिमी र तपाई चल्ने त कुरै थिएन, झयाप्पै तँको झटारो गइहाल्यो ।

उनलाई देख्नेवित्तिकै के भनें, सम्झना छैन । कोठामा पुगेको मात्र हेक्का छ । राति कसले खाना बनायो, के खाएँ, थाहा भएन । बिहान बिउझिँदा पनि गाडी रिँगाइरहेको छ, अचम्मै बस लागेछ । खाटमै जोडिएको झयालबाट सडकको दृश्य हेर्न थालें ।

एकाबिहानै बाटाभरि मानिसको जन्ती छ । सागका भारी बोकेर हिँडिरहेका मानिसलाई देखेर रीस उठ्यो । घरै पिँडालु, वनै पिँडालु ससुराली जाँदा बाह्र हातको पिँडालु भनेझै आफ्नै घरमा साग खाँदा सासै फेर्न पाइन्थ्यो, यहाँ नि यही सागभन्दा अरु नपाइने रहेछ । यही साग खान त यहाँ के बस्नु र हो ! साग बोक्नेले काँधमा लौरो राखेर दुईतिर डालो बोकेको देख्दा भने छक्क परें । थाप्लोमा नाम्लो राखेर पछाडि डोकोमा भारी बोकेर आएको ठिटो लौरीको कमालले के छक्क नपर्नु ?

रमिता हेर्दैथिएँ, तरकारी किन्न बाहिर निस्कनपर्ने भयो । बजार पुगेर साथीले सोझै सागमा हात लगे । हत्तपत्त मेरा हात फक्रिएका काउलीमा गएर रोकिए । आज त मेरो रोजाइले प्रश्रय पायो । भोलि– पर्सि सधैं मेरो रोजाइले प्रश्रय किन पाउँथ्यो होला !

क्याम्पस भर्ना नभएसम्म यसरी नै कहिले कसकोमा, कहिले कसकोमा भौंतारि रहें । हाम्रातिरका धनिमानीदेखि लिएर सामान्य आर्थिक अवस्था भएका दाजुहरुको कोठामा एकछाके, दुईछाके पाहुनाको रुपमा चाहारें । यसरी चाहार्दा कसैमा केही भिन्नता देखिन । कोठामा भएका सामान, किनमेलको प्रकृति, पकाउने स्टोभ र अन्य बन्दोवस्तीका सामान एकै प्रकृतिका ।

प्रश्न गर्न मनलाग्थ्यो– कहाँ छ शोषित ? कहाँ छ सामन्ती ? यी सब बकबास हुन् । पढ्ने क्याम्पस एउटै थियो । हिँड्ने बाटो र चढ्ने बस एउटै । लगाउने पहिरनमा कुनै भिन्नता थिएन ।

त्यसबेलाको खाने प्रचलित खाजामा हलुवा–स्वारी पथ्र्यो । ममचा दोस्रो नम्बरमा । सबै साथी नारिएर यिनै परिकार खान पाटनढोका, भोटाहिटी, क्षेत्रपाटी जान्थ्यौं । त्यहाँ कुनै वाद थिएन । कुनै वर्ग थिएन । थियो त केवल मानवता र आत्मीयता । वर्गविहीन समाज थियोभन्दा फरक नपर्ला । नारा त असीमित लाग्थे । तर, ती सबै नाफाका खातिर ।

समयको काम बग्नु हो, बग्दैगयो । हामी बिस्तारै पढाइ सँगै काठमाडौंको भिडमा हेलिन थाल्यौं । चाडबाडमा क्याम्पस विदाको मौका पारेर जन्मथान जाने गर्थ्यौं । दशैंदेखि तिहारसम्म हुने विदाको सदुपयोग मज्जाले हुन्थ्यो ।

तिनताका मोवाइल कहाँ पाउनु ? एकअर्काका कोठा र होस्टेलमा गएर साथीसङ्गीलाई भेटेर यति गते गाउँ जाने है भनेर दिन किटान हुन्थ्यो । अहा ! बसमा उफ्रिँदै र छतमा यात्रा गर्दाको मज्जा बेग्लै थियो । बस सहायकले अनुनय गरेर भित्र सिटमा बस्न भन्दा पनि छतमा बसेर हुइँकिनुको आनन्द भनीसाध्य हुँदैनथ्यो ।

उता घरमा पुग्न पाएको छैन, पिँढीमा झोला फालेर पिङ हाल्न बाबियो खोज्दै हिँडेको अब कथा भयो । खाने कुरा दोस्रोमा पथ्र्यो, पहिलोमा दौतरी नै पर्थे । दशै–तिहार सकिएर काठमाडौं फर्कने दिन जति नजिकिन्थ्यो, त्यति पेट दुख्न थाल्यो । फर्कने दिन हनहनी ज्वरो आइदिए नि हुन्थ्यो जस्तो लाग्थ्यो ।

यसरी जन्मथानको आउजाउ र शिक्षा आर्जन गर्दै काठमाडौंको खाल्टोमा दश/पाँच गरेको झण्डै ३५ बसन्त भयो । हिजो छोड्नका लागि बिछट्टै गाह्रो लाग्ने आफ्नो गाउँघरका भीर, पखेरा र दौतरी आज बिरानो भए ।

जसरी हिजो जन्मथान छोड्नका लागि ज्वरो आएजस्तो हुन्थ्यो, आज उपत्यका खाल्टो छोड्नका लागि त्यस्तै हुन थाल्यो । यसवीचमा धेरथोर पढाइ भयो । जागिर गर्न थालियो ।

हिजोआज आमाको अनुहार गम्भीर भएर हेर्छु, बुढ्यौलीले मुजा परेको अनुहारभरि उही निश्चलता । उही प्रेम छरपस्टै देखिन्छ । आमाको विम्वमा अब कुनै सपना छैन, केवल छोरो यही माटोमा सँगै बसिदेओस् भन्ने लालसा मात्र बाँकी छ ।

विगतलाई सम्झँदा रमाइलो लाग्छ, भने वर्तमानसँग साक्षात्कार गर्दा नमीठो लाग्छ । मेरो कर्मथलो शैक्षिक संस्था हो, त्यो सामान्य शिक्षा नभएर प्राविधिक शिक्षा आर्जन गर्ने थलो भएकाले सामान्य शिक्षाका बारेमा त्यतिधेरै चासो राख्नुपर्दैन । तर, कतिपय कार्यका प्रस्थानविन्दु सामुदायिक विद्यालय हुने भएकाले बेलाबेलामा त्यहाँ ठोक्किनुपर्छ ।

एकजना विदेशीको साथ लागेर केही दिन अगाडि कोहलपुरको सरस्वती माध्यामिक विद्यालयमा जाने अवसर मिल्यो । विद्यार्थीसँग अन्तरक्रिया गर्न लाग्यौं । सरकारी स्कुलमा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबच्चाहरुमात्र पठनपाठनका लागि आउँछन् भन्ने सुन्दा अचम्मित र दुखित बनायो ।

विद्यालयका प्रअलाई प्रश्न गरें– हुनेखानेहरु कता जान्छन् त ? विचरा प्रअले के भन्ने ? आर्थिक अवस्था सवल भएका हुनेखानेका बच्चाहरु निजी विद्यालयमा पढ्न जान्छन्, यहाँ त सामान्य ज्यालादारी गरेर जिविकोपार्जन गर्नेका केटाकेटीमात्र आउँछन ।

यो अवस्था कोहलपुरमा मात्र नभएर अधिकांश सामुदायिक विद्यालयमा उस्तै भएको सुन्दा अब शिक्षा हुने बर्गको र नहुने वर्गको भएछ भन्ने पक्का भयो ।

हिजो अस्कल, त्रिचन्द्र, पूल्चोक इन्जिनियरिङ, महाराजगञ्जको मेडिसिन, पाटन क्याम्पसका साथै कहलिएका विद्यालयहरुको सानसौगत कस्ता थिए । अस्कलमा पढ्छु भन्दा ढक्क छाति फुल्थ्यो । पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मका विद्यार्थी यिनै क्याम्पसमा झुम्मिन्थे । पुल्चोक इन्जिनियरिङ पढ्दा पश्चिम दार्चुलाका दुईचार जना साथीहरु थिए । कर्णाली चिसापानीमा पुल नबनेको कारणबाट भारतको उत्तराखण्ड हुँदै यहाँ आएर पढ्ने गर्थे । त्यति दुखकष्ट गरेर सरकारी शिक्षालयमा पढ्न आउनुका पछाडि त्यसको इज्यत प्रतिष्ठा र गुणस्तरीय शिक्षा प्रमुख थियो ।

तर, अहिले सामुदायिक र सरकारी शिक्षालयमा पढ्ने विद्यार्थीको खडेरी परेको देख्दा योभन्दा दुःखदायी क्षण अर्को के हुने ? सरकारी र सामुदायिक विद्यालयमा विद्यार्थीहरु घटनु ती विद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तरले हो भन्ने कुरामा कुनै द्विविधा रहेन ।

अहिले प्रवेशिका परीक्षामा नो फेल प्रणाली भित्रिएको छ । जुनबेलामा पास र फेलले अर्थ राख्दथ्यो, त्योबेलामा परीक्षा मिति जति नजिकिँदै जान्थ्यो । विद्यार्थीमा बेचैनी बढ्दै जान्थ्यो । अझ शहरबजारका निजी विद्यालयले नौ पास भएर दश कक्षामा जाने वित्तिकै सबै विद्यार्थीलाई अनिवार्य छात्रावासमा राख्थे । करोडौं लगानी गरेका निजी विद्यालयले त्यही फलामे ढोकाका अब्बल श्रेणीका विद्यार्थी उत्र्तीण प्रतिशत देखाएर अर्को वर्षको विद्यार्थी भर्नालाई आकर्षित गर्ने गर्थे ।

यो त शिक्षाको व्यापार नै हो । व्यापार फलदायीका लागि घोटाउने, पियाउने, जे गर्दा विद्यार्थीले उच्चतम नम्वर ल्याउन सक्छन्, सोहि गर्ने प्रचलन निजी विद्यालयको हकमा नौलो रहेन ।

विद्यार्थीलाई किताव घोटाउनका लागि प्राचार्य पनि कैयौं रात अनिँदो बस्छन् । भला व्यापार हो, निजी शैक्षिक संस्थाले विद्यार्थीलाई यति ध्यान दिन्छन् प्रत्येक विद्यार्थीका प्रत्येक क्रियाकलापमा वाचडग भएर बस्छन् ।

अर्कोतिर, भौतिक संरचना, प्रयोगशाला, पुस्तक लगाएत शिक्षक कर्मचारीको पालनभरण सबै सरकारबाट भएका सामुदायिक विद्यालयको शून्य प्रतिशत नतिजा आउँछ । यो अवस्थामा अभिभावकहरु सामुदायिक र सरकारी शैक्षिक संस्थाको ढोका किन ढक्ढक्याउने ? जसको आर्थिक हैसियत सबल छ, उनीहरुको प्रथम रोजाइ निजी हुने गर्छ, कुरा स्पष्ट छ । दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुका लागि निःशुल्क शिक्षाका नामका सामुदायिक विद्यालयका ढोका खुल्ने भए । यी वर्गले गुणस्तरीय शिक्षाले बालबच्चाको भविश्यलाई कस्तो असर गर्दछ भन्ने कुरा बुझेका छैनन् वा बुझ्ने कोशिस नै गर्दैनन् कि ? कोहलपुर पुगेपछि यस्तो महसुस भयो ।

म पनि आम अभिभावकमध्येको एक पात्र हुँ । बच्चाको शिक्षाको खातिर दश कक्षामा पुगेपछि छोरीलाई छात्रवासमा राखिदियौं । हामी अभिभावकलाई भन्दा विद्यालयका प्राचार्यलाई मेरी छोरीको पढाइको चिन्ता थियो । प्रवेशिका परीक्षाको पहिलो दिन थियो, हामी छोरीलाई शुभआशिष दिन विद्यालयमा पुग्यौं । उनीहरुले निधारमा रातो टीका लगाइसकेका रहेछन् । सबैलाई लाइनमा राखेर सहयोगी दिदीले दही खुवाउने क्रम चल्दै थियो । प्राचार्यले सबैलाई फूलका थुँगा दिइरहेका थिए । हामीले दृश्यलाई भावविह्वल भएर हेरिरह्यौं । हातमा बोकेर लगेको फूल छोरीलाई दिनै सकेनौं । हाम्रोभन्दा विद्यालय र प्राचार्यको समर्पण अधीक थियो । ती फूलका थुगाँ प्राचार्यको हातमा थमाउँदा अनायास हामी भावुक भयौं । केटाकेटीहरु परीक्षा केन्द्रतिर रमाना हुन लागे । टोली नेताका रुपमा प्राचार्य अगाडि लागे । पछिपछि विद्यार्थीहरु र अन्त्यमा सहप्राचार्य लागे । हामीले उभिएर आँखामा ओझेल नपरुञ्जेल हेरिरह्यांै । क्रमशः सातै दिनसम्म उनीहरुको कर्म यसरी नै चल्यो ।

सामुदायिक विद्यालयले यतिबेला के गर्‍यो होला ?

केही दिनअगाडि गफगाफ गर्ने मेसोले छिमेकीकहाँ गएको थिएँ । एकजना नौला मानिसलाई सबैले भिनाजु भन्दै थिए । मैले पनि भिनाजु भनेर सम्वोधन गरें । उनी लम्जुङका, तर बाजुराको सामुदायिक विद्यालयमा शिक्षण गर्दा रहेछन् । केही गम्भीर, केही हल्काफुल्का कुरा भए ।

यी भिनाजुका विद्यालयमा कतिजनाले एसएलसी दिए होलान् भनेर सबैले जिज्ञासा राख्यौं । उनले भने १० जना सहभागी थिए, तर सबै फयल डिभिजन भए । मैले उनको अनुहार हेरें । अनुहारमा किञ्चित दुःखको भाव थिएन । हँ ? म झस्किएँ त्यस्तो पनि हुन्छ ? अनि विद्यालयलाई दिइने अनुदान कटौती होला नि ? तपाईहरुलाई कार्वाही गर्छ होला हैन ? एकसाथ सोधें ।

भिनाजुले सानले भने– कसले कारबाही गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment