Comments Add Comment

‘सरकार हामीलाई चिनी ‘तितो’ भयो !’

३२ वर्षदेखि उखुखेती गरिरहेका कृषकको पीडा

२० मंसिर, काठमाडौं । महोत्तरी, गौशलाका नरेशसिंह कुशहवाले उखुखेती गर्न थालेको ३२ वर्ष नाघ्यो । उनका बाबु र बाजेले सामान्य आयआर्जनका लागि सानो क्षेत्रमा उखुखेती गर्थे । ०५३ मा घरनजिकै चिनी उद्योग स्थापना भएपछि कुशहवाले यसलाई विस्तार गरे ।

कुशहवाजस्तै धेरै किसानहरू हौसिए– अब दुःखका दिन गए । नगदेबालीका रूपमा रहेको उखुले अब आर्थिक अवस्था सुध्रिन्ने छ ।

घरनजिकै खुलेको चिनी उद्योगमा उखु बेचेर धनी बन्ने सपना देख्न थाले किसानहरू ।

कुशहवाले धान, मकैलगायतका अन्नबाली मासेर सबै खेतमा उखु रोपे । केही वर्ष उखुबाट राम्रै कमाइ पनि भयो । टोल छिमेकमा केही किसानको राम्रो आम्दानीपछि वरपरका सबै जना उखु खेतीमा लागे ।

असोज र कात्तिक तथा माघ र फागुनमा नेपालको तराई क्षेत्रमा उखु रोपिन्छ । उखु रोप्नेदेखि मिलमा पठाउनसम्म करिब १९ महिना लाग्छ । परम्परागत हलो छोडेर किसानहरूले ट्याक्टरमार्फत खेत जोतेर ट्रेन्च प्रविधिमा उखु खेती गर्दै आइरहेका छन् ।

पहिलो बीउ रोप्ने वर्ष अलि धेरै दुःख र खर्च भए पनि दोस्रो वर्ष उखु खेतीका लागि खासै मेहनत गर्न नपर्ने कुशवहा बताउँछन् ।

यो पनि पढ्नुहोस चिनी उद्योगमा ताला लगाइदिने मन्त्री भट्टको चेतावनी

एक बिगाहामा उखु लगाउन बीउ, मल, कृषक ज्यालासमेत गरेर पहिलो वर्ष एक लाख ५० हजार खर्च हुन्छ । प्रतिबिगाहा ६ सयदेखि ९ सय क्विन्टलसम्म उखु उत्पादन हुने गरेको छ ।

‘सरकारले तोक्ने उखुको मूल्यअनुसार प्रतिबिगाहा सबै खर्च कटाएर ५० हजार हाराहारी बचाउन सकिन्छ,’ कुशबाहले भने ।

पैसा समयमा आउने भए सामान्य किसानले जग्गा भाडामै लिएर खेती गरे पनि उखुबाट राम्रै आम्दानी गर्न सक्छन् । तर, केही वर्षयता कृषकहरूलाई बेचेको उखुको पैसा हात पार्न नै महाभारत हुन थालेको छ । धेरै त उखुखेतीबाट पलायन पनि भइसके ।

ब्ल्याकमा मल, महँगो ज्याला

केही दिन पहिलेसम्म वर्षको पहिलो उखु लगाउने सिजन चलिरहेको थियो । महोत्तरीलगायतका जिल्लामा न्यूनतम तापक्रम १८ डिग्री सेल्सीयस हुँदासम्म उखुको बीउ रोपिन्छ । यतिबेला कृषकलाई सुविधामा मल आवश्यक पर्छ । खासगरी डीएपी पर्छ । तर उखुखेती गर्ने ठाउँमा डीएपी मलको कालोबजारी भएको कुसवाहले बताए ।

‘सरकारले तोकेको मलको मूल्य २२ सय ५० हो तर कृषकले २६ सय देखि २८ सयसम्ममा मल किनिरहेका छन्,’ उनले भने ।

यो पनि पढ्नुहोस उखु किसानको गुनासो : सरकार र उद्योगी दुबैले ढाँटे

यतिबेला बजारमा युरिया मल प्रशस्त छ । तर जुन बेला युरिया चाहिने हो त्यो बेला सरकारले तोकेको ८ सयबाट बढेर प्रतिबोरा मूल्य १५ सय भन्दा धेरै हुने गर्छ ।

अर्कोतर्फ श्रमिकको बढ्दो ज्यालादर, सिंचाइको अभाव, मौसमको भरमा खेती, महँगो कृषि उपकरणजस्ता कारणले कृषक पीडित भएको कुसवाहले बताए ।

खेतमै सुक्छ उखु
कुन ठाउँमा कति खेती गर्ने ? आफ्नो क्षेत्रमा भएको चिनी मिलको क्षमता नहेरी नेपालमा उखुखेती हुने गरेको कुशबाह बताउँछन् । खेती गर्ने केही किसानले राम्रो मूल्य पाएको वा नपाएको कुरा हरेक वर्ष जिल्लाभरि हल्ला हुन्छ । राम्रो मूल्य पाएको हल्ला फैलियो भने सबै किसान अरु खेती छोडेर उखुमै लाग्छन् । उद्योगीले दुःख दिएको भन्ने लागे किसानहरू अन्यत्र लाग्छन् ।

धेरै उखु उत्पादन भएको वर्ष किसानहरूमा भुक्तानी अभावको समस्या हुन्छ । किनकि चिनी उद्योगले सबै उखु किन्न सक्दैन । उखु किन्ने बहानाका लागि अनेक सर्त तेस्र्याउँछ । सरकारले तोकेको समर्थन मूल्यभन्दा पनि कममा बिचौलिया प्रयोग गरेर उखु किन्ने, उखु किनेको रकम समयमै नदिनेदेखि खेतमै उखु सुकाइदिनेसम्मको हर्कत उद्योगीले गर्छ्न । पछिल्लो ५ वर्षदेखि किसानले भुक्तानी नपाउनुको कारण यही हो ।

पलायन हुँदै कृषक

महोत्तरीमा ०६९/७० मा २६ हजार बिगाहामा उखुखेती भएको थियो । उक्त वर्ष ३२ लाख क्विन्टल उखु जिल्लामा उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा १२ लाख क्विन्टल मात्रै उखु उत्पादन हुने सर्वेक्षणले देखाएको छ ।

यस वर्ष महोत्तरीमा जम्मा ७ हजार बिगाहामा उखुखेती गरिएको छ । अघिल्लो वर्ष ११ हजार बिगाहामा लगाइएको उखु आर्थिक वर्ष ०७४÷७५ मा १६ हजार बिगाहामा लगाइएको थियो । चिनी उद्योगबाट पैसा आउन अड्चन हुँदै गएपछि खेती पनि कम हुँदै गएको कुसबाह बताउँछन् ।

गाउँभरि ऋणी

एक बिहागामा एक सिजन फसलबाट ५० हजार बच्ने आसमा किसानहरू बैंक र साहु महाजनबाट ऋण लिएर खेतीमा लाग्छन् । पछिल्लो ३ वर्षदेखि नगदेबालीबाट प्राप्त हुने आम्दानी उद्योगीबाट पाउन कठिन भएपछि गाउँभरिका किसान बैंक र साहु महाजनको ऋणमा डुबेका छन् ।

‘बेचेको उखुको पैसा नआएपछि किसानको घर चल्दैन,’ कुसवाहले भने ।

बैंकको ४ लाख ऋण तिर्न आफूले १२ कठ्ठा जग्गा बेचेको कुशबाहले बताए ।

‘बैंकबाट लिलामी रोक्न यसरी जग्गा बेच्नेहरू गाउँमा प्रशस्त छन्,’ उनले भने । अझ विडम्बना त के भने जग्गा बेच्न पनि गाउँमा किन्ने मान्छे पाइन छोडे । किनकि सबै जना ऋणीमात्रै छन् ।

सरकार र उद्योगीबाट पीडित भएपछि दुई–चार पैसा कम आम्दानी नै भए पनि किसान अन्य खेतीमा जान थालेका छन् । ‘आफ्नै पसिनाको मूल्य लिन क–कसको सामु हात जोड्दै हिँड्ने ? अब त हामीलाई चिनी तितो हुन थाल्यो,’ कुशबाहले पीडा पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment