Comments Add Comment

डा. तारानाथ शर्मा : घनघस्याको ओरालीतिर

डा. तारानाथ शर्मा, अर्थात् ताना शर्मा । उनी ‘घनघस्याको उकाली’का पर्याय हुन् । अहिले उनी व्यक्तिको शिखर उक्लिसकेर जीवनको उत्तरार्धमा यात्रा गरिरहेका छन् ।

यहाँ डा. शर्माको जीवनका केही रोचक पक्षहरुबारे चर्चा गर्ने प्रयास गरिएको छ । शर्माका यी रहस्यहरु धेरै मानिसलाई थाहा नहुन सक्छ ।

गत कात्तिक २७ गते नेपाल पर्यटन बोर्डमा आयोजित चौथो नियात्रा दिवसमा शर्मा प्रमुख अतिथिका रुपमा उपस्थित थिए । सम्वोधन गर्ने क्रममा शर्माले सँगै बसेका त्यस दिन सम्मानित प्रतिभा यादव खरेललाई सोधे, ‘तपाईंको नाम के रे ?’ शर्माले यसोभन्दा धेरैलाई ननिको लाग्यो । कतिले जिब्रो पनि टोके । पछि उहाँलाई यस्तो उमेरमा कार्यक्रमहरुमा बोलाएर दुःख दिने काम छोड्नुपर्छ भन्ने कुरा पनि चल्यो ।

डा. शर्मा लेखनको शुरुवातीकालमै विलक्षण र अद्भूत क्षमताका प्रतीक थिए । उत्साह उमंग र हाँकको वायुपङ्खी घोडामा उनी सरर उड्थे । आलोचनाका लागि कसैको मोलाहिजा गर्दैनथे । त्यसैले त राजा महेन्द्रको कविताको आलोचना लेखेर जेल गए । पछि राजाकै कृपाले जेलमुक्त पनि भए । अदम्य साहस, धारिलो शब्द प्रहार गर्न खप्पिस, मुलायम शब्दले मन पगाल्न सक्ने खुबी, यी सबैका पर्याय हुन् शर्मा ।

मैले तारानाथ शर्मालाई ०३८ सालमा पहिलोपल्ट पद्मकन्या क्याम्पसको कक्षा कोठामा समापन हुन लागेको नेपालकै पहिलो साहित्य संगोष्ठीको समापन सत्रमा देखेको हुँ । साहित्यिक पत्रकार संघको तर्फबाट आयोजित साहित्य संगोष्ठी आयोजक समितिले सो कार्यक्रम आयोजना गरेको थियो । अशेष मल्ल संयोजक थिए । म पनि कार्यकारी सदस्य थिएँ ।

डा. शर्मा अघिल्लो दिन मात्र अमेरिकावाट र्फकेका रहेछन् । त्यो खवर पाएर उनलाई पनि निम्त्याइएको थियो । शर्माले सो समारोहमा कैयन् वर्षपछि नेपाल र्फकंदा, मात्रृभूमिमा पाइलो हाल्दाको भावुक निवन्धात्मक लिखित अभिव्यक्ति सुनाएर दर्शक, स्रोताका हृदयमा एउटा गहिरो छाप छाडेका थिए । त्यो निवन्ध त्यसैसाता राष्ट्र पुकार साप्ताहिकमा प्रकाशित भयो ।

शर्मा लामो समयपछि नेपाल र्फकेका हुनाले समकालीन लेखनमा उनको अध्ययनको रुचि जागेको थियो । उनी आफ्नो ‘नेपाली साहित्यको इतिहास’ को परिमार्जित संस्करण प्रकाशनका लागि जुटिहाले । नेपाली साहित्यमा यो त्यस्तो पुस्तक थियो, जुन नेपाली साहित्यका विद्यार्थीहरुका लागि विकल्परहित सामाग्री बन्यो । समयको लामो कालखण्डसम्म पनि एक व्यक्तिको इतिहास लेखनले नेपाली साहित्यलाई विद्यार्थी अध्येतासामु एक छत्र राज गरेको थियो । सबैले खोजी खोजी पढ्ने पुस्तक थियो त्यो । पनि उनले परिमार्जन गरे र त्यो कालिमाटीको एउटा प्रेसमा छापियो ।

शर्मा नेपाली साहित्यमा चहल-पहल ल्याउन जमर्को गर्दै थिए । यसैवीच साझा प्रकाशनले साझा कथा, साझा कविता, साझा नाटक लगायतका सिरिजको दोस्रो खण्ड प्रकाशनका लागि योजना अगाडि बढायो । कथाका लागि मोहनराज शर्मा र राजेन्द्र सुवेदीले जिम्मा पाए । कविताको चाहिँ डा. तारानाथ शर्माले । उनले कविता भेला पार्न थाले र कविहरुसँग उनको हिमचिम र सम्पर्क बढ्यो ।

साझाले उनको सम्पादनमा ‘समसामयिक साझा कथा’ को पुस्तक प्रकाशन गर्‍यो । त्यस प्रकाशनले साहित्य जगतमा हल्ली-खल्ली मच्चियो ।

यस्ता आधिकारिक संकलन प्रकाशनमा समावेश नभएका साहित्यकार कविलाई स्वाभाविक असन्तुष्टि हुने नै भयो । तर, डा. शर्माले आफ्नो बचाउ, कूटनीतिक ढंगले गरे । यो क्षेत्रप्रताप अधिकारीको संकेतअनुसार छानिएको हो भन्दिए । जुन, वास्तवमा सत्य थिएन । सम्पादकहरुलाई रचना चयनका लागि आधार बनाएर संकलन तथा समावेश गर्न पूरा स्वतन्त्रता दिइएको थियो । खैर, पुस्तक प्रकाशन भयो । हल्ला, आलोचना भए, हराए । तर, उनको सम्पादकीय भूमिका लेखजस्तो भयो भन्ने गुनासो चाहिँ पछिसम्म भइरहृयो ।

तारानाथ शर्माको बनारस बसाईकै क्रममा झापाका चूडामणि रेग्मी लगायतसँग मिलेर उनी ‘झर्राेवादी आन्दोलन’ मा सामेल भए । नेपाली भाषाका झर्रा शबदलाई प्रयोगमा ल्याउनुपर्छ भन्ने यो आन्दोलनको नेपाली साहित्यको इतिहासमा महत्वपूर्ण स्थान छ । आजपर्यन्त पनि तारानाथ शर्माका लेखनीमा निख्खर झर्रा नेपाली शब्द पाउन सकिन्छ । आन्दोलनको आयु त छोटो हुन्छ, तर त्यसको प्रभाव भने पछिसम्म रहन्छ । झर्राेवादको महत्व र महत्ता आजपर्यन्त उत्तिकै छ ।

तारानाथ शर्माको ‘बेलायततिर बरालिँदा’ नियात्राले नेपाली साहित्यमा व्यापक हलचल ल्याइदिएको थियो । मदन पुरस्कार समेत पाएपछि त झन् सुनमा सुगन्ध भने झैं भयो । बेलायततिर बरालिँदा र तारानाथ शर्मा एक अर्काका पर्याय नै बने । त्यस पुस्तकको गद्यको मिठास र अभिव्यक्ति कलात्मक मात्र नभएर कवितात्मक समेत रहेको छ । यो कृतिले गर्दा नेपाली साहित्यमा नियात्राको जग बसेको र यो विधाले मान्यता पाएको विश्वास गर्नेहरु प्रशस्त छन् ।

शर्मा अमेरिकामा छँदा उनको ‘सुली’ उपन्यास छापिएको थियो । यो उपन्यासलाई दार्जीलिङको ‘नीलो चोली’ को लहरमा पनि राख्ने गरिन्छ । यो उपन्यास प्रकाशित भएपछि दार्जीलिङकी एक महिलाले गोरखापत्रमा चिट्ठी लेखेर महिलाको अपमान भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

तारानाथले सुलीपछि झझल्को, नेपालदेखि अमेरिकासम्म लगायत उपन्यास लेखे । तर, उनको समालोचकीय व्यक्तित्व यति अग्लो थियो कि उनका उपन्यासहरु छायाँमा परे ।

साहित्यिक मूल्यांकनमा उनी अस्थिर र मन पर्दा टाउकोमा चढाउने, रीस उठे पाइतालामुनि राखेर किच्ने स्वाभावका समालोचकका रुपमा पनि चिनिन्छन् । उनले बालकृष्ण समको चिसोचुल्हो महाकाव्यलाई ‘झुसिलो डकार’ भनेर आलोचना गरे । पछि तिनै समका बारेमा लिखित सिंगो पुस्तक ‘सम र समका कृति’ मा उनी उदार देखिए ।

त्यस्तै नेपाली साहित्यकी एक उज्ज्वल नक्षत्र पारिजातलाई शर्माले गरेको टिप्पणी उदेकलाग्दो मात्र होइन, पचाउनै नसक्नेखालको छ । उनले पारिजातको विषयमा यस्तो भन्दिए- ‘पारिजातले त्यस्तो प्रशंशा गर्नुपर्ने गद्यको रचना गरेको मलाई थाहा छैन । शङ्कर लामिछाने, भूपि शेरचन आदि प्रतिभासम्पन्न स्रष्टाहरुले उनका रचनाहरु लेखिदिएका हुन्थे र उनी चाहिँ तिनैलाई साफी गरी आफ्ना नाउँमा छपाउँथिन् ।’

शर्मा एक समय त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा प्राध्यापन गर्थे । तर, डा. वासुदेव त्रिपाठीसँग उनको मतान्तर भयो । पानी बाराबार भयो । बोलचाल बन्द भयो । उनीहरु एउटै मञ्चमा कुनै पनि सभा समारोहमा देखिएनन् । लामो समयको अन्तराल यसैगरी बित्यो ।

तर, २०४३ सालमा नेपालका सम्मानित समालोचक रामकृष्ण शर्माको भारतमा निधन भएपछि गोष्ठी नेपालले आयोजना गरेको शोक सभामा उनीहरु दुबैलाई जानकारी दिएर हामीले मञ्चमा प्रस्तुत गरेका थियौं ।

शर्माले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागबाट, नेपाल कमर्स क्याम्पसमा सरुवा लिए । पछि त प्राइमरी स्कूलको हेडमास्टर पनि भए । वीचमा उच्च माध्यमिक स्कूल टेन प्लस टूका पनि प्रमुख भए ।

वास्तवमा शर्मालाई उनको प्रतिभाको आगोले कतै टिक्नै दिँदैनथ्यो । त्यसको सजायँ भने उनी आफैं भोग्थे ।

शर्माले कुनैबेला ऐश्वर्यलाई पढाएका थिए, पद्मकन्या कलेजमा । पछि उनी रानी भइन् । उनको अध्यक्षतामा गठित सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदमा शर्मा सदस्यका रुपमा पुगे । त्यहाँसम्म पुर्‍याउने भर्‍याङ चाहिँ नरेन्द्रराज प्रसाईं थिए । रानीले गीत लेख्न थालेकी थिइन् । ती गीत तारादेवीको स्वरमा रेडियो नेपालबाट बज्न थालेका थिए । गीतकारका रुपमा ऐश्वर्यको नाम चाँदनी शाह थियो । त्यसैताक नरेन्द्रराज प्रसाईंको सम्पादनमा चाँदनी शाहको गीतका बारेमा लेखिएका सकारात्मक समालोचनाको एउटा वृहत् ग्रन्थ सूचना विभागवाट प्रकाशित भयो । त्यसमा तारानाथ शर्मा एक लेखक/समालोचक थिए । कृष्णचन्द्रसिंह प्रधानहरु जस्तै । तर, तारानाथ मात्रै चाकडीबाजका रुपमा बदनाम भए ।

त्यसो त मौका पर्दा शर्माले रिझाउने काममा आफैंले आफैंलाई बिर्सने नगरेका पनि होइनन् । मुमा वडामहारानी रत्नले लेखेको एउटा सामान्य भजनकै तारिफमा उनले सिंगै किताबै लेखिदिएका थिए र प्रकाशित भएको थियो ।

डा. तारानाथ शर्मा राजदरबार जाँचबुझ केन्द्रमा पनि पुगे । उनले अन्यको सहयोगमा राजा वीरेन्द्रका तत्कालीन सचिव नारायणप्रसाद श्रेष्ठलाई पनि जनक शिक्षा सामाग्री केन्द्रको स्कूले पाठ्यक्रमको लेखक बनाइदिए । त्यति मात्र होइन, उत्कृष्ट पाठ्यपुस्तक लेखक भनेर नारायणप्रसाद श्रेष्ठसँगै डा. शर्मालाई विशेष पुरस्कारसमेत दिइयो । यो भूतो न भविष्यति । यस्तो पुरस्कार न कहिल्यै थियो, न यसले निरन्तरता नै पायो । किन यस्तो भयो, सबैले बुझेका थिए ।

यसै सिलसिलामा तारानाथले यौटा नयाँ कुरा ल्याए । उनले पाठ्यक्रममा राख्न कवि शिरोमणि लेखनाथको कविता योग्य पाएनन् । यो नितान्त नौलो र अपाच्य कुरा थियो । उनले यस विषयमा जताततै भाषण पनि ठोक्न थाले । कतिसम्म भने पोखराको एउटा साहित्य सम्मेलनमा उनले यही कुरा दोहोर्‍याइदिए । पोखरेली साहित्यकारहरुलाई यो पचेन । पच्ने कुरै थिएन । आफ्नो क्षेत्रको मान्यवर कवि शिरोमणिले कवितै लेख्न जान्दैनन् भन्नु घनघोर आपत्तिजनक कुरा थियो ।

पोखरेलीहरु तारानाथको यो भनाइको विपक्षमा कुर्लिए । तर, यो सबको जडमा कुरा अर्कै थियो । उनले आँखाले देखी नसक्ने डा. वासुदेव त्रिपाठीले ‘कवि शिरोमणि लेखनाथको कवित्व, मूल्याङ्कन र विश्लेषण’ शीर्षकमा विद्यावारिधि गरेका थिए । त्यो थेसिस कृतिका रुपमा त्रिविबाटै छापिएको थियो र त्यसले मदन पुरस्कार प्राप्त गरेको थियो । अझ सोही कृतिका कारण वासुदेव त्रिपाठी प्रोफेसरमा बढुवा भएका थिए । यसको जरोमा थियो, कवि शिरोमणि लेखनाथ पौड्याल । त्यसैले डा. वासुदेव त्रिपाठीलाई आक्रमण गर्नुभन्दा लेखनाथलाई नै आक्रमण गर्नु परोक्ष र दरो आक्रमण हुने शर्माले बुझेका थिए भनेर नेपाली साहित्यिक जगतले अनुमान र विश्वास गरेको थियो ।

वास्तवमा डा. तारानाथको खुबीको सही परिचालन हुन पाएको थिएन । आक्रोश र असहनशीलताले उनलाई पछाथ्र्याे र उनी पछारिन्थे । उनीजस्ता विद्वानले प्रज्ञा प्रतिष्ठानमा स्थान नपाउनुमा यी र यस्तै कारण थिए । एकपल्ट त एकेडेमीको पुनर्गठनमा नपरेको झोंकमा ईश्वरवल्लभ र डा. तारानाथले एकेडेमीमा पाइला नहाल्ने किरियासमेत खाएका थिए ।

डा. शर्मा घरि नेपालमा बस्दा उचित स्थान नपाएकोमा उद्धिघ्न हुन्थे, घरि विदेश पुग्दा देशको मायाले विहृवल हुन्थे । कुन चाहिँ नागले कहिले फणा उठाउँछ, थाहै हुन्नथ्यो ।

शर्माले साझा प्रकाशनको शेयर होल्डरको तर्फबाट हुने सञ्चालकको चुनावमा उम्मेदवार भएर जिते । उनी हौसिएर ‘गरिमा’ पत्रिकालाई सघाउन पुगे । त्यतिबेला क्षेत्रप्रताप अधिकारीको सुझबुझमा प्रायः सबै सञ्चालकले आफ्नो कार्यकालमा एकपल्ट तालिम वा सेमिनारमा भाग लिन जान पाउँथे । तारानाथ शर्माले पनि त्यो अवसर पाए । तर, विनासूचना जापानबाट उनी अमेरिका हान्निए । त्यसको सर्वत्र आलोचना भयो । उनी अमूक अवसर छोप्न अमेरिका पुगे पनि त्यो अवसर नभेटेपछि नेपाल फर्किए । तर, जापानबाट अमेरिका गएको विषयमा उनको आलोचना भई नै रहृयो ।

डा. तारानाथ शर्माले द राइजिङ नेपालको प्रधान सम्पादकको पद पनि प्राप्त गरे । उनलाई यो पद प्राप्त गर्न दरवारको आशिर्बाद थियो र गिरिजाप्रसाद कोइरालाले प्रधान सम्पादक बनाएका थिए । राइजिङ नेपालको प्रधान सम्पादक हुनु के थियो, उनी रातारात कांग्रेसी बने । उनले आफ्नो कार्यालयमा अनुहार सामुन्ने वीपीको फोटो राखेका थिए, त्यसको विपरीत भित्तामा जीपीको फोटो राखेका थिए ।  उनले विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाका फोटो मात्र राखेनन्, आउँदो आम निर्वाचनमा काँग्रेसको तर्फवाट इलामवाट चुनावमा उम्मेदवार हुने घोषणासमेत गरे । र, लौ सहयोग गर्नुपर्छ है भन्न पनि थाले ।

यसैवीच राइजिङ नेपालमा प्रकाशित उनको एटटा लेखले संसदमा वयान दिन जानुपर्ने अवस्था पनि निम्त्यायो । अनि एक दिन उनी राइजिङ नेपालको प्रधान सम्पादकको जिम्मेवारीवाट मुक्त भए । तत्कालै एमालेको समर्थनको पत्रिका बुधबार साप्ताहिकमा कांग्रेसीहरु फटाहा भएको भन्दै अन्तरवार्ता दिए । उनले नाम नलिइकन कांग्रेसलाई भोट नहालेको र एमालेलाई भोट हालेको जिकिरसमेत गरे । उनको यो अन्तरवार्ता पढेपछि गोरखापत्र संस्थानमा वीपी र जीपीको फोटो देख्नेहरुलाई मरिमरि हँसायो ।

नेपाली साहित्यमा अतुलनीय योगदान दिने थोरै विद्वानमध्ये एक भए पनि आफ्नै वाणीले उनलाई विवाद र अप्ठ्यारोमा पार्ने काम भइ नै रहृयो । ०४६ सालको आन्दोलन सफल भएपछि तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुलाई नैतिक दवाव दिन आयोजित समारोहमा उनले प्याच्च भन्दिए- यो देशलाई मण्डलेहरुले बिगारेका हुन् ।

उनले बोलेका शव्द भुईंमा र्झन नपाउँदै एक जनाले प्रश्न गरे- ‘त्यतिबेला तपाईं कहाँ हुनुहुन्थ्यो ?’

शर्माले तत्कालै वाण हानेझैं मञ्चबाटै भन्दिए- तेरो बाउको घरमा !

मञ्चको माइकबाटै तारानाथको यो बोली अपेक्षित थिएन । तत्कालै हंगामा भयो । हुटिंग भयो । उनले थप बोल्नै पाएनन् । आफ्नो सिटमा गएर थपक्क बसे । तर, दर्शक स्रोताले ‘तारानाथले माफी माग्नुपर्छ’ भनेर निरन्तर हुटिंग गरेपछि अन्ततः माइक समातेर झुकेर विनम्रतापूर्वक उनले माफी मागे ।

यो पनि पढ्नुहोस विस्मृतिमा बानिरा

यो बढो अवसादको क्षण थियो उनका लागि ।

पछिल्लो समय शर्मा फेरि अमेरिका पुगे र आगन्तुक प्राध्यापक (भिजिटिंग प्रोफेसर) का रुपमा काम गरे केही वर्ष । उनको अमेरिकासँग विशेष आत्मीयता नै थियो । अमेरिकीहरुप्रति विनम्र सद्भाव थियो । उनी अमेरिका छँदै नेपालका लागि अमेरिकी राजदूतमा न्यान्सी पावेल नियुक्त भइन् । अनि नेपाल प्रस्थानपूर्व उनलाई अमेरिकाको पुरानो नेपाली संस्था ‘अमेरिका नेपाल सोसाइटी’ ले स्वागत कार्यक्रम गरेको थियो । त्यो कार्यक्रममा तारानाथ शर्मालाई पनि वक्ताका रुपमा आमन्त्रित गरिएको थियो । उनले सो अवसरमा न्यान्सीलाई देवीका रुपमा चित्रण गर्दै बोलिदिए । त्यो अतिशयोक्तिलाई धेरैले पचाउन सकेका थिएनन् ।

पछि शर्मा अतिथि प्राध्यापकको समयावधि सकिएपछि नेपाल फर्किए । अहिले उनी काठमाडौंमै बसोबास गरिरहेका छन् ।

डा ताना शर्माका जीवनका केही कमजोरीलाई आँखा चिम्लेर उनको ज्ञान, वौद्धिकता नेपाली भाषा साहित्यका लागि लिन सक्नुपर्थ्यो जिम्मेवार निकायले, त्यो हुन सकिरहेको छैन । स्वाभावमा यस्ता विभिन्न रुपरंग भए पनि नेपाली साहित्यलाई तारानाथले दिएको योगदान अतुलनीय छ । उनका कृतिहरु अब्बल छन् । उनको आलोचनाको बेग्लै महत्व छ । उनले गरेका अनुवादका कृतिहरुले डाँडाकाँडा ढाकेका छन् । उनका झर्रा शब्दहरुले बान्की परेका गद्यहरु पाठकका लागि मोहनी लाउन समर्थ छन् ।

अहिले वृद्ध अवस्थामा पुगेका शर्माको कलमबाट अब थप रचना आए पनि, नआए पनि नेपाली भाषा सहत्यिमा उनको योगदानले निर्मित शिखर उच्च र जाज्वल्यमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment