Comments Add Comment

उद्योगीसँग किसान नेताको अचानक गठजोड, संयुक्त मागपत्रमा एक अर्बको मुद्दा ‘गायब’

२५ मंसिर, काठमाडौं । केही दिन अघिसम्म चिनी उद्योगीमाथि आक्रामक रहेका उखु किसान प्रतिनिधि अचानक उद्योगीसँगै मिल्न पुगेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार उद्योगी र किसानले संयुक्त मागपत्र बुझाए ।

बिगतमा आफूहरुको एक अर्ब रुपैयाँ भुक्तानी उद्योगीले नदिएको भन्दै किसानहरु आन्दोलनमा उत्रिँदै आएका थिए । उनीहरुले सडकमा प्रदर्शनदेखि अनसनसमेत गरे । तर, किसान नेताहरुले उद्योगमन्त्री लेखराज भट्टसमक्ष बुझाएको पत्रमा उखुको बक्यौताको विषय गायब पारिएको छ ।

भुक्तानीको सम्बन्धमा सरकारबाट अनुदान समयमै नपाएको विषयलाई मात्रै समस्याको रुपमा उठाइएको छ । बाँकी उत्पादन वृद्धिका मुद्धा समेटिएको छ ।

यता चिनी उद्योगीतर्फबाट किसानलाई भुक्तानी दिन नसक्नुको कारण सरकारलाई देखाइएको छ । चिनी बिक्री नभएको, आयातमा कडाई गरिनुपर्ने, सरकारी नीतिका कारण लागत बढेको, उद्योगबाट उत्पादीत बिजुली ग्रीडमा जोड्न नपाइएको जस्ता समस्या उल्लेख छ ।

यस्तै चिनी उद्योगहरु घाटामा रहेको कारण राष्ट्र बैंकले ‘वाच लिस्ट’ मा राखेको र यसले गर्दा उद्योगीहरुले ऋण नपाएको गुनासो गरिएको छ । संयुक्त निवेदनमा उखु उत्पादक महासंघ नेपालका अध्यक्ष कपिलमणि मैनाली, उखु किसान महासंघका अध्यक्ष राजकुमार उप्रेती, सर्लाही हरिवनका मेयर गणेश प्रसाद उप्रेती र नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले हस्ताक्षर गरेका छन् ।

मस्यौदा पढेको छैन : मैनाली

तपाईंहरुको बक्यौता मागपत्रमा हराएछ नी भन्ने प्रश्नमा उखु उत्पादक महासंघ नेपालका अध्यक्ष मैनालीले आफूले पत्रको ब्यहोरा पढ्नै नपाएको जिकिर गरे ।

‘मलाई मस्यौदा पठाउनु अनि मात्रै अन्तिम रुप दिउँला भनेर म छलफल छोडेर काठमाडौंबाट फर्कीएको हुँ,’ उनले भने, ‘उद्योगीले दुख दिएको नै हाम्रो मुख्य समस्या हो, यसबाट हामी पछि हटेका छैनौं,’ उनले भने ।

आफूहरुलाई गुमराहमा राखिएको हुन सक्ने भन्दै उनले भोली यसबारे आधिकारीक निर्णय गर्ने बताए ।

उखु उत्पादक महासंघले अनलाइनखबरलाई उपलब्ध गराएको विवरणअनुसार रौतहटको श्रीराम सुगर मिलले किसानलाई ३१ करोड रुपैयाँ तिर्न बाँकी छ । यस्तै बैजनाथबाबा चिनी उद्योगले ३ देखि ४ करोड, नवलपरासीको इन्दिरा चिनी उद्योगले १० करोड, सर्लाहीको इन्दुशंकर र अन्नपूर्ण सुगरमिलले २० करोड सोही जिल्लाको महालक्ष्मीले १० करोड रुपैयाँ किसानलाई दिन बाँकी छ । यस्तै महोत्तरीको एभरेष्ट सुगर मिलले २२ करोड भुक्तानी नदिएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment