Comments Add Comment

अवैध च्यानल प्रसारण गर्नेको लाइसेन्स रद्द गर्न सञ्चारमन्त्रीको निर्देशन

२७ मंसिर,काठमाडौं । सरकारले अनधिकृत रुपमा विदेशी च्यालन प्रसारण गर्ने डिभाइन स्ट्रम नेटवर्क प्रालि (मेरो टिभी)को लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

पटक पटकको लिखित तथा मौखिक निर्देशन र एक साताअघिको अन्तिम चेतावनी पनि अटेर गरेपछि कानुन बमोजिम इजाजतपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो ।

सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल बास्कोटाले अवैध ढंगले डिटिएचबाट च्यानल प्रसारण गरी राज्यलाई करोडौं राजश्व घाटा पार्ने काम गरेकाले कानुन बमोजिम कारवाही अघि बढाउन निर्देशन दिइसकेको बताए । सूचना तथा प्रसारण विभागले मंसिर १७ गते पत्र लेखी नियमसंगत ढंगले नआए लाइसेन्स रद्द गर्ने चेतावनी दिएको थियो ।

क्लिन फिड लागू गर्ने सन्दर्भमा विदेशी च्यानलहरु अवैध डीटीएचको प्रयोगबाट ग्राहक तथा सरकारलाई समेत ठगी भइरहेको गुनासो आएपछि विभागले डिभाइन स्ट्रीम नेटवर्क (प्रालि) लाई एक साताको अल्टिमेटम दिएको थियो । मंसिर १७ गते विभागले डिभाइन नेटवर्क (मेरो टिभी) लाई दिएको लिखित चेतावनीमा अवैध प्रसारण नरोके कानुन बमोजिम इजाजतपत्र रद्द गर्ने भनिएको छ ।

सो नेटवर्कले गत वर्ष फागुन महिनादेखिनै सोनी पिक्चर्च नेटवर्क इण्डिया, इण्डियाकास्ट मिडिया डिष्ट्रिब्युसन र डिस्कभरी नेटवर्क एशिया प्यासिफिक अन्तर्गत विभिन्न सशुल्क च्यानलहरु अवैध डिटिएचमार्फत प्रसारण गरेको अनुगमनहरुमा पाइएको विभागले जनाएको छ । ती च्यानलको आधिकारिक कारोबार डिजिटल सिस्टम अफ नेपाल (डिएसन)ले पाएको छ ।

ती सम्पूर्ण च्यानल डिजिटल केबल नेटवर्कबाट मात्र प्रसारण गर्नुपर्नेमा अवैध ढंगले प्रसारण गर्दा राज्यलाई एक वर्षमा करोडौं राजश्व घाटा भएको र डिएसनलाई सो मेरो टिभीले तिर्नु पर्ने वक्यौतासमेत नतिरेको भन्दै विभागमा उजुरी परेको थियो ।

सो उजुरीमाथि छानविन र अनुगमन गर्दा अवैध रुपमा प्रसारण गरिएको पाइएकोले पटक पटक बन्द गर्न चेतावनी दिदा अटेरी गरेको विभागले जनाएको छ । करीव ५ करोड बक्यौता रकम नतिरेपछि डिएसएनले सिग्नल बन्द गरिदिएको छ ।

राष्ट्रिय प्रसारण नियमावली अनुसार शर्त बमोजिम काम गर्ने मौका दिँदा पनि अटेर गरेमा मन्त्रालयले त्यस्तो प्रसारण संस्थाको इजाजतपत्र रद्द गर्न सक्ने प्रावधान छ । सोही नियमअनुसार मेरो टिभीले डिएसएनसँगको सम्झौता बमोजिम काम नगरेमा लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढाइएको बिभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment